सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

डाक्टर सा’पहरू साहित्यको शल्यक्रियामा !

Nepal Telecom ad

हुन त डाक्टर भनेको विद्यावारिधि उपाधि पाएको व्यक्ति नै हो । कुन्नि कुन संयोगले हो स्नातक तह मात्रै उत्तीर्ण गरेका चिकित्सकहरूलाई पनि डाक्टर भन्न थालियो । गाउँघरतिर अस्पतालमा काम गर्ने जोसुकैलाई पनि ‘डाक्टर सा’प नमस्कार !’ भन्थे । हाम्रो गाउँका पाटने कान्छा दाइ गाउँभरिकै डाक्टर थिए । पढेरभन्दा परेर जानेका डाक्टर ! तिनले छोइदिएपछि कतिपय बिरामीको रोग त्यत्तिकै टाप कस्थ्यो ! उनलाई छोडेर अस्पतालका डाक्टरलाई बोलाउँदैनथे । हात पिउरीजत्तिकै नरम थियो । तिनले लाएको सुईले पनि बिझाउँदैनथ्यो । उनको बोलीको विनम्रता त अवर्णनीय नै छ ।

अस्पतालहरू धेरै छन् । एउटा साहित्य नाम गरेको बिरामी डाक्टरको खोजी गर्दै भक्तपुर पुगेछ । सानोठिमी भक्तपुर । उच्च माध्यमिक शिक्षा परिषद् लेखेको रहेछ । उच्चलाई देखेपछि हामी जस्ता फुच्चा र निच्चाहरू त्यसै पनि ङिच्च परिहाल्छौँ । अस्पताल खोज्दै भौँतारिएका ‘साहित्यप्रसाद नेपाली’ त्यसै परिषद्को ढोकामा पुगेछन् । उनलाई उच्च परिषद्को ढोके पनि उच्च नै हुन्छ भन्ने लागेछ क्यारे ! द्वारपाल, क्षेत्रपाल आदि पूज्य पात्र पनि हुन् । अष्टावक्र शैलीमा तिनलाई प्रणाम गर्दै साहित्यले सोधेछन्–“दाज्यू, भक्तपुरतिर राम्रो अस्पताल कहाँ होला ? मलाई त्यहाँ भर्ना हुनु छ ।”

द्वारपालले भनेछन् । अस्पताल किन गइरहनुहुन्छ ? डाक्टर सा’पहरू यहीँ आउनुहुन्छ । उहाँहरूलाई जँचाए भइहाल्छ नि ! म भनिदिउँला । नभन्दै डाक्टर सा’पहरू आउनुभएछ । द्वारपालको सौजन्यमा साहित्यप्रसाद जँचाउन गए । डाक्टर सा’पले नाम सोधे–तपाईंको बोलाउने नाउँ के हो ? साहित्यप्रसादले भने– न्वारनको नाउँ चाहिँ साहित्यप्रसाद नै हो । हाम्रा बा हृदयचन्द्रले चाहिँ ‘एक चिहान’ भन्ने नाउँ राखिदिनु भा’छ । मलाई यसै नाउँले चिन्छन् । नेपालभरिकाले चिन्छन्, हृदयचन्द्रको छोरा भनेर । हाम्रा बा भगवान् नृसिंहजस्तै हुनुहुन्थ्यो । साहित्य भनेपछि हुरुक्कै हुने । मेरी दिदीको नाउँ भाषा हो । मेरी दिदीको स्याहार गर्दा उहाँलाई असाध्यै सन्तोष हुन्थ्यो अरे ! म, मेरो दाइ व्याकरणनाथ, र दिदी भाषा हामी तीन जना उहाँका सन्तानहरू ! हाम्रै लागि भनेर हाम्रो बाले जीवन अर्पण गर्नुभएको हो । बिरामी बरबराउँदै थियो । डाक्टर सा’पलाई हतारो भएकाले बाँकी कुरा सुन्नै खोजेनन् । ‘एक चिहान’जी, हामीले तपाईंलाई चिनिसकेका छौँ । नेपालभरिका अरूले चिन्ने, हामीले चाहिँ नचिन्ने कुरै आएन । तपाईंको शल्यक्रिया गर्नुपर्ने अवस्था छ । बरु भन्नुहोस्, तपाईंका अभिभावक को हुन् ? साहित्यप्रसाद अर्थात् ‘एक चिहान’ले विनम्र भावमा बिन्ती बिसाएछन्, बाबा स्वर्गे हुनुभइहाल्नुभयो । ललितपुरको पुलचोकमा बाबाकै सहोदर बहिनी साझाकुमारी प्रकाशन हुनुहुन्छ । उहाँ नै हुनुहुन्छ मेरी अभिभाविका ।

अभिभाविकाले डाक्टरको योग्यता नै नजाँचीकन अनुमति दिइछन् । हुन्छ, भइहाल्छ नि ! उनको के जान्थ्यो ? त्यस्ता जाबा भदाहा अरू पनि छँदै थिए । नामै त ‘एक चिहान’ । चिहानमै गए पनि जाओस् । त्यस्तीलाई पनि फुपू भन्नु ? डाक्टर सा’पहरू त्रिभुवन विश्वविद्यालय केन्द्रीय नेपाली शिक्षण समितिका हुनुहुँदो रहेछ । जहाँ पनि परीक्षण गर्दै हिँड्ने उहाँहरूको परम्परागत बानी । थाल्नुभएछ, शल्यक्रिया गर्न । ‘अपरेसन थिएटर’बाट निस्किएका एक जना डाक्टर सा’पले फुपू चाहिँलाई सोधेछन्–तपाईंको भदाहाको मुटु, कलेजो र फोक्सो काटेर छोटो बनाउनुपर्ने भयो । तपाईंको भनाइ के छ ? फुपूले मुसुक्क मुस्काउँदै भनिछन्–काट्ने मात्रै होइन । झिक्नै परे पनि म केही भन्दिनँ । नभन्दै ‘एक चिहान’को शल्यक्रिया भयो । साँच्चैको ‘एक चिहान’ भयो । बल्ल उसको नाउँ सार्थक भयो ! ठाक्टर साहेबहरूले हृदयचन्द्र सिंह प्रधानको ‘एक चिहान’ उपन्यासलाई काटकुट पारेर सङ्क्षिप्त बनाई कक्षा ११÷१२ का विद्यार्थीलाई पढ्न लगाएका छन् । पाठक महोदयहरू, तपाईंहरूलाई कस्तो लाग्यो त ?
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
म प्रज्ञापति !

म प्रज्ञापति !

गाउँले बलदेव