सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

छतौरा

Nepal Telecom ad

भेडा वा बाख्राको गाभिन भइनसकेकी कुमारी, कन्या वा पाठी या बीउको निम्ति पालिएको भाले, कुमार वा पाठो नै छतौरा कहलाउँछन् । गाईको यस अवस्थालाई कोरली भने जस्तै भैँसीको थोरे, गोरुको बहर त्यस्तै मान्छेलाई कुमार कुमारी वा तरुनी तन्नेरी भन्ने गरिन्छ । भने कुकुरको यो अवस्थालाई डाँगो र बिरालोलाई ढाडे वा छाउरी भन्ने गरिन्छ । अन्ततः प्राणीको उपर्युल्लिखित अवस्था नै छतौराको दर्जामा पर्छन् ।

मानव जिन्दगीको १२ वर्षदेखि १८ वर्षसम्म छतौरा पनको उग्र रूप देखिन्छ । सामान्यतया अङ्गको सर्वाङ्ग पूर्ण विकसित भइसके पनि छतौराको दिमाग अलिक कच्चा हुने हुनाले फतौरापनको हालीमुहाली रहन्छ । यसै फतौरालाई मध्यनजर राखेर नेपाली कानूनमा लोग्नेस्वास्नी हुन छतौराको उमेर २२ वर्ष र छतौरीको उमेर २० वर्ष भन्दा तललाई हल बाँधिन वर्जित गरिएको छ । त्यसो त उमेर कच्चो भए पनि न्यायाधीशको शरण पर्ने हो भने मरण हुँदैन, पति पत्नी पक्को भइन्छ । हार जितको कुरा छुट्टै हो, तर विज्ञानले वर्जित गरेको कुरा नेपालमा चल्दै चल्दैन । छतौराको पर्यायवाची शब्द फतौरा एकार्काका पूरक हुन् । छतौरा छन् फतौरा छन्, छतौरा छैनन् फतौरा छैनन् । समाज सुनसान । छतौरा विनाको समाज के समाज । छतौरा–छतौरी, फतौरा–फतौरीबिनाको समाज अलिनुमात्र होइन बिलिनु नै हुन्छ ।

ख्याल गर्नु भा छ ! जति उमेर छिप्पिन्छ उति छतौराको फुर्तिमा ह्रास आउँछ । उमेर छिप्पिएको कारण हाम्रा अभिन्न सांसदहरू छतौरा बन्नबाट बञ्चित भए । फलतः प्राय फतौरे भएर काल पर्खन बाध्य छन् । फतौराको मान, प्रतिष्ठा, इज्जत, छतौरासँग गाँसिएको हुन्छ । छतौरालाई कुटे फतौरालाई चोट लाग्छ । छतौराले खाए फतौरालाई भोक लाग्छ । साँच्चै भनुँ भने छतौरा र छतौरीले न्वारानको बलबुता खर्च गरेर सृष्टि चलाएका छन् । त्यसैले नै यी एक रथका दुई पाङ्ग्रा हुन् । यिनको अभावमा सृष्टि चलाउन कसैको बावुको केही लाग्दैन । मानू सृजनामा ठप्प बिर्को लाग्छ । एक हातले ताली कहाँ बज्छ ? सारा ब्रह्माण्डमा खडेरीको विगविगी, छतौरा वा छतौरी को विनास, हराभरा, सदाबहार, सारा संसार स्वाहा हुन्छ यिनको अभावमा ।

छोटो समयावधिमा पशुहरू छतौरा तुलिन्छन् । तापनि कसैले कसैप्रति रिसराग नराखी स्वर्ग जान्छन् । कति बुद्धिमानी ? तर मान्छेहरू स्वर्ग जानु पर्दैन झैँ गरेर दायाँकालाई पनि डस्छन््, बाँयाकालाई पनि डस्छन्, अगाडिकालाई पनि डस्छन्, पछाडिकालाई पनि डस्छन् र आनन्दले बस्छन् । आफू मरे डुमै राजा । अर्काको सारो गारोमा काखी बजाएर नाच्ने बदनियतार्जन धन साँच्ने आदि विलासिताको कारण छतौराले मत्र्यमण्डलको भौतिक ऐसआराम, हिंसा, आतङ्कमा आफ्नो विजय प्राप्तिलाई नै स्वर्ग ठान्छ । कि कसो ? हुन त ढिलो चाँडाको कुरा हो । मूर्ख पशु पुगेको विवादरहित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र ‘स्वर्ग’ अर्थात् यमलोकमा जस्तै घमण्डी फतौराले पनि एक दिन कसो पाइला नटेक्ला हौं गाँठे । घोकन्ती विद्या धावन्ती खेती पशु हिँडेको बाटो हामीले पनि त हिँड्नुपर्छ ।

‘लाऊँलाऊँ खाऊँखाऊँ’ भन्ने अवस्थाका छतौराबाट राष्ट्र अर्थात् देश ऊर्जाको प्यासी छ । राष्ट्रिय अन्तर्राष्ट्रिय मामलामा हाम्रो नैतिकता दासी छ । त्यसैले नेपालमा कृषि प्रधानताको थुप्रो धनराशि छ । बँचाइको सङ्कटमा पनि छतौराहरू फतौरा बनेर मातृभूमिलाई ठा–ठाडै लोप्पा खुवाउँछन् । मर्यादित अधिकारीहरू सुरी र च्योई च्योईझैं लडेका छन् । सोझा निरीह हैरान । एकादशी, औँसी कुनै बर्दाना छैन । सिनामा चुच्चो गाडेका छन्, लडेका छन् । पितुर्केहरू ढाडिन नपाए रुन्छन् । बुझीबुझी बुझ पचाएको सायद यही हुनु पर्छ ।

खूवीको कुरा गर्ने हो भने छतौराको बुद्धि अलिक फितलो हुन्छ भने बूढाखाडा तरान निख्रिएर हैरान परिराखेका हुन्छन् । छतौराहरू सदा सक्नेले नसक्नेलाई झम्टिन रुचाउँछन् । चित्त नबुझे खेतालै खोजेर कुटाउँछन् । नयाँ र पुरानाको तालमेल मिल्दैन । एउटाले ओगटेको थलो अर्कोले ओगट्न नपाए नङ्ग्रा निकालेर गर्जिदै भन्छन् ‘बूढो गोरु मर्ला ठाउँ खाली होला र गजधम्म तालले विराजमान हौंला’ बदलामा उहिलेका छतौरा अहिलेका छतौरालाई धारे हात पार्दै भन्छन् ‘फक्लक्क ! बावु मरे घ्यू भात खान्थिस् ?, आफ्नो लगौँटी ततेर्न नसक्ने छतौराले अर्काको धोती समेट्ला’ ?, त्यसो त ‘बाहुनले च्याउ खाओस् न भेउ पाओस्’ अर्थात् छतौराले लगौंटी लगाओस् न धोती समेटोस् ।

पुराना छतौरा र आधुनिक छतौरामा आकाश जमिनको फरक हुन्छ । पुराना छतौराहरू ऊ वेला शुद्ध खुराक खाएको घमण्डले आक्रान्त छन् भने नयाँ छतौराहरू मिसावटले भरपूर ऊर्जा धोकेर शरीरको पार्टपूर्जा खुकुलो बनाउँदै पिठियूँमा पराइलाई बोकेर नेपाली हुन रुचाउँछन् भने पराइले पनि आफ्नो अनुकूलमा सुताउँछन्, उठाउँछन् । यावत् दिनचर्या वर्तमान नेपालको मूलकडी हो भने ठाउँ र स्वभाव विशेषको कारण घटीबढी हुनु स्वाभाविकै हो । अनर्थ नमान्दा नै आनन्द हुन्छ ।

उहिले वा पहिले छतौरीेले कपाल काटे ठुटिन्थे तर अब कपाल काटेपछि ठिटिन्छन् । उहिले शरीर नङ्ग्याउँदा फतौरी हुन्थे, तर आज अङ्गप्रदर्शन गर्दा छतौरी ठानिन्छन् । पुराना छतौरा परोपकारमा जोड दिन्थे भने आजका छतौरा स्वोपकारमा निर्लिप्त छन् । त्यसैले भन्न तथा मान्न कर लाग्छ समयको प्रवाहसँगै छतौरा छतौरीले पनि काँचुली फेरेका छन् । समयको गतिभन्दा निकै लामो फड्को मार्न सफल भएका छन् । फलत ः छतौरा छतौरीको काँचुली फेराइ र फड्को मराइको विकराल फरक रूप देखेर हाँसो र रोदनको दोसाँधमा मातृभूमिको आँखा सँधै टिलपिलाई रहन्छ ।

फुलबारी, पोखरा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
थाङ्ने चिन्तन

थाङ्ने चिन्तन

शेषराज भट्टराई
साँढे स्वास्नी

साँढे स्वास्नी

शेषराज भट्टराई
किन चाउरिस् मरीच ? आफ्नै रागले !

किन चाउरिस् मरीच ?...

शेषराज भट्टराई
घाँटी 

घाँटी 

शेषराज भट्टराई
चोर, ढाँट र ठग

चोर, ढाँट र ठग

शेषराज भट्टराई