यसपालि दशैं कष्ट काटेर नै बित्यो । फुलपातकिा दिनसम्म रित्तो सिलिण्डर लिएर सडकमा लाइन लागियो । ग्यास पाइएन । प्रहरीका लाठीको चोट पाइयो । सरकारसँग जनताका लागि दिने उपहार जे थियो, त्यही दियो । तिहारमा पनि त्यही स्थिति दोहोरियो ।

सधैँ तिहारमा सेल रोटी पाक्थ्यो । यस वर्ष पाकेन । देउसी भैलो खेल्न आउनेहरू रमाइला लाग्थे । यसपालि उराठिला लागे । भट्ट्याएको पनि त्यति मनपरेन । नाकाबन्दी बारे कसैले केही भट्याएन । टोलमा बत्तीको चहलपहल पनि त्यति देखिएन ।

बल्ल बल्ल फेला परेर किनी ल्याएको बिजुली चुलो पनि कागतिहारका दिन बिग्रियो । काग आयो गयो । सयपत्रीको माला त उन्न सकिन्यो । कागले माला किन थाप्थ्यो ।

भान्छामा मोदीकै भेषमा गजधम्म रित्तो सिलिण्डर देख्दा कहिले हाँसो उठ्थ्यो जनताका लागि कठबाँसका लाठामा अनुदित भएको लोकतान्त्रिक सरकार संझेर थप हाँसो उठ्थ्यो । कतिसम्म हुतिहारा बन्नसक्दो रहेछ सरकार, छिः । सरकारले निरन्तर बन्चरो हानेको र जनताले अँगालोमा राखेर बल्लबल्ल सम्हालेको वटवृक्षजस्तै भएको छ देश । अँगेनातिर दृष्टि पुग्यो । श्रीमतीजी मेहनतसाथ लागि परेर अटेर आगो फक्दै हुनुहुन्थ्यो । पालो दिन पुगेँ । दाउरामा आगो फुक्न बिर्सिसकेका मुखले चोसो मिलाएर फु फु गर्दा इतिहाससँग ठट्टा गरेजस्ता लाग्थ्यो । ढुंग्रोको जोहो थिएन । मट्टी तेल त विस्मृतिमा उडिसकेको थियो । तिहारकै मुखमा त दाउरा पनि काँचो परेछ । फुक्दापुक्दै चिलाएर हात पुर्पुरोतिर पुग्यो । पुर्पुरोमा राष्टवादको टुटुल्को थियो । जनसरकारका प्रहरीले कठबाँसको लाठो बजारेर उमारेको टुटुल्को ।

दाउरा गिजिएर धुवाँ छोडिरहेको थियो । बल्ने सुरसार नै थिएन । माथिबाट कसैले च्याँट्ठिँदो स्वरमा भन्यो, के गरेको यस्तो ? आँखा पिरो भएर हेर्नै सकिएन । झल्याँस्स भएँ । आफ्ना त आँखाले पिरो थाहा पाउने फुर्सत पनि कतै छुटाएछन् । केही थाहै पाइएन ।

सानी छोरीले नजिकै उभिन आइपुगेर भनिन्, च्यूरा खाऊँ बाबा, नुनखुर्सानििसत च्युरा खाउँ । पिउने पानी छँदैछ । भाइलाई टिका लगाएर पनि यसपाली म च्युरा नै दिन्छु ।

त्यतै नजिकै बसेर होमवर्क गरिरहेको बालक छोराले लेख्दालेख्दैको पेन्सिल रोक्यो र दिदीतिर पिलिक्क हेर्दै भन्यो, ए तिहारमा पनि मलाई च्युरा दिने ? म त रुन्छु है । स्कुलमा सरको च्युरा, घरमा दिदीको च्युरा ।

सुनेर तनुजा छोरी हाँसी । दुई कक्षामा पढ्ने बालक छोराको कुरा सुनेर म पनि रुन्चे हाँसो हाँसेँ ।

काठमाडौं