एउटा थियो गँगटो, सारै पाखण्डी र सारै घमण्डी ।
एउटा थियो सारस, एकदमै सुधो र एकदमै भलो ।
दुवैले मितेरी लगाएका थिए । पुराना मित थिए ।

गँगटो जतिखेर पनि कचकच गर्थ्यो, “मिज्जु, एकछिन मलाई पनि आफूसंगै अकासमा उडाएर घुमाइदिनोस् न !”
“हुन्छ मिज्जु, मेरा मुखभित्र बस्न आउनोस् !” भनी आफ्ना चुच्चाका माझमा सुरक्षित राखी सारस उसलाई माथिमाथि लगेर टाढाटाढासम्म घुमाउँथ्यो ।

सारस सदैव उसको इच्छा पुरा गर्थ्यो, तर गँगटो केही न केही धिङ्न्याइँ गरिहाल्थ्यो । जेजस्तो र जेजति बिजाइँ गरे पनि सारस सहिदिन्थ्यो र मितको इच्छा पुरा गर्नेतर्फ नै लाग्थ्यो ।
उड्दै गर्दा अरू बेला पनि गँगटाले कहिले सारसका मुखभित्र छेरेर अनि कहिले सनासोजस्ता चुच्चा घोपेर दुख दिन्थ्यो, तर यस पल्ट त त्यसले अचाक्ली नै गर्यो । माथिमाथि उडिरहँदा त्यसले सारसको मुखबाट घाँटीतिर ओर्लेर उसको रुद्रघन्टी नै ङ्याक्क पार्यो । सारस मिज्जुको यस घातबाट मर्मान्तक पीडा भई अझै छटपट गर्दो छ, तर निष्ठुरी गँगटो एकनाससँग मितको घाँटी कोपरेको कोपर्यै छ ।

भन्नोस् त त्यस गँगटाको नाम के हो ?
अनि–
त्यस सारसको नाम के हो ?

काठमाडौंं