स्वतन्त्र घरमा बस्ने ससाना शिशु सन्तति
आफैँले घरको खाना खान खोज्छन् यताउति ।
कहिले फल आफैँले टिप्छन् ती रूखमा चढी
जेजस्तो घरको वस्तु त्यस्तै खान्छन् लडी लडी ।

कहिले थालमा टम्म खाना नै नहुँदा पनि
हँसिला फुर्तिला हुन्छन् छैन क्रोध कतै पनि ।
जब आफैँ मिली खाना राम्रा ती परिकारका
पकाई खान पस्किन्छन् सहजै अधिकारका ।

नाकाबन्दी कहाँ बुझ्नु चासो छैन कुनै कुरा
जेजस्तो घरको वस्तु त्यस्तै ठान्छन् पुरा पुरा ।
धनीले कसरी खान्छन् के चासो तिनको रहोस्
आफूले खान जान्नु वा पेट आफ्नो पुरै रहोस् ।

धारामा जल नै छैन अन्न छैन भँडारमा
आगो फुक्न नसक्ने झैँ छैन इन्धन साथमा ।
नाकाबन्दी अरे सुन्छन् शिशुको अधिकारमा
धन्य हे ! भाग्यका स्वामी प्रभुझैँ शिशु द्वारमा ।

नाकाबन्दी गरी कस्तो सान तिम्रो बढाउँछ
भोका शिशु निमोठेर श्रेष्ठ को बन्न पाउँछ ।
शिशु संसारको आफ्नो छुट्टै सुन्दर विश्व छ
घमण्डले कहाँ छुन्छ आस्था विश्वास स्वर्ग छ ।

गर्व कस्तो कहाँ तिम्रो अहङ्कार दरिद्रता
अरूको कुभलो गर्दै बाहिरी मन्द शिष्टता
स्वस्थ शिशु निमोठेर कस्तो न्याय हुँदै छ यो
नाकाबन्दी गरेँ भन्छौ न्याय लज्जा कता गयो ! ।

काठमाडौं