सिंहदरबारका महारथीहरू र लुसुनका पात्र
हिजोआज हाम्रा समाचार माध्यमहरू भारतेली नाकाबन्दीका कारण गुमराह बनेका नेपालका सत्तासीनहरूका लहरे खोकीजस्ता लयदार गुनासाहरूले भरिएका छन् । जानकारी फिंजाउने क्रममा समाचार माध्यमहरूले नेपाली जनताले भोग्नु परेका पीडाका मार्मिक कथाहरू पनि पस्केका छन् । नेपाली जनता देशभक्त छ । स्वाभिमानी छ । भारत सरकारद्वारा गरिएका यस मर्मभेदी प्रहारका स्थितिमा पनि नेपाली जनता हताश र निराश छैन । वजनदार विकल्पको खोजीमा गैंती बेल्चा बोकेर बाटो बनाउन अघि बढेको छ ।
नेपालका बर्तमान सत्तसीनहरू बाटो बनिहाल्ने पो हो कि विकल्प आइ नै पुग्ने हो कि भनेर नराम्ररी तर्सेका छन् र हतारिंदै अस्वीकृतिमा मुन्टो हल्लाउन थालेका छन् । म सडक पेटीमा उभिएर सिंहदरबारभित्र रहेका सनातनी चरणदासहरूका कहालिएका अनुहारहरूको टीठ लाग्दो दृश्यावली मनमनै अवलोकन गरिरहेको छु । स्थिति बडो दयनीय लागिरहेको छ ।
दयाका यस क्षणमा चीनका विख्यात साहित्यकार लुसुनको एउटा दृष्टान्तपरक निबन्धका पात्रहरू मेरा मनमस्तिष्कमा उभिन आइपुगेका छन् । ‘बुद्धिमान् मूर्ख र कमारो’ शीर्षक त्यस निबन्धको कमारो आफ्ना नियमित पीर मर्काका गुनासो सुनिदिने पात्रको खोजीमा हुन्छ । सन्जोगवस एक दिन एक जना बुद्धिमान् मानिस भेट्छ र गुनासो पोख्न थाल्छ । “हजुर, म त कीराभन्दा पनि गएगुज्रेको स्थितिमा छु । म बस्ने खोप्रोमा झ्याल त के एउटा खट्प्वाल पनि छैन । राम्ररी सास फेर्न पनि हावा पुग्दैन । गोरुलाई दिने दाना र मैले पाउने खाना उस्तै उस्तै हो । मालिकबाट मान्छेको जस्तो व्यवहारै पाएको छैन मैले । काम भनौं भने कोलमा नारेको गोरु जत्तिकै लगातार घुमेकोघुम्यै छु । राति एक प्रहर पनि सुत्न पाइँदैन । जिन्दगी यसै यत्तिकै यातनामै जाने भो । के गर्ने होला हजूर ?” कमाराको पीडाको गुनासो सनेर वुद्धिमान्ले गम्भीर हुँदै भन्छ, “पर्खन सक्नुपर्छ । सधैं यस्तै हुँदैन । राम्रो दिन पनि आउँछ ।”
केही दिनपछि कमाराले एक जना मूर्ख मान्छे भेट्छ । मनमा उकुसमुकुस छँदै थियो । गुनासो सुन्लाजस्तो अनुहार लागेर सुरु गर्छ, “हेर्नुस् न हजूर, मेरो त मासु नै खानेभो मेरो मालिकले । चौबीस घण्टा काममा लदाउँछ । गोरुलाई दिने ढुटोजस्तो खाना दिन्छ । कहिल्यै दयामायाको व्यवहार गर्दैन ।”
“कस्तो असत्ती रहेछ तिम्रो मालिक ! सत्यानास होस् त्यसको !!” कुरा सुन्दासुन्दै बीचैमा मूर्ख कराउँछ । मालिकले सुन्ला कि भनेर कमारो डराउँछ र चारैतिर हेर्दै भन्छ, “मेरो बस्ने ठाउँ कस्तो छ भने एक फिर्को बतास छिर्ने प्वाल पनि छैन । एउटा सानो झ्याल भइदिएको भए कति सित्तलसँग सुत्न पाइँदो हो । चारैतिर डामडुम छ !”
“ए त्यस्तो छ ? ल हिँड त हेरुँ !” मूर्ख जुरुक्क उठेर अघि लाग्छ । कमारो पछि लाग्छ । कमारोले पुगेर खोप्रो देखाएको मात्र हुन्छ मूर्खले एकातिरको गारो पकापक भत्काउन थाल्छ । कमारोको सातो उड्छ । आत्तिएर एकाएक चिच्याउँछ “गुहार गुहार डाँकाले मेरा खोप्रो भत्कायो !” गुहार सुनेर अरु कमाराहरू जुट्छन् । माक्कमुक्क पारेर मूर्खलाई लखेट्छन् । एक छिनपछि मालिक आइपुग्छ । विवरण सुन्छ । कमारालाई “धन्यवाद काले, बेलैमा कराइस् र खोप्रो जोगाइस्” भनेर हिंड्छ । त्यहाँ सवैभन्दा पछि आइपुग्ने व्यक्ति हुन्छ त्यही बुद्धिमान् । कमाराले भन्छ, “तपाइँले राम्रो दिन आउँछ भन्नुभएको थियो । आयो नि । हेर्नुस् अब त मेरो खोप्रामा पनि झ्याल छ ।” प्रशंसा सुनेर बुद्धिमान् मुसुक्क हाँस्छ । लुसुनका निबन्धमा रहेको कथासार यही हो ।
हाम्रो सिंहदरबारभित्र रहेका चरणदासहरूको स्थिति देख्दा अहिले यसै कमारोको सम्झना नआएर कसको सम्झना आउँछ र, हैन ? अनि अहिले यस स्थितिमा इन्धनको वैकल्पिक स्रोतको खोजीमा गैंती बेल्चा बोकेर सडक मर्मत गर्न निस्केका जनता देखेर कसको सम्झना आउँछ नि ? त्यसै मूर्खको ? हो, साहस र अग्रसरतालाई नै मूर्खता मान्ने हो भने नेपाली जनता मूर्ख पनि छन् । नेपालका सत्तासीनहरूको शरणागतिपरक भारतभक्ति र समर्पणभावको रहस्य नबुझी गैंती बेल्चा उठाएर विकल्पको बाटो खन्न तम्सने स्वाभिमानी नेपाली जनता सत्ता राजनीतिका दृष्टिले अपरिपक्व पनि हुन् । हाम्रा धेरैजसो बुद्धिजीवीहरू पनि लुसुनका निबन्धको पात्र वुद्धिमान् जस्तै निष्क्रियता र अवसरवादिताका सुन्दरतम तथा नमुना पात्रहरू नै सावित हुन सक्छन् । सक्दैनन् त ?
काठमाडौं