बत्ति गयो, ज्यान गए फोन लाग्दैन, लागिहाले हत्तपत्त उठ्दैन, उठिहाले ‘यताबाट होइन, उता इन्डियाबाटै काटेको, भन्न सकिन्न, कतिखेर आउँछ’ भन्ने रेडिमेड जवाफ पाइन्छ । (लोडसेडिङ् भन्न मिल्दैन क्या, अदालतले नगर्नु भन्या छ ।)
नेट चलेन, फोन गर्यो उस्तै– फोनै उठ्दैन, उठिहाले ‘दाङतिर फाइबर अप्टिक्स काटिएको छ, २/३ घण्टा त कम्तीमा लाग्छ, हामी कोसिस गर्दैछौं’ भन्ने अर्को रेडिमेड जवाफ । मानौं दाङका किसानहरू खेतका धान, मकै, गहुं र अरहरको बाली काट्नुभन्दा अप्टिकल फाइबर काट्नमै ब्यस्त छन् ।
टिभीमा निलो स्क्रिन भो, केबलवालालाई फोन गर्यो, ‘हिजो तपाईंकोतिर तार चोरी भयो, केटाहरु पठाएको छु, बनाउँदै होला ।’ फेरि अर्को रेडिमेड जवाफ । लाग्छ, केबल तार अमूल्य खजाना हो जो दैनिक अदृश्य रूपमा चोरी हुन्छ तर हामी तार खम्बामा झुण्डिरहेकै देख्छौं ।
मोबाइल वा कुनै बिद्युतीय उपकरण बिग्रियो, बनाउन लग्यो भने ‘यसको IC बिग्रेछ, फेर्नुपर्छ ।’ फेरि पनि अर्को रेडिमेड जवाफ । मानौं, प्रत्येक बिद्युतीय उपकरणका IC भन्दा अरु चीज बिग्रनै सक्दैन ।
सामान किन्न गयो, महँगो भन्छ, ‘साहुजी, यो त महँगो भयो नि, यस्तै सामान मेरो साथीले यति रुपियाँमा लग्या’थ्यो भन्दा ‘डुप्लिकेट होला, यो असली हो ।’ अर्को रेडिमेड जवाफ । मानौं ओरिजिनल सामान बेच्ने ठेक्का उसले मात्र लिएको छ, बाँकी सबैले डुप्लिकेट नै बेच्छन् । अनि महंगो मात्र असली सामान हुन्छ ।
यस्तै रेडिमेड जवाफहरूले आजीत भएको छु । तपाईंले पनि यस्तै रेडिमेड जवाफहरू निरन्तर सुन्दै आउनुभएको छ, कि छैन हँ ?!