आज हामीहरू एकादेशको एउटा कथा सुन्दैछौं । एकादेशमा एउटा गोदी भन्ने व्यक्ति धेरै भोट पाएर प्रधानमन्त्री भयो । जसले जति धेरै भोट पाएर ठूलो मान्छे हुन्छ, त्यसको त्यती नै धेरै खोटहरू हुन्छ भन्ने कुरा बताइरहनु पर्दैन । यो कुरा एकादेशको मात्र नभएर सबै देशको ठूला मान्छेहरूको कमन विशेषता हो । आफू प्रधानमन्त्री भएपछि गोदी सरकार छिमेकी देशहरूको कुटनीतिक भ्रमणमा व्यस्त बन्न थाल्यो । केही महादेशको वल्लो र पल्लो छेउ भ्रमण भट्याएर तालीको तारिफ पाइहाल्यो । यसै क्रममा ऊ एकदिन आफ्नै छिमेकी सानो र सुन्दर देशमा पनि आइहाल्यो । सानो र सुन्दर देशका मान्छे ज्यादै बुद्धुजिवी रहेछन् । इन्द्रका राजा स्वर्ग आए झैं उसको सम्मान व्यापक गरे । उसले पच्चिस सय वर्ष पहिला त्यही सानो र सुन्दर देशा जन्मिएका गौतम बुद्धलाई, गौतम बुद्ध यही देशमा जन्मिएका हुन् भन्दा तीस बीस भन्दा वढी महामहिमहरूले साक्षात ब्रम्हादेव बोलेको जस्तो मानि मच्चीमच्ची हत्केला ठटाए । गोदीले एकासी प्रतिशत भन्दा बढी हिन्दुहरूको हरि हसुर्न पशुपतिनाथमा गएर पच्चिस सय क्विन्टल श्रीखण्डको चन्दन घुस खुवायो । सानो र सुन्दर देशमा संविधान सभाको दोश्रो संस्करणबाट संविधान पसाउँदै थियो ।

संयोग राम्रै पारेछ, गोदी सरकारले । गाइको मासु चपाउँदै संविधानमा हिन्दु राष्ट्र लेख भनेर आन्दोलनको दान गर्नेहरूलाई पशुपतिनाथमा चढाएको श्रीखण्डको घुसले भिटामीन ए को जुसकै काम ग¥यो । यही विवादमा कहिले बन्दको व्यापार त कहिले अनसनको धन्दा व्यापक फस्टाउन थाल्यो । यतिमात्र होइन हजुर गोदी सरकारले चोक चोकमा वानरहरूसँग हात मिलाउँदा त झन् सबै मानरहरूले साक्षात विष्णुको दर्शन पाएजस्तो ठानेर धेरै समयअगाडि देखि कसैको जयजयकारमा जाग्न नपाएकाले हो कि कुन्नी ? आफैले समेल्न सक्ने भन्दा धेरै तारिफ उसले नै पायो । तारिफको तुइनो तनक्क टाँगेर ऊ आफ्नै देशमा गयो ।

समय बित्दै गयो । सानो–सुन्दर देशले बल्ल–बल्ल आठ– नौ बर्षको समय खर्चेर, दुई–दुई पटकसम्म संविधानसभाको चुनाव वर्षेर, थुप्रै मानिसहरूलाई आन्दोलनमा बली दिएर संविधान पायो । बुढेशकालमै भएपनि संविधान पाएपछि सबैमा खुशीयाली छाएकै थियो, दाँया–बाँया, यत्रतत्रबाट बधाइको सन्देश आएकै थियो तर विडम्बना सानो र सुन्दर देशले संविधान पाएपछि गोदी सरकारलाई डायरिया नै लागेछ । अर्कोले जे–जे सुकै पाओस् किन चिन्ता लिन पथ्र्यो र विचरा । डायरीयाले थला परेको गोदी सरकारले औषधीको लागि बन्द व्यापार सुरु गरेछ । ‘भोकको रिस खानेकुरा माथि’ कठैबरा विचरा उसको बन्द व्यापारले सानो र सुन्दर देशलाई मात्र हानी के गथ्र्यो र आफ्नो देशलाई पनि त गोलीको काम गर्ला कसो ?

सानो र सुन्दर देशका मानिसहरू पनि अचम्मकै रहेछन् । गोदी सरकारले बन्द व्यापार थालिसकेपछि, जाबो दुई÷चार मिटर हिड्ने दुःखले जोर र बिजोरका महादेवका बहान समाएर घण्टौं घण्टा बन्द व्यापारबाट अलि अलि चुहेको तेलहाल्न कुर्दारहेछन् । घण्टौं–घण्टा तीन लिटरको प्रतिक्षामा रहेर समय सक्नुभन्दा , त्यो उर्जावान श्रमलाई वैकल्पिक छिमेकी राष्ट्रबाट बाटो खोल्न वा अन्य विभिन्न आत्मनिर्भर बन्ने काम÷व्यवशाय गर्न सके गोदी सरकारको बन्द व्यापार पनि ‘हिस्स बुढी हरिया दाँत’ हुन सकथ्यो कि ? सानो र सुन्दर देशका पौरखी पारखीहरूले आ–आफ्नो पौरख यही देशमा पोख्न सके विकास भन्ने जन्तु जन्मन्थ्यो कि ? गोदीको बन्द व्यापारलाई सकारात्मक रुपमा स्वागत गर्दै आम नेपालीका सबै मस्तिष्क र हातहरूलाई चलायमान ग¥यौंं भने असम्भव त के नै पो हुन्छ र ? दश÷बीस लाख जनाको श्रमशक्ति आठ÷दश घण्टा खर्चने हो भने तातोपानी मात्र होइन चिसो पानीमा पनि नाकका प्वाल पार्न नसकिएला र ?अनि उत्तरतिरका नाकमा प्रशस्त प्वालहरू बनाइसकेपछि गोदी सरकारको बन्द व्यापार बन्द भएपछि पनि जताततै प्वाल नै प्वाल भएपछि सजिलो त हामीहरूलाई नै होइन र ? हाम्रा कुरा यहाँहरूलाई कस्तो लाग्यो कुन्नि ? खबर गर्न नविर्सनुहोला ।

स्याङ्जा