बूढाहरूको मुखबाट धेरैपटक मैले सुनेको एउटा उखान छ– “भाङ्ग्राको टोपीलाई गुएँलाको फूल ।” भाङ्ग्राको टोपी कुनै इज्जतदार वा मान–सम्मान गर्न लायकको टोपी होइन र गुएँलाको फूल पनि कुनै सुन्दर वा मीठो वाश्नादार जात विशेषको फूल होइन । मैले बुझेसम्म यो उखानको आशय यही हो । टोपी जेसुकैको होस् तर त्यो शिरमाथि लगाइन्छ । नेपालीको शिरमाथि शोभायमान टोपीसमेतको बद्ख्वाइँ गर्ने उखानलाई नै नेपालीहरूले उखेलेर फाल्न सकिरहेका छैनन्, बरु गोड्मेल गर्दैछन् । टोपी हाम्रो राष्ट्रियताको निशानी हो, पित्ले ज्यान दौरा–सुरुवालमा घुसारेपछि टाउकामा टोपी सिउरिनै पर्छ । राष्ट्रियता जस्तो सम्वेदनशील सवाल गाँसिएको यो टोपी टाउकाको टुप्पी छोप्ने बिर्को मात्रै कदापि होइन । थ्रि पिस् सुट र टाईमा सुटेडबुटेड भएर पनि लामो जुल्फी पछाडि स्याँहार्दै टाउकामा टोपी ओढ्ने नेपाली लाउकेहरू छ्यास्छ्यास्ती भेटिन्छन् आजभोलि । नेपाली राष्ट्रियताका पहरेदार त यिनीहरू नै हुन् । साँच्चो अर्थमा सक्कली नेपाली व्यक्तित्व यस्तै यस्तै लवाईमा खुलेको छ, फुलेको (मोटाएको) छ ।

टोपीको ओजन अर्थात तौलतर्फ ध्यान दिने हो भने यो धार्नी, बिसौली वा पाउ पनि पुग्दैन । त्यसैले गाउँखाने कथा भन्न आग्रह गर्ने सानो नातिलाई हजुरआमा यसरी अड्को थापिदिन्छिन्– “धार्नी न बिसौली, दुई हातले उचाली के हो ?” अलिक चलाख नाति छ भने हतार–हतार भनिहाल्छ– “टोपी ।” यसरी नापजोख गर्दा औशत तौल या ओजन नहुने वस्तुको पनि अर्थ र अस्तित्वमा धरै ओजन हुन्छ भन्ने कुराको प्रमाण यही टोपी हो । तर हामी टोपीको यो ओजनलाई स्वादसँग भोजन गरिरहेका छौं । भोजनको कुरा गर्दागर्दै अर्को एउटा प्रसङ्ग सँगै जोडिएर आउँछ–वाहुनवादले कचक्क किचिएका धर्मभिरू बूढाबाहरू अहिले पनि भान्सा गर्ने बेलामा आफ्नो टाउकाको टोपी झिक्ने गर्छन् । यसो गरेर उनीहरूले टोपीको मान् गरेका हुन् कि अपमान् गरेका हुन् ? बाबु–आमा मर्दा होस् या किरिया–सराद्धे गर्दा होस् छोराको शिरमा टोपी हुँदैन । यसखाले संस्कार–संस्कृतिले टोपीलाई मान्–सम्मान् गरेको हो कि अपमान् ? अहँ, मैले ठ्याम्मै बुझ्न सकेको छैन । हिन्दुवादीको उखरमाउलो आन्दोलन जो अहिले चलिरहेको छ । मलाई भने हिन्दुविरोधी भनेर सोँठ्याउन बेर छैन ।

नेपाली टोपीका थुप्रै जातहरू छन्, आकार र प्रकारहरू छन् । यी भिन्नभिन्न जात र आकार प्रकारका टोपीहरूको औशत औकात अर्थात् ओजन र अस्तित्व पनि अलगअलग रहिआएको छ । आइरन अर्थात इस्त्रीले चेपिएर मन्त्री महोदयको भाग्यमानी टाउकामा शोभायमान कालो टोपी र नाम्लोले चेपिएर ढाक्रेका अभागी टाउकामा दोब्रिएको रङ्ग नै उडी सकेको टापीको औकात र अर्थ कसरी एउटै हुन्थ्यो ? “जस्तो आफू उस्तै च्यापु” भनेर तपाईं पन्छिन सक्नुहुन्न । च्यापु र टाउको अलग अलग अङ्ग हुन् । टाउकाका अगाडि च्यापु र न्यापुको कुनै अर्थ छैन । टाउको भाग्यको प्रतीक हो, नेपाली संस्कारले यही बताउँछ । अनि भाग्यको पनि सुरक्षा गर्ने र शोभा बढाउने टोपी फोहर गाँड अड्याउने गलबन्दी जस्तो हो र ?

टोपी टोपी बीचको अन्तरले खासै महत्व राख्दैन, राख्नु पनि ह“ुदैन । हिजोआजका मन्त्री र सांसदहरूको टोपीको रङ्ग एवं मन्त्रालयतिर वहालवाला सचिव उपसचिवहरूको ढङ्गमा कुनै तात्विक अन्तर देखिंँदै छैन । अँ, कहा“ टोपीको रङ्ग कहा“ सचिव उपसचिवको ढङ्ग ! जात्तेरी, म त टोपीको आकारप्रकार बारे चर्चा गर्दै थिएँ, शपथ न सेलाउ“दै खुस्किन लागेको मन्त्रीको भाषण बरालिएझैं कुरो कता बरालिन पुगेछ । टाउका अनुसार, टाउकाको रुचि एवं औकात अनुसार नै टोपीका पनि आकार प्रकार, रुप र नामहरू निर्माण भएका छन् । केही रूप र नामहरू यी हुन्ः– काने–टोपी, माने–टोपी, ढाका–टोपी, डाँका–टोपी, ढेडु–टोपी, भेडु–टोपी, छतरी–टोपी, लतरी–पतरी टोपी, छिर्के–टोपी, बिर्खे–टोपी आदि । आजकालका तन्नेरीहरूले आफ्नो फूर्ति तन्काउन टाउकामा हाल्ने “हेट”देखि जुँगेमुठे प्रहरीले गर्ने प्रजातान्त्रिक लाठीचार्जमा कठबाँससँग भएको जम्काभेटका बेला टाउको जोगाउने “हल्मेट” सम्मका टोपीहरू हामीकहाँ उपलव्ध छन् । लाल–टोप पनि छन्, काल–टोप पनि छन् । जे जति छन् टाउकामा चढाएपछि टोपी नै हुन्छन् ।

हाम्रो टोपी विदेशतिरबाट हैकम हाँक्न आएको टोपकै परिवर्तित रूप हो कि, हाम्रो आफ्नै टुप्पीको मौलिकताबाट सिर्जित स्वरुप हो ? यसको निक्र्यौल गर्न टुप्पी रगडेर कुनै नेपालीले खोज गरेको छ जस्तो मलाई लाग्दैन । वौद्धिकता आर्जन गर्न नेपालीहरू हिजो–अस्ति बनारस पुग्थे– टाउकामा घरबुना नेपाली टोपी हुन्थ्यो । बौद्धिकतारूपी अहंम आर्जन गर्न आज भोलि नेपालीहरू अमेरिकातिर जान्छन्– टाउकामा उतै बनेको ह्याट हुन्छ । यो अम्रिकी ह्याट कति मापाको हुन्छ भन्ने कुरा किल्ला काङ्गडा र मकवानपुर गढीको लडाईं लडेका नेपालीले अहिले भुसुक्क बिर्सिएका छन् । जब म एउटा वीर नेपालीका टाउकामा उपनिवेशको प्रतीक त्यो ह्याट अर्थात टोप सवार भएको देख्छु, मलाई औधी टीठ लागेर आउँछ, रीस उठेर आउँछ । तर के गर्नु “रीस खा आफू, बुद्धि खा अर्को ।” आखिर बुद्धि बस्ने भाँडो भनेकै टाउको हो र टाउकोमा टोप सवार भएको छ, अनि हाम्रो टोपीलाई त्यो टोपले धोती पो बनाएर हुर्मत लिन खोजिरहेको छ, गाँठे । बुद्धि अर्कैले चपाचप खाइदिएपछि यस्तोसम्म हुँदो रहेछ ।

केही भावुक नेपाली मनुवाहरूले भन्ने र लेख्ने गरेका छन्– हाम्रो गौरव भनेको सगरमाथा हो । मलाई लाग्छ यो त कविहरूको कोरा भावुकता मात्रै हो । सगरमाथाभन्दा अग्लो र ठूलो कुरा त हाम्रो टुप्पी हो टुप्पी । तर नेपाली टुप्पी अहिले टोपीसँगै टोपवालहरूको ऋणमा चुर्लुम्बै डुबिसकेको छ । टोपीसँगै टुप्पी चाहिँ कसरी डुब्यो नि भन्नु होला, कसरी भने– नेपाली टोपी र टुप्पी एक आपसमा अविभाज्य वस्तु विशेष हुन् । टोपीका आकार प्रकारमा भिन्नता भए पनि टुप्पी र टोपी वीच कुनै तात्विक अन्तर छैन । टोपी नै टुप्पी हो र टुप्पी नै टोपी हो, अनि यी दुवै हाम्रो टाउकोमाथि छन् । लौ भन्नोस् त जब हाम्रो टुप्पी नै डुबिसकेको छ भने हामी कसरी बाँकी रहन सक्छांैँ ? अथवा अब हाम्रो डुब्न बाँकी नै के छ त ? शायद यस्तै बेलामा भन्ने गरिएको होला “धोती न टोपी ।” म भने उपर्युक्त प्रश्नको जवाफ खोजिरहेको छु, जसरी कुनै समय प्रहरीले छापाखानामा छापा मारेर लाल–टोपीवाल छापामारहरूको टुप्पी छाप्छाप्ती खोजि गर्ने गथ्र्यो ।

कलङ्की, काठमाडौं