१.चीन, चिन्ता र चिता
पेट दुख्यो ? मन दुख्यो ? भोक लाग्यो ? जे हुँदा पनि एक मात्र औषधी हो– चीन । उहिले गाउँदेखि सहरसम्म सर्वरोग निवारक औषधी जताततै पाइन्थ्यो । जादू चटक देखाउँदै त्यस्ता औषधी बेच्दै जस्तोसुकै रोग निको पार्छ भन्थे । त्यस्ता फुटपाथे डाक्टर र औषधी प्राय भारतबाट आउँथे । त्यसबेला औषधी बेच्थे, अहिले औषधी भने पुग्छ— चीन ।

हराएको चलन अब जागेको छ, सर्वरोग निवारक औषधीका रूपमा ‘चीन’ आएको छ । पेट्रोल डिजेल अभाव भो ? ग्यास छैन ? अत्यावश्यक वस्तु नपाएर सास्ती भो ? अभावका यस्ता जति रोग छन्, ती सबैको एकमात्र उपचार हो— चीन । अस्पतालमा औषधी छैन ? अक्सिजन छैन ? ‘चीन’ जपेर बस्नुस्, सन्तोष हुन्छ । सन्तोष भन्दा प्रभावकारी औषधी अरू केही हुन्छ र ?

तर, अहिलेसम्म चीन नामक औषधी र उहिलेको सर्वरोग निवारक औषधीमा खासै फरक देखिएन । जसरी ती औषधीले काम गर्थेनन्, त्यसैगरी ‘चिन’ले काम गरेको छैन । ग्यास, पेट्रोल आएको छैन, औषधी आएको छैन, केही पाइएको छैन । सिर्फ नाम जप्नमै सीमित छ । चीन नामको औषधीले काम गर्छ कि गर्दैन ? यो चिन्ताले नै नेपालीलाई चितामा नै र्पुयाउला जस्तो भइसक्यो ।

२. दाम अनुसार ठाम

विश्वमा सबैभन्दा धनी नेपाली हुन् । हजुर, नेपाली ! विश्वको सबैभन्दा महंगो पेट्रोल र डिजेल किन्न सक्छन् नेपालीले । विश्वमै सबैभन्दा महंगो जनप्रतिनिधि पद किन्न सक्छन् नेपालीले । नेपालीसँग लक्ष्मीको अभाव छैन, तर, लक्ष्मी कस्तो हुनुपर्छ ? राज्यलक्ष्मीजस्तो हुनुपर्छ ! जति पनि खर्च गर्न सक्ने । राज्यलक्ष्मीले करोडौँ दाम हालेर सभासद पद किनिछन् । यी लक्ष्मी कति इमानी भने किनेकालाई किनेको भनेर स्वीकारिन् ।

आम्मै, यस्ता इमानी अहिलेको जुगमा कहाँ पाइन्छन् ? गाईभैँसी पाल्नेले यति दूध आफूलाई, यति बेच्नलाई भनेर योजना बनाएका हुन्छन् । पार्टीहरूले पनि यति पद आफैँलाई, यति पद बेच्नलाई भनेर योजना बनाएका हुँदा रैछन् । पार्टीहरूले यस्तो योजना सार्वजनिक रूपमै बताए कसो होला ? मालामाल बन्छन् ! अब एमालेले, ‘हो, हाम्ले सभासद पद बेच्या हो’ भन्न पर्यो, त्यसपछि पद किन्नेको घुइँचो लाग्नेछ । ‘जसले दिन्छ धेरै दाम, उसले पाउँछ राम्रो ठाम’ भन्ने नारा दिने पार्टीलाई कहिल्यै आर्थिक अभाव हुने छैन ।

हुन त जनप्रतिनिधि र धनप्रतिनिधिमा केही फरक हुन्छ तर अरुले फरक देख्दैमा हुन्छ ? संविधान—कानुनले फरक देख्दैन । खासमा जनप्रतिनिधि र धनप्रतिनिधिमा के फरक हुन्छ ? जनप्रतिनिधिले पद बेच्छन्, धनप्रतिनिधिले पद किन्छन् ! यसरी बेच्दा ‘दाम अनुसारको ठाम’ दिनु नै इमानदारी हो ।

३. नेता र नातागोता

‘नचिनेको मान्छे भन्दा चिनेको नै काम लाग्छ, चिनेको भन्दा पनि किनेको नै काम लाग्छ...’ बुद्धवीर लामाले गजब गीत लेखेका छन् । तर, काम लाग्ने सबैभन्दा नातागोता हो भन्ने उनले बुझेनछन् । नातागोताको महात्म्य कति छ भन्ने बुझ्न राजनीति हेर्नुपर्छ, नेता हेर्नुपर्छ, नेताको वरिपरि हेर्नुपर्छ, नेताका अगुवापछुवा हेर्नुपर्छ । यति हेरेर मात्र नाता महात्म्य बुझिएन ? ठूलाठूला पद हेरे कुरो बुझिन्छ । कांग्रेस पार्टी हेरेर मात्र नाता महात्म्य बुझिएन ? कम्युनिष्ट पार्टी हेरे हुन्छ । विचारभन्दा नाताको सम्बन्ध पक्का हुन्छ । नातागोता अझ राम्रोसँग बुझ्न कर्मचारीतन्त्र हेर्नुपर्छ । नातागोताको विशाल संजालको अर्काे नाम कर्मचारीतन्त्र हो ।

एमाओवादी मन्त्रीहरूले नातागोतालाई पिए राख्न नपाउने रे ! अनि सभासदले चाहिँ राख्न पाउने ? प्राय सभासदका पिए सालासाली, भान्जाभान्जी हुन्छन् । श्रीमती सभासद, श्रीमान पिए हुन्छन् । भतिजाभतिजी पिए हुन्छन् । सरकारले सभासदलाई दिने पिए खर्चको अर्काे नाम ‘नातागोता खर्च’ हो । नातागोता महात्म्य छर्लङ्ग बुझ्न साना पार्टी हेर्नुपर्छ, त्यस्ता पार्टीका अध्यक्ष चुनाव हार्छन् अनि श्रीमती सभासद बन्छन् । अर्थात्, नेता र नातागोता नङमासु हुन् । नङ र मासुलाई एमाओवादीले छुट्याएर कति दिन छुट्टिन्छ ? हेरिरहनु होला, ढिलो चाँडो अवश्य जोडिन्छ ।

४. ‘चाँडै’लाई प्रतिबन्ध

बिहे कहिले गर्ने ? नाकावन्दी खुलेपछि ।
स्कुल कहिले लाग्छ ? नाकावन्दी खुलेपछि ।
हाम्रो भेटघाट कहिले हुन्छ ? नाकावन्दी खुलेपछि ।
मेरो ऋण तिर्ने होइन ? नाकावन्दीपछि तिरौँला ।
गाउँदेखि सहरसम्म नाकावन्दी संवाद व्याप्त छ ।
र, यस्ता संवादमा सबैभन्दा सोधिने प्रश्न हो— ‘नाकावन्दी कहिले खुल्छ ?’ यस्तै प्रश्न सत्तासीन एक नेतालाई संचारकर्मीले सोधेछन् । नेताको जवाफ आएछ– ‘चाँडै खुल्छ ।’

नेताको जवाफ सुनेर धेरै मानिस बेहोस भए । बेहोस भएकाहरूलाई अस्पताल पुर्याइयो । डाक्टरले नेताको जवाफ सुनेर किन बेहोस भएको भनेर सोधे । विरामीले भनेछन्— ‘यी नेताले चाँडै संविधान बन्छ भन्थे, सात वर्ष लाग्यो । अहिले चाँडै नाकावन्दी खुल्छ भन्दैछन्, नाकाबन्दी खुल्न पनि वर्षाैं लाग्ने बुझेर बेहोस भएछु ।’

‘चाँडै’ शब्द घातक ठहरिँदैछ, यो शब्दलाई केही समय प्रतिवन्ध लगाउन मिल्दैन ?

नेपाल, कार्तिक १९, २०७२