ऊ एक्लै पहाडी बाटो हिँडिरहेको थियो । एक्कासि ऊसँग उग्र क्रान्तिकारीहरूको भेट भयो । तिनले उसलाई हल्ट गरे । र, बन्दुक तेर्स्याउँदै घेरे । उसको कट्टु भिज्न थाल्यो । उसको मुखको पानी हरायो । एउटा क्रान्तिकारी कमान्डरले ऊसँग सोध्यो–
“किन डराएको ?”
ऊ झन् डरायो । उसका खुट्टा पनि काम्न थाले । ऊ बोल्न सकेन ।
कमान्डरले फेरि सोध्यो–
“किन डराएको दाइ ?”
अहिले पनि ऊ बोलेन । अगिनभन्दा दोब्बरसँग उसका खुट्टा काम्न थाले । उसको कट्टु थप भिज्यो । कमान्डरलाई शङ्का लाग्यो । त्यसकारण कमान्डरले सोध्यो–
“तपाईं पुलिस हो ?”
“होइन ।”
“अत्याचारी हो ?”
“होइन ।”
“छद्मभेषी हो ?”
“होइन ।”
“त्यसो भए डराएको किन त ?”
तर ऊ बोल्न सकेन । किनभने उसको मुखको रस सुकिसकेको थियो । त्यसकारण झर्केर कमाण्डरले भन्यो–
“त्यसो भए को त तपाईं ?”
तर उसले म गाउँको गरिब दमाइँ हुँ भन्न सकेन । किनभने ती क्रान्तिकारी बाहुनहरूलाई छोइएला र तिनको हातको बन्दुक पड्केला भन्ने त्रासमा थियो ऊ ।

(एक्काइसौँ शताब्दी मासिक। २०५७)