वार्ता र सहमति
मेरो बिचारमा नेपालीहरूले सबभन्दा बढी सुनेको र अहिले सम्म नबुझेको शब्द हो ।
हाम्रा राजनितिक दलका नेताहरू बिगत लामो समयदेखि हरेकदिन जसो बार्तामा बसे र अर्कोदिनको बार्ता कहाँ र कहिले गर्ने भन्ने निश्चित सहमति गरेर उठे । सहमति अनुसार नै तोकिएको ठाउँमा भेला भए र पुन वार्तामा बसे । वार्तामा हरेक दलका नेताहरूले हिजो अस्तिकै कुरा दोहोर्याए, तेहर्याए । टन्न खाए पिए र अर्कोदिन पुन वार्तामा बस्ने सहमति गरेर उठे ।
पहिलो वार्तापछि भने वार्ता सकारात्मक दिशातर्फ अघि बढिरहेको छ । दोस्रो वार्तापछि भने हामी सहमतिको एकदम नजिक पुगी सकेका छौं । र, वार्ताको तेस्रो एपिसोडमा आई पुगेर भने वार्ता गर्नुको कुनै औचित्य छैन ।
जब शीर्ष तहका नेताहरू थाके, पार्टीका दोस्रा तहका नेताहरू वार्तामा जुटे । जब उनीहरूको पनि रहर पुग्यो, पुन शीर्ष नेताहरू सलबलाए । तर आ–आफ्नो सुबिधा बृद्धि गर्ने र आफ्ना आफ्ना मान्छेहरूलाई कुन कुन ठाउँहरूमा अवसर दिने भन्ने बाहेक अन्य कुनै सहमति हुन सकेन ।
जब सत्तापक्ष र बिपक्षका विच लामो समयसम्म बार्ता भएन, दिल्ली र वासिङ्टनले दुबैसँग अलग अलग वार्ता गरे । र, वार्ताको परिणाम सत्तापक्ष र बिपक्ष वार्ताका लागि तयार भए । सर्बप्रथम वार्ताद्वारा वार्ताको विषय, स्थान र समय तय गरियो ।
सहमति अनुसार तोकिएकै ठाउँ र समयमा पुन वार्ता सुरु भयो । वार्तामा दुबैले आ आफ्ना पूर्ववत अडानहरू राखे । बिपक्षले भन्यो राज्य पुनर्संरचनामा आमूल परिबर्तनको खाँचो छ । सत्तापक्षले भन्यो हामीले प्राप्त उपलब्धिहरूको रक्षा गर्दै अघि बढ्नु पर्छ । हामी बिपक्षका अनुचित मागमा आँखा चिम्लेर समर्थन जनाउन सक्दैनौं, आवश्यक पर्छ भने बरु पुन वार्तामा बस्न तयार छौं ।
यसरी बिगत लामो समयदेखि सत्तापक्ष र बिपक्ष वार्ताको नाटक गरिरहेका छन् र हामी जनता लाचार भएर यो सबै टुलुटुलु हेरिरहेका छौं ।
हेटौंडा– ४, मकवानपुर