यो देशको तस्विर
मैले पाठ सिकाउँदै अघि बढेँ चेपाङका गाउँमा
मैले अक्षर क्रान्तिका छरिदिएँ तामाङका नाउँमा
सेर्पा लिम्बु किराँत या गुरूङका छानाहरूमा पसी
मैले शंख निकै फुके दलितका छाप्राहरूमा बसी ।
मैले जात र भातका बिषयमा शिक्षा र दिक्षा दिएँ
मैले धर्म र कर्मका बिषयमा आँखा उघारी दिएँ
मैले मुक्त मधेशको पनि कुरा गर्दै तराई झरेँ
मैले वर्ग विशेष निम्ति दुनियाँ मर्ने र मार्ने गरेँ ।
चर्का भाषणमा कतै मगरका गर्दै कुरा राज्यको
मैले ठाउँनुसार गर्जन गरेँ मङ्गोल साम्राज्यको
मैले थारु उचाल्न थारुहटको निर्माण गर्दै गएँ
बोटेका दिन फेर्दिने बचनका आसा उघारी दिएँ ।
मेरो सोच बिध्वंश ध्वंशतिरको बाटो समात्दै थियो
सुल्टो सोच थियो र भन्नु कसरी त्यो सोच उल्टो भयो
मैले गर्नु हुँदैनथ्यो विगतमा सद्भाव भाँड्ने कुरा
मेरा जात विशेषका सब कुरा बन्दै गए टाकुरा ।
आफैँ दिक्क भईसकेँ विगतका बोली नबोल्नू थियो
मान्छे भैकन आत्तिएर बिषको पानी नघोल्नू थियो
ऐले दन्दन पूर्व दन्किइ सक्यो संघीयता नाममा
बन्दै बन्द छ देश भित्र धमिरा खोज्दै छ सिध्याउँन ।
आफैँ माथि मडारिदैछ खतरा आकाशको बादल
राम्रो लक्षण देखिएन कसरी सुध्रिन्छ यो मामला
मेरो स्वार्थ बिषाक्त बीज नबनी बन्नू थियो सुन्दर
मेरै कारणबाट बिग्रिन गयो यो देशको तस्बिर ।
चितवन