सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

थुतुनो पुराण

Nepal Telecom ad

थुतुनो याने मुख । यो नाकको मुन्तिर, चिउँडोको केही माथी अवस्थित छ । यो धेरै प्रकारले प्रयोग हुन्छ । यसको प्रमुख काम खाना खानु हो । त्यस बाहेक रुघा लागेर होस् वा साइनसबाट पीडित हुँदा यसले सास फेर्ने काम पनि गरिदिन्छ । त्यसो त मुख उक्काएर सधैं मुखबाट सास फेर्ने पनि धेरै छन् । मुखको अर्को प्रमुख काम बोल्नु पनि हो । बोली गोली पनि बन्छ जब त्यो खतरनाक हुन्छ । त्यस्तो बोलीले समय, ठाउँ र परिस्थिति अनुसार कम्पन पैदा गर्छ । सानो मान्छेको मुखले सानै अनि ठूलो मान्छेको मुखले ठूलै असर गर्छ समाजमा । बोलीले समाज परिवर्तन गर्न सक्छ भने बोलीले नै बिध्वंश पनि । यसले कहिलेकाहीँ देशको नक्सा समेत बदल्न सक्छ । त्यसैले यसको काम अनुसार कहिले नाम त कहिलेकाहीँ बदनाम हुन्छ यही मुख ।
मान्छे कस्तो छ भन्ने कुरा मुखले चाल पाइन्छ धेरैजसो । उसको बोली नै यस्तो अस्त्र हो जसबाट उसको व्यक्तित्व झल्किन्छ । उसको दिमागमा कति गुदी छ भनेर सजिलै थाहा पाउने माध्यम उसको बोली नै हो । आफ्नो कुरा जति लुकाउन खोजे पनि, आफू जान्ने भएको जति स्वाङ पारे पनि बोलीको दमले उसको सतह स्पस्ट हुन्छ । शब्दलाई घुमाई फिराई गरेर आफ्नो अनभिज्ञता वा अक्ष्यमतालाई लुकाउन खोजे पनि बोलीबाट उसको धोती खुस्की हाल्छ ।
यसरी मान्छे बोल्ने जस्तो गहन काम मुखबाट हुन्छ । यसले नै हो इस्टमित्र बनाउने र दुस्मन बनाउने पनि । कुरा गर्ने काइदाले कहिले उसलाई फाईदा त कहिले घाटो हुन्छ । सबै चाहन्छन् मेरो कुरा सबैले सुनून् । मेरो कुराको राम्रो प्रभाव परोस् । ठूलै देशको नेता मात्र होइन चार जनाको परिवारको प्रमुखले पनि आफ्नो बोलीको प्रभाव राम्रै परेको हेर्न चाहन्छ । त्यसैले तुक नभएको बोली बोले पनि ‘म’, ‘मेरो कुरा’ ‘मैले भनेको’ जस्ता कुराहरू धेरै जस्तो सुन्न पाइन्छ । यस्सो गफ गर्न बस्यो भने धेरैको मुखारबिन्दबाट यस्ता कुरा निस्किरहन्छन् । यसमा हामी नेपालीको मात्र कपिराइट छैन, यो युनिभर्सल आइडिया हो ।
तर जब मुखले जथाभावी बोल्न थाल्छ, यो मुख होइन थुतुनो कहलिन्छ । हामी बढी बोल्यो भने भन्छौं कति थुतुनो चलाएको भनेर । जहिलेसम्म यो मुख हुन्छ त्यसको नकारात्मक प्रभाव कम वा सून्य हुन्छ । तर जब यो थुतुनो बन्छ, यसले बित्याँस पार्छ, बिगार्छ, भत्काउँछ, ध्वस्त पार्छ । यसले इस्टलाई दुस्ट बनाउँछ । साथीलाई सत्रु बनाउँछ । वरकोलाई परको बनाउँछ । माया गर्नेहरू घृणा गर्न थाल्छन् । शुभचिन्तकहरू कुरा काट्ने हुन्छन् । त्यही थुतुनोले उसलाई एक्ल्याउँछ ।
थुतुनो कति प्रकारका होलान् ? बडो जटिल प्रश्न हो यो । यसलाई वर्गीकरण गर्नु सजिलो काम होइन । किनभने हरेकको आफ्नै प्रकारको थुतुनो हुन्छ । एउटै मान्छेको पनि बेलाबखत फरक खालको थुतुनो हुनसक्छ । अत्यन्तै माया गर्ने सतिदेवी जस्ती श्रीमतीको रिसको बेलामा सुरसाको जस्तो थुतुनो हुनसक्छ । साँप्रामा टाउको टेकाएर मुस्काउँदै कुरा गर्ने बेलामा माया गर्दै कपाल मुसार्दै मिठा शब्द बोल्ने ‘बोय फ्रेण्ड’ रिसाउँदा रावण जस्तो बोल्न थाल्न सक्छ । त्यसैले थुतुनाको प्रकार छुट्टाउनु अरिगाँठेको खुट्टा गन्नु जस्तै हो । तर सोलोडोलो रूपमा मैले यिनलाई तीन वर्गमा पार्ने प्रयास गरेको छु । त्यसभित्र पर्ने नपर्ने, अटाउने नअटाउने जिम्मा थुतुनाहरूकै । मलाई केको टन्टन !

काउले थुतुनो : 
थुतुनाको प्रकारले नै बुझिन्छ यो कस्तो थुतुनो हो भनेर । काउलो एक प्रकारको रुखको नाम हो । तिहारमा सेलरोटी पकाउँदा आमाले त्यही काउलाको बोक्रो थिचेर हाल्नु हुन्थ्यो । रोटी मज्जाले फुर्थे, आजकाल सोडा हालिन्छ त्यसको ठाउँमा । त्यो चिप्लो हुन्छ । त्यसैले काउले थुतुनो पनि चिप्लो हुन्छ । चिप्लोमा टेकेर कति चोटि हामी लड्छौं, पल्टिन्छौं त्यो त भन्नै पर्दैन । यो चिप्लो हुन्छ, चिल्लो हुन्छ । रोटी चिल्लो मिठो कुरा खस्रा मीठा भन्ने उक्ति हाम्रो नेपालमा त्यसै चलेको होइन । यो काउले थुतुनो सुन्नमा मज्जाको हुन्छ । कुरा मिठा हुन्छन् । तर परिणाम त्यसले तपाईंलाई लडाइदिन्छ । त्यस थुतुनाबाट निस्केका हरेक बचन अर्थपूर्ण हुन्छन् । त्यसमा हास्यरस मिश्रित हुन सक्छ तर त्यो कुटिल हुन्छ । त्यहा शब्दको धेरै अर्थ लाग्छन् । तपाईं त्यसबाट यति प्रभावित हुनुहुन्छ कि आफू चिप्लिएर खुत्रुक्क लडेको तपाईं चाल पाउनु हुन्न । त्यसैले यो निकै सतर्क हुनु पर्ने थुतुनो हो ।

छुचो थुतुनो : 
यो थुतुनोलाई फत्फते थुतुनो पनि भन्न सकिन्छ । यो दिमागको नियन्त्रणमा प्राय हुदैन । बोल्दा बोल्दै आफ्नो धोती खुस्केको यो थुतुनाधारीहरूले चाल नै पाउदैनन् । यिनीहरूलाई सबैको बारेमा थाहा भए जस्तो बक्बक गर्छन् माने उनीहरू त्रिकालदर्शी हुन् । सबैको बारेमा केही न केही प्रतिक्रिया यो थुतुनोवालाहरूसँग हुन्छ । नेपाली समाजमा महिलालाई रुद्रघण्टी नभएको भनेर आलोचना गरिन्छ तर यसमा महिलाको मात्र कपिराइट छैन, पुरुष पनि कम छैनन् । शायद यो वर्गका मान्छेहरूको रुद्रघण्टी हँुदैन । यो थुतुनाधारीहरूको कुराले अरुलाई त असर पर्ने नै भयो, त्यो भन्दा बढी उनीहरूलाई नै पर्छ । बोली दिमागको नियन्त्रणमा नहुने हुनाले के बोले भन्ने भ्याउ उनीहरू पटक्कै पाउँदैनन् । फलस्वरूप ऊनीहरूलाई समाजमा फाल्तु मान्छेको दर्जामा राखिन्छ । ‘यसको कुरा केको पत्याउनु’ धेरैको प्रतिक्रिया यस्तै हुन्छ । पतरपतर बोलिरहने हुनाले बोलीमा कुनै दम हुँदैन । गोप्यता कुन चराको नाउँ हो यिनीहरूलाई पत्तो हुँदैन । कुनै गोप्य सूचना वा कुरो कानकानमा पुराउन एफएम रेडियोमा दिनु पर्दैन, यिनैलाई भन्दिनुस् काम खत्तम । नराम्रो कुरो त यिनले घण्टाभरमै घरघरमा पुर्याउँछन् । त्यसैले गोप्य कुरो यस्तासँग नगर्दै बेश, राख्नु पर्छ धेरै होश ।

दुष्ट थुतुनो :
यो थुतुनो लाई गनगने थुतुनो पनि भनिन्छ । यो खाली गनगन गरिरहन्छ । यसमा खुशी र उमङ्ग हुँदैन । बोलीमा गोली हुन्छ । बोल्दा घोचेरै बोल्छन् यो बर्गका मान्छेहरू । अर्काको खेदो खन्नु यसको प्रमुख विषेशता हो । राम्रो कामलाई पनि नराम्रो कोणबाट विश्लेषण गर्नु, सकारात्मक कामलाई नकारात्मक तरिकाले व्याख्या गरेर त्यसको उछित्तो काढ्नु यो थुतुनाको गुण हो । बोली सुन्दा नमिठो लाग्दैन तर त्यसको असर निमपत्ताको भन्दा ठीक उल्टो हुन्छ । अरुलाई दुखै दिने, दुःख र कस्टकै चाहना गर्ने र फलस्वरुप आफू पनि दुःखमै फस्नु पर्ने यो थुतुनाधारीहरूको बाध्यता हो । आत्मसम्मान भन्ने यिनीहरूमा पटक्कै हुँदैन । यो भएन, त्यो भएन, यस्तो भएन, त्यस्तो भएन, उसको भयो, मेरो भएन, उसले गर्यो मैले सकिन, ऊसँग छ मसँग छैन भनेर चोबिसै घण्टा गिडगिडाइरहनु यो थुतुनाधारीहरूको धर्म हो । त्यसैले यो थुतुनो पनि खतरा नै हुन्छ । सतर्क हुनु नै बेश हुन्छ । टाढै रहनु उचित हुन्छ ।
यसबाहेक थुतुना अरु प्रकारका पनि होलान् सबैलाई यत्तिमा अटाउन गाह्रो छ । तपाईं हामी मध्य को को यो वर्गमा पर्छौं हेर्नु, अनुभव गर्नु र मुखलाई थुतुनो बन्नबाट जोगाउने काम गर्न अझै ढिला गर्नु हुन्न ।
टेक्सास, अमेरिका

Fitkauli Publication Books comming soon
Nepal Telecom ad