सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

उपियाँ र रुपियाँ

Nepal Telecom ad

साँचो अर्थमा उपियाँ र रुपियाँलाई नचिन्ने यस जगतमा कोही छैन । घरघरमा रुपियाँ र उपियाँ प्रभुको देन हो । जो जससँग रुपियाँ हुँदैन उससँग उपियाँ हुने सम्भावना प्रवल हुन्छ । भाग्य भनौँ या दुर्भाग्य प्राय रुपियाँ नहुनेलाई उपियाँले सताएर उखरमाउलो गरेको मैले देखेको छु । हो, यिनै साधन (साँचो अर्थमा धन) को विषयमा मेरो बोधो प्रवचन प्रस्तुत गर्दछु ।

विश्व ब्रह्माण्डमा साधारण मानवदेखि ठूला शक्तिशाली नेताहरू पनि जन्मिएपछि थाङ्नामा सुत्छन् । थाङ्नो बच्चालाई नभई नहुने र उपियाँको अति उपयुक्त बासस्थानमा पर्छ । तर मान्छे सधैँ थाङ्नामा र आँगनमा सुतिराख्दैन । केही उपियाँ र दुइचारवटा रुपियाँलाई पनि चिनिसकेको हुन्छ । बावु, आमा वा गार्जेनले रुपियाँ र उपियाँको बारेमा समुचित जानकारी दिइसकेका हुन्छन् । त्यसैले चतुर मानव उपियाँसँग टाढा टाढा र रुपियाँसँग नजिक नजिक हुँदै गएर आज पृथ्वीका प्राय सम्पूर्ण मान्छेहरू उपियाँदेखि दुरदुर र रुपियाँसँग नजिकिने गरेका छन् । ‘जहाँ मान्छेको चहलपहल त्यहाँ उपियाँ र रुपियाँको रहलपहल’ भन्ने उखान सृजना गर्नुपर्ला जस्तो छ ।

प्रमुख शहर होस् या सानो गाउँ, नचिनिने हुन् या प्रचलित नाउँ, ठूला गगनचुम्बी महल वा पराले झुपडी सबै ठाउँमा उपियाँ र रुपियाँको प्रवेश हुन्छ । धेरथोर अलग कुरा । उपियाँ र रुपियाँको तादात्मीयतामा मानवचोला भएरै होला आजीवन साथ र सङ्गत छुट्दैन । उपियाँ र रुपियाँको लहरो टुट्दैन । बडो गौरवको कुरा नभन्नु होला, बरू उपियाँ र रुपियाँ आज आफ्नो ओच्छ्यानमा भए पनि भोलि कसको ओछ्यान, रछ्यान, काखी वा राडीपाखीमा पुग्छन् पत्तै हुँदैन । प्राणीसँग अविलम्ब आत्मीयता गाँस्दै मानवहरू एकैछिनमा पूर्वपश्चिम हुन्छन् । क्षणभरमै फट्किएर ब्रह्माण्ड परिक्रमा गरिदिन सक्छन् । यस देशको मान्छे रातारात त्यस देश र त्यो देशको मान्छे दिनदहाडै यो देश हुने वा आकाश गङ्गामा विचरण गरिराखेका हुन्छन् । यस्तो हुन्छ फट्काइको फट्को र पो फुस्किन्छ मान्छेको अड्को । मान्छेले उपियाँबाट फट्किने कला सिकेर होला को मान्छे कहाँ, कसको ओच्छ्यानमा पुगेको हुन्छ पत्तै हुँदैन । स्वास्नी भाग्ने वा लोग्ने जाग्ने यही क्रियाले हो । क्रियामा प्रक्रिया मिलेन भने फट्किनुपर्ने हुन्छ । फट्किनु, कड्किनु, सड्किनु चाहेर हुँदैन । ईश्वरको लीला लौ प्रभु ! कसरी मिलाउँछस् मिला, चाडो होस् या ढिला फुस्केको मुख सिला, फट्किदा गलिसक्यो फिला । फट्किनु उफ्रिनु पनि कला हो । कला जानिराखे मौकामा गला लाग्दैन ।

कला कसैको उपियाँकोझैँ फट्किनुमा हुन्छ त कसैको कट्किनुमा । कसैको गलामा र कसैको हिलामा पनि कला हुन्छ । किनकि ढुङ्गामा फाली अड्काएर सोझो गोरुको ढंडेसो सेकाउनु पनि कला नै हो । उपियाँको सुटुक्क पसेर कुटुक्क टोक्ने र फट्किएर स्थानान्तरण हुने कलालाई पनि हामीले मान्नु र जान्नुपर्छ । यतिमात्र होइन, मानववस्तीमा प्राणीमात्रको मुटुबाट उत्पादित रगतमा रातदिन राज्य गर्न रुचाउने चुसन्दास वा घूसन्दास जीव साँच्चै अजीवको छ । प्रतिष्ठित इजेतिला, गतिला वा अगतिला, सत्तापक्ष वा प्रतिपक्ष, धनी, निर्धन, साङ्ग, अपाङ्ग सबैसँग समान रूपले बस्ने र डस्ने अक्षय क्षमता भएको उपियाँ र रुपियाँ खर्च गरेर पाईदैन । उपियाँ प्रकृतिको निःशुल्क देन हो । यसको पनि वंश,परम्परा, थर, गोत्र, वर्ग आदि इतिहास हुन्छ । उपियाँ मार्दा जुम्रा, उडुसकै जस्तो रगत आउने र धर्म कर्म एउटै भए पनि बेग्लै प्रजातिका प्राणीहरू हुन् । परेवा, मलेवा, ढुकुर, भँगेरा, धानचरी, कल्चुँडो, काग हेर्दा एकै नाशका लाग्छन् तर यी पक्षीमा पनि कान्छीमा जस्तै भिन्नता हुन्छ भन्दा खिन्नता नमान्नु होला ।

लप्सी, नीम, पिडालु, तरुल, लिची, धतुरो, चामलकै अनेक प्रजाति हुन्छन् । त्यसमाथि तोरी, सरश्यूँ, आलस, तिल, खराने, फिलुङ्गे (खोटाङ जिल्लामा पाइने एक वनस्पति) आदि वनस्पतिलाई पेल्दा तेल त आउँछ, तर यिनको पनि स्वाद सुभाष र वंश फरक हुन्छ । पूर्खा फरक हुन्छन् चामल चामल एकै हुन भने मोटा चामल र बास्मती मसिना चामलको मूल्य किन फरक ? सुँगुर बढेर हात्ती कहिल्यै हुँदैन । गधा बढेर घोडा हुन सक्दैन । बिरालो सप्रिएर बाघ भएको होइन । घरेलु झिँगाहरू सुघ्रिएर मौरी बन्न सक्दैनन् । त्यस्तै भैंसी कचल्टिएर गैँडा भएको होइन । मालिङ्गो, निगालो, जति मौलाए पनि बाँस बन्न सक्दैन । त्यस्तै भिन्नता मान्छेमा पनि हुन्छ, मान्छेको जातमा पनि हुन्छ र मेरो मन रुन्छ हरे शिव ! आजका मान्छे कति सप्रिएका हुन् ? कति मौलाएका हुन् ? किन बौलाएका हुन् ! मानव–मानव एउटै हुन्छ भनेर सोचून त कनेर ।

मान्छे मान्छे एक हौँ समयको नारा छ । तर मानवले मान्छेको नारालाई पचाउन गारो मानिराखेको छर्लङ्ग देखिन्छ । मनमस्तिष्कमा कुण्ठा बोकेर बाँच्न विवश मान्छेका अजर, अमर आत्माले झूटो बोल्दैन । बाहिर समानताको नारा घोक्छ, घोकाउँछ र व्यवहारमा ठोक्छ, ठोकाउँछ । उपियाँ झैँ मार्छ, उफ्रिन्छ । यो पनि मानव अधिकारकै सन्धि सर्पणमा पर्ला नि ।

जात अन्तरजात वैंशको रन्कोमा गाँसिन्छन्, टाँसिन्छन् हीनताबोध र आत्मग्लानिले मासिन्छन् पनि । सबैको फट्काइले सफलता नपाउन पनि सक्छ । तर सफलता मिलेन भनेर नफट्की बस्नु पनि भएन । फट्किनुपर्छ । फट्किने कलामा हामीले उपियाँलाई गुरु मान्नै पर्ने हुन्छ । जसले मानव व्यवहारको यावत् पक्षमा फट्किन सिकाएको छ । राजनीतिमा फट्किएर नै नेता बनिन्छ । आन्दोलन गर्दा फट्किनै पर्छ । उपियाँझैँ टोक्ने, ठोक्ने र उफ्रिने गर्नुपर्छ । प्रमोशन गर्नु प¥यो उही चाल । ठूला साहित्यकार, पत्रकार, विश्वमा तहल्का मच्चाउने नै उफ्रिएर, फट्किएर, कट्किएर र पट्किएर हो ।

एकाएक ठूलो जात र अचानक सानो जात नफट्की सम्भव छैन । त्यसैले मान्छे रुपियाँ र उपियाँकै शैलीमा हरदम फट्किराखेको हुन्छ । मान्छेले मान्छे फट्केको देख्दा आश्चर्यजनक तरिकाले जिब्रो टोक्छन् । यो कसरी सम्भव भयो भन्दै एकालाप गर्छन् । तर म भन्छु ‘मान्छेहरू हो, हार खाऊ हरेस नखाऊ फट्किँदै जाऊ’ ।

फट्काइको फल अन्य फलभन्दा अतुलनीय मीठो हुन्छ । यसले रातारात शिखरमा चढ्न पनि सकिन्छ । कलियुगमा रुपियाँ छोप्छन्, उपियाँ छोप्छन्, तर गुप्ताङ्ग छोप्न खाँचो ठान्दैनन् । उदाङ्गो हुन, नाङ्गो पार्न गाह्रो मान्दैनन् । एकले अर्कालाई चुम्नु, डस्नु, रुवाउनुलाई बहादुरी ठान्छन् । आक्रमण, अतिक्रमणमा बहादुर देख्छन् । सोझासीधाको बाटो छेक्छन् । कलिको सभ्यता र संस्कार यही हो ? आम मानव रुपियाँको लागि उपियाँको धर्म शिरोपर गर्न राजी छन् । सायद यो मानव सभ्यता र संस्कारको निरन्तरता हुनुपर्छ ।

सृष्टिको सृजना गर्दा ब्रह्माले त्यसको संरक्षण हेतु मुखारविन्दबाट वेदवेत्ता बाहुनचरी, करबाहुलीबाट राज्यचालक क्षेत्रीय, अर्थ खानपान र खुराकको लागि जङ्घाबाट वैश्य र यी तीनै वर्णको पारिश्रमिकका रूपमा पाउबाट शूद्रको उदय भएको पौराणिक कथनहरू पढ्न पाइन्छ । सृष्टिकर्ताले कामको बाँडफाँड गरिदिनुको कारण एकार्कामा हिंसा, हत्या, चिथोरा चिथोर रुपियाँको लागि उपियाँको चुसाचुस, घूसाघूस नहोस् रिसरागले भरिएको कसैको कालो मुख देख्नु नपरोस्, अनाहकमा रुपियाँको कारण आँखाबाट आँसु नझरोस् । कसैबाट कोही नमरोस् भनेर यथोचित निकास देखाएको हो, तर आज कल्कलाउँदो कलीमा सर्वोच्च न्यायालयको आदेश सरकार वा जनताले शिरोपर गर्न झ्याउ मानेझैँ ब्रह्माको आदेश वा काम बाँडफाँडमा पनि शङ्का उपशङ्का गर्नुका साथै सबै जाति वर्णको नैतिकता, व्यवहारबाट एकैसाथ, एकैनास, एकाएक, हरपल, हरदिन टाँका फुस्किराखेको देख्दा डाँको छोडेर रुन मन लागिरहेछ ! र भन्न मन लाग्छ रूपियाँका लागि उपियाँको ताल नगरौँ कि ?

फुलबारी, पोखरा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
थाङ्ने चिन्तन

थाङ्ने चिन्तन

शेषराज भट्टराई
साँढे स्वास्नी

साँढे स्वास्नी

शेषराज भट्टराई
किन चाउरिस् मरीच ? आफ्नै रागले !

किन चाउरिस् मरीच ?...

शेषराज भट्टराई
घाँटी 

घाँटी 

शेषराज भट्टराई
चोर, ढाँट र ठग

चोर, ढाँट र ठग

शेषराज भट्टराई