मेरो वेद तिमी नलेख त्यसरी आफै म लेख्छु अब
के मेरो हित हो कहाँ कसरी हो आफै म देख्छु अब
आफै टेक्छु म पाइला रहरका आफ्नै ठम्याई जिमी
बाटोमा अवरोध बन्न यसरी फेरी नआऊ तिमी ।

तिम्रा वेद तिमीसँगै रहिरहुन् आफू तिमी नै पढ
केही छन् चुचुरा भने रहरका तिम्रा तिमी नै चढ
मेरो जो छ हिमाल जीवन दिने चुम्छन् जहाँ निर्झर
मेरो वेद म लेख्छु रे समयमा खोपी नयाँ अक्षर ।

यत्रा दूध र सूनका नदनदी जन्माउने मातर
जसको नित्य ऋणी रहन्छ भवमा सातै महासागर
मेरो वेद हिमाल बन्नु छ भने तिम्रा कुवामा किन
गाग्रो बोकी म आउने भन त्यही दुर्गन्ध पानी लिन ?

काठमाडौं