अन्धो दिमाग
केही बेठीक गरिहाल्छ सोँच्दै डराउनु पर्दैन
आँखाले अन्धो मानिससित–
ऊ खान्छ सही खाना, सुँघेर भएपनि
टिप्छ सही चीज
बोल्छ सही(सही सोचेर सम्झेर
हिँड्छ सही बाटो, छामछुम गर्दै ।
ऊ
कुनै चेलीबेटीको अस्मिता हरण गर्दैन
कुनै आमाको काखैमा नाबालकलाई मार्न जाँदैन
कुनै गरीबको झोपडी फोर्दैनन्
कसैको घरगोठमा आगो लगाउँदैन
कसैको हत्याबारे सोँच्दैन ।
केही बेठीक गरिहाल्छ सोँच्दै डराउँनु पर्दैन
आँखाले अन्धो मानिससित ।
बरु
डराउनु पर्ने रहेछ ती मानिसहरूसित–
जो दिमागले अन्धा हुन्छन्
जो मनले अन्धा हुन्छन्
जो सोच र विचारले अन्धा हुन्छन् ।
डराउनु पर्ने रहेछ–
जब मनको अन्धो मानिस जालझेल बुन्न थाल्छ
दिमागको अन्धो मानिस
आफ्नो विचार जबरदस्ती लाद्न खोज्छ
सोचले अन्धो मानिस
गर्न थाल्छ हरथोकमा हिसाब किताब ।
डराउनु पर्दैन पटक्कै
तर, आँखाले अन्धो मानिसहरूसित ।
बस,
अलिकति डर जोगाउनू साथी !
जब सोचले अन्धो मानिस जुलुसमा मिस्सिन पुग्छ
मनको अन्धो मानिस
आन्दोलनमा उफ्रिँदै अगाडि(अगाडि हिँड्न थाल्छ
दिमागको अन्धो मानिस
भर्न थाल्छ नाराहरूमा स्वर ।