सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ताक परे अमेरिका नत्र नेपाल

Nepal Telecom ad

ऊ बेला म भूत भन्नेबित्तिकै डरले भुुतुक्कै हुन्थेँ । हजुरबा हजुरआमा साँझपख हतारिँदै– “ए भुरा हो ! खोला गडतिर नजाओ है, भूतले काँचो मुला खाएझैँ क्वाप्पै खान्छ” भन्थे । मेरा हजुरबा हजुरआमा माइमोरङतिरकै जान्नेसुन्ने जानिफकार र भन्या मान्ने मानिवकार थिए । त्यसैले होला त्यो बेला भूतले मलाई झनै भयभीत बनाएको थियो ।

एक्कासि एक साँझ माइखोलाको किनारमा एक हुल मान्छेले तम्बु टाँगेछन् । हामी डरछेरुवा भुराहरूलाई अचम्मै भयो । के गर्ने दाइ यहाँ ? मेरो साथी फुटुरे सतारले फ्याट्टै सोध्यो । अब हामी यहीँ बस्ने । उसको जवाफले मेरो भाले सातो भाग्यो । हैन ए दाइ ! यो मसानले शासन गर्ने बगरमा के जगर फुलाएको ? बासै नाथे बस्न त गामतिर पनि ठाम छ है । भनौँ भने फुच्चेले खोचे थाप्यो भन्लान् भनेर चुपचाप लागेँ । कठैबरा ! करबिरे मसानले भालेको डाक अघि नै इनर्का नलीहाडको नरसिङ्गा बजाउने भयो ।

बिहान सखारै जीवात्माको बिजोग हेर्न गएँ । मेरी बास्सै ! खोला किनारैभरि तम्बु नै तम्बु छन् । तम्बुभित्र र बाहिर छिचिमिरासरी मान्छे नै मान्छे छन् । एक मन त लाग्यो भूतले भाले बासेको सुन्दै सुनेनछ । त्यतिकैमा भोटुदाइले फ्याट्टै भने– भोटाङ्गे भोटाङबाट आकारान् । साँच्चै भुटान भन्ने देशका अति बलवान् राजा वाङचुकका अचुक बलप्रसादले गर्दा । अखण्ड कोटीहोमबाट पनि प्राप्त हुन नसक्ने कोसेली हाम्रो देशलाई प्राप्त भएको रहेछ । भुटानदेखि भुटानी शरणार्थी शरण लिन आएका रहेछन् । धेरै आए सानाठूला, अग्लाहोचा, राम्राचाम्रा उनीहरूसँगै अनिकाल, अकाल, रोग, भोक, गरिबी, अशिक्षा सबै हुन्डामुन्डा आए । नेपालको सिमाना पनि खुल्ला, दिलको ढोका पनि खुल्ला । दस्तुर तिरेर भन्सारमा भाउ काट्या नुनतेल आइपुग्न त तीन दिनको बाटोलाई तेह्र दिन लाग्छ । कहिले चक्का जाम त कहिले कमिसन हामले बाटामै बेखबर हुुन्छ । तर शरणार्थीलाई भने यहाँ आइपुग्न कुनै सङ्कट परेन ।

आउनेहरूलाई आहत भयो भन्दै राहत दिन लुथ्रन आयो र गयो पनि फुत्रुङफुत्रुङ गर्दै । कतिले यहीँ बस्ने अधिकार पाए त कतिले यतै घरजम बसाए । के खाऊँ र के लाऊँ भन्दै भौँतारिएका नेपालीको केही हदसम्म मुहार हँसाए । उता भुटानीलाई कसले भाँड्यो कुन्नि काम नपाएर आफैँले फिर्तीको उर्दी गरे । थलिएकालाई छाडेर बलिया जति जान लागेथे । भारतले बर्खे भेलमा बर्सेनी खोलाहरू छेकीछेकी हामीजस्ता छिमेकीको उद्धार गर्छ । जाबो दुईचार सयको शरणार्थी भेलालाई मेची नदीमै छेकिदिएर हाम्रो उद्धार ग¥यो ।

शरणार्थीको शरणका कारण पटकपटक भएको हाम्रो उद्धार हेर्न नसकेर असत्ति अमेरिकालाई आगो बल्यो । सोह्रसोह्र वर्षसम्म स्वाँस्वाँ गर्दै निदायो अहिले आएर सुविधा सम्पन्न तेस्रो मुलुकमा छानीछानी लैजाने भनेर हामीलाई तर्सायो । साँच्चै भन्या ! शरणार्थी हाम्रा गौरव हुन्, हाम्रा सम्पत्ति हुन् । भुटानबाट निःशुल्क पाएका हाम्रा उपहार हुन् । लानै पर्ने भए बरु नेपालीलाई नै निमिट्यान्नै पारेर लैजाऊ न अमेरिका ! भुटानीलाई चाहिँ एउटै लान दिदैनौँ है हामी । “धनीका घरको नोकर हुनुभन्दा आफ्नै झुपडीको मालिक हुनु राम्रो” भनेर भट्टाभट्टी भुटानतिरै लाग्दा चैँ हाम्रो केही लाग्दैन । नत्र “ताक परे अमेरिका नत्र नेपाल” गर्न चाहिँ पाइँदैन है, भुटानी दाजुभाइ ! भन्द्या छ नि । विचार गर्नुस् ।

काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बहुवाद जिन्दावाद

बहुवाद जिन्दावाद

हरिकला उप्रेती
मै छोरी सुन्दरी !

मै छोरी सुन्दरी !

हरिकला उप्रेती
भानुभक्त

भानुभक्त

हरिकला उप्रेती
गोर्खेलौरी

गोर्खेलौरी

हरिकला उप्रेती
जरूरी सूचना

जरूरी सूचना

हरिकला उप्रेती
हेल्मेट जात्रा

हेल्मेट जात्रा

हरिकला उप्रेती