हिजो आज यो लखरठ्याक विचित्रका दृश्यहरू देखिरहेको छ । कल्पना भन्दा बाहिरका यस्ता दृश्यहरूले म आश्चर्य चकित छु । दुई चार घण्टा मात्र पेट्रोलको अभाव हुनासाथ सरकारको विरोधमा नारा उराल्दै जुलुस निकाल्ने मानिसहरू हैन कता लागे यो बेला ? दुइ पाइला पनि हिँड्न बिर्सिसकेका शहरियाहरू घन्टौँको पैदल यात्रा तय गर्दै कार्यथलोमा पुगिरहेका छन् । फाट्फुट चल्ने गरेका मोटरबाइक र निजी सवारी साधनहरू अलपत्र परेका अशक्त र बुढाबुढी यात्रुहरूलाई लिफ्ट दिएर गन्तव्यसम्म पुर्याउन आतुर देखिन्छन् । नेपाली ग्रामीण जनजीवनमा समेत अड्डा जमाई सकेको ग्यासको सिलिण्डर रित्तै भएको आज दुई महिना नाघिसक्यो । चुल्ढुङ्गा, धुवाँ पुत्ताउने घरेलु चुलो र भुसे चुलोबाटै नेपालीले दसैँ बिदा गरिसके । तिहार र छठ पनि यसै गरी बिदा गर्ने सुरसारमा छन् । यस्तो दृश्य देखेर म तिन छक्क परेको छु । यस्तो सदबुद्धि, सहनशीलता र धैर्यता नेपाली जनमा एकाएक कसरी आयो हँ ? कमलादीदेखि कलङ्कीसम्मको पैदल यात्रा तय गरी घर आइ पुगेको यो लखरठ्याक एकछिन सुस्तायो र निधारमा सत्र गाँठा पार्दै सोच्न थाल्यो । सोच्दा सोच्दा मनैमन के निष्कर्षमा पुग्यो भने नेपालीहरूमा यस्तो अभूतपूर्व सद्बुद्धि प्रदान गर्ने त भारतका भाग्यविधाता मोदीजी पो रहेछन् । उनै मोदीको कृपाले नेपालमा अहिले जो नाकाबन्दी कायम छ । नाकाबन्दीका कारण जस्तोसुकै कष्ट बेहोर्नु परे पनि नेपालवासीहरू हँशमुख छन् । बरु हामीहरूमा यसले अदम्य राष्ट्रवादी सोच, धैर्यशील चिन्तन र आपसी सहयोग सद्भावको अतुलनीय भाव सञ्चार गरिदिएको छ ।

शतस जय होस मोदी महोदयको । जसको एक चुड्की नाकाबन्दीले नेपाल आज ठप्प छ । संसारभरिका मानिसहरू मोदीलाई धारे हात लगाएर गाली गरिरहेका छन् । यो लखरठ्याक भने ताली बजाउँदै उनको प्रशंसामा यो विरुदावली लेख्न कम्बर कसेर लागेको छ । किनभने यस्तो अद्भूत राष्ट्रिय एकता नेपालको इतिहासमा न हिजो देखिएको थियो न त भोलि नै देखिने वाला छ । एकले अर्कालाई समाप्तै पार्ने गरी आपसमा वर्षौ जुधेकाहरू अहिले काँधमा काँध मिलाएर एउटै जुवामा नारिएका छन् । यस्तो अपूर्व दृश्य यस अघि कहिल्यै देखिएको थिएन । एक्लाएक्लै आपसमै लडिरहेको अवसर पारेर देशी विदेशी हलीहरूले जोत्नुसम्म जोतेका थिए । आफ्नो खेत र बारी बाँझै राखेर अर्काकै खेत जोत्नु परेको कालो यथार्थ ज्युँका त्युँ थियो । यस्तो घनघोर यथार्थबाट अचानक ह्वात्तै बाहिर निकाल्ने काम गरेको छ मोदीजीको यो नाकाबन्दीले । त्यसकारण यो लखरठ्याक कर जोरी ती कृपालु महाराज मोदी महोदयसँग बिन्ती बिसाउँछ– प्रभु, कृपा गरेर यो नाकाबन्दी अझै केही महिनामात्र होइन केही वर्षसम्म तन्काइ बक्सियोस् ।

सुन फल्ने देश सधैँ नुनका निम्ति भारतकै मुख ताक्नु परेको, उहिलेदेखि अहिलेसम्म हेपिनु परेको, आफ्नै बल बर्गत र बुतामा कहिल्यै उभिन नसकेको हरितन्नम देशका नागरिक र नेताहरूको चेत खुलेको छ मोदीजीको यस पुनित कृपाले । उनको कृपापूर्वक नाकाबन्दी आरम्भ भएको भोलिपल्टैदेखि देखिन थालेको असरदार प्रभावले नेपाली मानसिकतामा रहेको परनिर्भर प्रवृत्तिलाई गज्जबसँग सिस्नुपानी लाइदिएको छ । स्वतन्त्रता र स्वाभिमान अनि आत्मनिर्भर हुनु किन आवश्यक रहेछ भन्ने कुराको ‘एहसास’ भएको छ सबका सब नेपालीलाई । क्याबात ऋषिमनका कुरा गर्ने मोदीजी क्याबात ! अब मेरा पाउ ओरिपरी झुम्मिन नआऊ भन्ने सन्देश हाम्रा अगुवा र दिग्गजहरूलाई दिएर नेपालीहरूलाई ठूलो गुन लगाए बापत लखरठ्याक गदगद भएको छ । ग्यास, पेट्रोल, नुन, कपडा र खाध्यान्नमा समेत भारतकै एकाधिकार व्यापार गरिरहेको नेपाल जबरजस्त विकल्प खोज्न बाध्य भएको छ । यो चानचुने उपलब्धी होइन महोदय । दायाँतर्फको छिमेकीले घात ग¥यो भन्दै बायाँ तर्फको छिमेकी गुहार्न पुगेको छ नेपाल अहिले । तत्काललाई केही राहत भए पनि यो देशको सुदीर्घ जीवनका लागि आफ्नै पौरखले आफ्नै जमिन खोतल्नु आवश्यक छ । यहीँ छ धेरै कुरा । यस्तो सोच प्रदीप्त भएर उज्यालो र छ्याङ्ग हुँदै उठ्न थालेको छ आजभोलि । यस्तो दीव्य ज्ञान प्राप्त गरेका छौँ हामीले । यो ज्ञानगुठुरीका लागि यो लखरठ्याक मोदी महोदयप्रति कोटि कोटी नमन गर्दछ, प्रणाम गर्दछ ।

मोदी महोदय, नाकाबन्दीको निहुँ बनेका तिम्रा सहोदर तर हाम्रै दाजुभाइप्रति तिम्रो अपार प्रेमको पनि प्रशंसा नगरी कहाँ बस्न सकिन्छ र ! दसगजामा उनीहरूको सुखद उपस्थितिले मोदी महोदयलाई पनि अपार सुखानीभूति भइरहेको होला । तम्बु उठाएर कथम्कदाचित उनीहरू हिँडिहाले भने पनि अर्को कुनै निहुँ बनाएर यो नाकाबन्दीलाई जारी राखि दिए देशभक्त र स्वाभिमानी लठुवा नेपालीहरू कृतज्ञ हुनेछन्, जन्म जन्मान्तरसम्म, पुस्तौँ पुस्तासम्म । अब भने मासु खान आफै खसी पाल्नेछौँ । हरेक दिन सयौँ ट्रक केरा पैठारी गर्न पनि जरुरी हुने छैन, हामी हाम्रै बारी बुकुरामा फलाएर ताजाताजै खाने छौँ । कास्मिरको फसलले भारत कहाँ धानिएको छ र ? हिमाली काखमा हामीले फलाएका स्याउ, सुन्तला, मौसम ट्रकका ट्रक त्यता त्यता निकासी गरिदिउँला । अपार जलसम्पदा भएको यो देशमा उर्जा उत्पादन गरेर प्रयोग गर्नेछौँ । तिमीलाई खाँचो परे हामी छिमेकीका नाताले नाफा धेरै नराखीकन उपलब्ध गराउँला । तेलभण्डारको खोजी गरुँला, ग्यास निकालुँला, पहरा पहरा गालेर फलामको धाउ चलाउँला । आँखा नगाड, हाम्रा डाँडाकाँडाहरूमा, बहुमूल्य पत्थरहरू निकालेर हामी सोझै विश्व बजारमा पु¥याउँला । हामी त तिम्रो नजिकका छिमेकी हौँ, तिम्रो देशका अगणित गरीब दुखी र बेरोजगारहरूलाई यतै रोजगारको व्यवस्था गरुँला तर नागरिकताको आश चाहिँ नगर्नु है त्यो बेला पनि । यस्तो दूरदर्शी सपना देख्न थालेका छौँ हामी लठुवा नेपालीहरू । धन्यधन्य छ यस्तो स्वप्नद्रष्टाका नायक मोदी महोदय, तिमीलाई मुरीमुरी धन्यवाद छ ।

पैदल यात्राले थकित र क्लान्त भएको यो लखरठ्याक सोच्दा सोच्दै यसो झकाउन के थालेको थियो भुसे चुलोको एक गजुल्टो धुवाँ मडारिँदै आएर नाकबाट भित्र छिरेछ । हाच्छ्युँ गर्दा त मुखबाट फुत्त निस्केछ– जय होस् मोदी महोदयको । जय जय होस् !

कलङ्की, काठमाडौं