नेपालको शासन प्रशासनमा अघोषित र अनाम नयाँ विशेषण होइनन् । यसको यहाँ अघोषित परम्परा नै बनिसकेको यथार्थ जगजाहेर छ । ०७ सालदेखि हालसालसम्म नेपालका सत्तासीनहरूको भारतेली सत्तासीनहरूसँग अघोषित विशेप सम्बन्ध रहिआएको सुनिएकै हो । यसले बेला बेला अघोषित समस्याहरू पस्कँदै आएको पनि सुनिएको हो । नेपालमा संस्थागत सत्तासंस्कृति बनिआएको भ्रष्टाचार पनि अहिलेसम्म अघोषित नै छ । यहाँ कुनै मन्त्री प्रधानमन्त्री सचिव हाकिम नेता उपनेता सहनेता निमित्तनेता लगायत जस कसैले पनि घोषित भ्रष्टाचार गरेका छैनन् । यहाँ भ्रष्टाचार जति गरिका छन् सवै अघोषित नै गरिएका छन् ।

यहाँ सत्ताका गौंडा गल्छेडामा बसेका जसकसैले पनि घुस लिंदा कमिसन लिंदा अघोषित नै लिन्छन् । एक पटक एक जना दाह्रीवाल अर्थमन्त्रीले अघोषित कमिसनको प्रचलन हामीजस्ता आर्थिक गांैंडामा बसेर काम गर्ने जिम्मेवार व्यक्तिका लागि स्वाभाविक अधिकार हो भन्ने तर्क राखेको चर्चा चलेको थियो । पछि त्यो चर्चा क्रमशं अघोषित रुपमै हरायो । नेपालमा राम्रोसित चलेका छालाजुत्ता, कागत, धागो, कपडा लगायतका उद्योगहरूलाई प्राइभेटाइजेसनको पसलमा पु¥याएर बिक्री वितरण गर्ने नीति त दाह्रीवाल अथर््ाविज्ञ र अग्ला प्रधानमन्त्रीबीच सल्लाह भएरै प्रयोगमा आएको सुनिएको हो । यिनीहरूले त्यसबाट कमिसन कति हात पारे त्यो पक्ष भने पूर्णतः अघोषित नै रह्यो । धमिजाकाण्डदेखि लिएर हालका धर्मनिरपेक्षता तथा संघीयतासम्म जे जति काण्डहरू घटित भएका छन् घोषित रुपमा भएका छैनन् । जनतालाई पर्याप्त जानकारी दिएर भएका छैनन् । यिनका पछाडिका उपहार कमिसन भेटी बेठ बेगार के कति छन् अथवा छैनन्, सबै अघोषित नै छन् । कतै क्षेत्रीय र कतै जातीय विद्वेष र विखण्डनका चिन्तन अभियानका पछाडि कसले कसरी अर्थनिवेश गरेको छ र कुन कुन अभियन्ताले कति कति हात पारेका छन् अथवा छैनन् त्यो पनि घोषित छैन । यहाँ जनजीविनका विभिन्न क्षेत्रमा प्वाल पारेर विद्वेष, विखण्डन र विघटनका कीटाणुहरू भित्य्राउने आन्दोलन र अभियानहरू अघोषित प्रायोजन र अथर््निवेशमै चलिआएका छन् भनिन्छ । विवरण अघोषित नै छन्् ।

हामीकहाँ विगत अढाइ दशकबाट अघोषितको भयंकर घनचक्कर चलिआएको छ । युद्धस्तरमा चलिआएको छ । जनप्रतिनिधिहरूको क्रय विक्रय, मानव बेचविखन, बालबालिका र महिलाको ओसारपसार बिक्री, हिंसा, बलात्कार र यस लहरका सबै राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका आर्थिक व्यापारिक कारोवारहरू अघोषित चलिरहेका सुनिन्छन् । एमालेका सांसद गोल्छा, माओवादीका लारक्याल कांग्रेसका अमुक अमुक लागायत धेरै असान्दर्भिक सांसदहरू पार्टी तथा व्यक्तिका करकमलमा कति कति टक््रयाएर उदाउन पाए यी सवै तथ्यहरू अघोषित नै छन् । हरेक राजनीतिक दलमा डनहरू क्रियाशील छन् भनिन्छ । कुन कुन राजनीतिक दलमा सक्रिय डन कति छन्, ती को को हुन्, तिनीहरूले हफ्ताबारी महिनाबारी कति कति कमाउँछन्, दललाई कति दिन्छन् आफू कति राख्छन् यी क्रियाकलाप र गतिविधिहरू पनि अद्यावधि , अघोषित नै छन् । उदित र उदीयमान डनमध्ये कसले कुन दलबाट माननीय सांसद वा मन्त्री बन्ने बरदान पाउँछ, कसरी पाउँछ यी सवै कारोवारका कथा पनि अघोषित नै रहेका पाइन्छन् । बेला बेला प्रधानमन्त्री र गृहमन्त्रीका माध्यमबाट स्वास्थ्योपचार खर्चका नाममा राष्ट्रिय ढुकुटीको लाखौं कराडौं रुपया बाँडिने गरेको सुनिन्छ । त्यो त्यस्तो सहायता दिनेले कुन आधारमा दिएका छन् र लिने,पाउने व्यक्ति किन त्यतिसम्मको दीन हीन गरीब निमुखा भिक्षाजीवी बनेर हात थाप्न वाध्य बनेको छ यी दुवै विवरणहरू अघोषित नै रहने गरेका पाइन्छन् । राष्टिय ढुकुटी खर्चिनुको आधार पनि अघोषित रहनु चानचुने विकासको प्रतिमान होइन ।

यसै त हामीकहाँ चोरहरू पनि घोषित चोरी गर्दैनन् । हत्याराहरू घोषित हत्या गर्दैनन् । बलात्कारीहरू घोषित बलात्कार गर्दैनन् । कति चालकहरू अघोषित मद्यपान गरेर गाडी चलाउँछन् । अघोषित दुर्घटना घटाइदिन्छन् । कति यात्रुहरूको अघोषित मृत्यु भइदिन्छ । हामीकहाँ कालाबाजारी व्यापक छ, तर त्यो पनि अघोषित नै छ । पन्चायत कालदेखि हालसालससम्म लाखौं लाख विदेशीलाई अघोषित रुपमै वंशजको नागरिकता विक्री वितरण गरिएको चर्चा चुलिएको छ । भनिन्छ त्यसरी अघोषित नागरिकता लिनेहरू मन्त्री पनि भएका छन् । जागीर त कतिले खाए, कति खाँदैछन् त्यो खोजीको विषय बनेकै छैन । नक्कली नोट, नक्कली प्रमाण पत्र बेचबिखन गर्ने व्यक्ति कतै कोही पक्राउ परेका समाचार पढ्न सुन्न पाइन्छ । त्यो पनि तिनीहरूको घोषित कारोबार भएजस्तो लाग्दैन ।

कहिले त लाग्छ मुलुकमा अघोषित क्रियाकलापको भुमरी भुमरिएको छ । यहाँ जे छ अघोषित छ । हालै यही दशैं तिहारका सन्दर्भमा ग्यास पाउने आशााले कारखाना तथा डिपोअगाडि हप्तौंसम्म रित्ता सिलिण्डर लाइन लाएर प्रतीक्षा गरिरहेका जनतालाई बालाजुमा प्रहरीले पटक पटक निर्मम लाठीचार्ज गरेको देखियो । यसरी गरिएका लाठीचार्ज कुनै पनि घोषित थिएनन् ।

विगत झण्डै दुई महिनादेखि छिमेकी र रोटी बेटी सम्बन्धको महान् मित्रराष्ट भारतले भारत परिवेष्ठित नेपालमाथि युद्धस्तरको नाकाबन्दी चलाइआएको छ । गौरवको कुरा यो नाकाबन्दी पनि बिलकुल अघोषित छ । नेपाल र नेपालीलाई गर्नुसम्म माया गरिआएको भारतजस्तो अध्यात्मप्रधान मुलुकले नरेन्द्र भाइ मोदीजस्ता ऋषिमनका योगी व्यक्तित्व प्रधानमन्त्री क्रियाशील रहेका स्वर्णिम समय खण्डमा अघोषित नाकाबन्दी नगरे के गर्ने ? घोषित गर्ने ? घोषित त गर्नै पनि मिल्दैन । घोषित नाकाबन्दीको छिट्टै उपचार हुनसक्छ । त्यसभन्दा पनि घोषित नाकाबन्दी गर्दा नेपालका सत्तासीन पतिव्रताधर्मी नेता र हाकिम व्यक्तित्वहरूलाई शव्द उच्चरणको कठिनतम सम्स्या पर्न सक्छ । धर्मवीरहरूले परम्परापोषित खूद आफ्नै मुखबाट भारतको नाम लिएर नाकाबन्दीजस्तो कठोर र कठिन शव्द कसरी उच्चारण गर्ने ? जिभ्रो लटपटिएर ध्वनि योको त्यो भइदियो भने भोलि भारतलाई कसरी त्यो मुख देखाउने ? समस्या चानचुने छैन । रोटीबेटी, शिक्षा स्वास्थ्य कृपाकटाक्षका तमाम आशाआकांक्षामा तुषारापात हुनसक्ने सम्भावनाको समस्या चानचुने त हुनै सक्दैन । यसै भएर अहिलेसम्म नेपाल सरकारका माननीय मन्त्री सांसद सचिव कसैले पनि सम्बन्धित कुनै पनि अन्तर्राष्टिय निकायसमक्ष उभिएर छिमेकी मुलुक भारतले भूपरिवेष्ठित मुलुक नेपालमाथि अनधिकार नाकाबन्दी ग¥यो भनेको छैैन । भन्नसकेको छैन । बरु ग्यास माग्ने जनतामाथि निर्धक्कसँग अघोषित लाठीप्रहार गर्नसकेको छ । आफ्ना हितचिन्तक जनतामाथि अघोषित लाठीप्रहार गर्न सजिलो छ । भारतले अघोषित नाकाबन्दी गर्यो भन्न सजिलो छैन । अघोषित नाकाबन्दीसँग जोडेर भारतको नाम उच्चारण गर्न त झन् कसरी सकिनु ? सकिने कुरै देखिएन । आज नेपाल सरकारमा रहेकाहरूको मर्मको कुरा हो यो । सत्तासीन ठुलाबडाको मर्मवोध गर्ने क्षमता नभएका हामी र्सासाधारण जनताले बुझ्न सकिने कुरा यो होइन ।

हामीले कथा पुराण सुनेका आधारमा कति मात्र बुझ्न सकेका छौं भने पतिव्रता धर्ममा रहेकाहरू जतिसुकै कठिनाइ र पीडाका सन्दर्भमा पनि आफ्ना पतिपरमेश्वरको नाम उच्चरण गर्दैनन् । पतिपरमेश्वरले दिएका पीडालाई पनि सौभाग्यको वरदान ठान्छन् । सेवा, तितीक्षा र अद्वैतता उनीहरूको स्वभाव बनिसकेको हुन्छ । उदाहरणका लागि यस्तै सन्दर्भको एउटा सम्भावित सम्वादलाई लिउँ—
पुर्पुरोमा फुरौलाजत्रो टुटिलो देखेर कसैलाई कसैले सोेध्यो, “तपाइँलाई कसले कुट्यो हँ, जलजलाउँदो टुटिलो छ त !” ।
“होइन, यो कसैले होइन, केही होइन, उठ्यो, यो यस्तै हो ।”
“दुख्या छैन ?”
“छ, तर तर...”
“के तर ? कसले कुट्यो ? भन्नुस् न ।”
“नाम छैन, नाम भन्न मिल्दैन । नाम भन्दा धर्म जान्छ । अनि कुटेकै पनि कसरी भन्ने ? अँ टुटिलो चाहिँ उठ्यो । वहाँका हातको लट्ठी र मेरो आँखामाथि पुर्पुरोको अनायास भेट भएछ । यो घोषित होइन । यो फुरौलो पनि घोषित होइन । सवै अघोषित हो । तपाइँसँग अघोषित कुनै औषधि छ र ? हुन त औषधि पनि कसरी लाउनु ? औषधि लाएपछि सवै घटना घोषित भयो भने के गर्ने ? भै गो, यो कुरा यसरी नगरुँ । बरु एउटा श्लोक भनूँ—
(लय हालेर)
धीरा भै रहनू, विपत्ति सहनू कस्तै परोस् तापनि
कहिल्यै मोह विषे नपर्नु जनले संसार झुटो भनी ।

मैले सानैमा रामायणमा पढेको श्लोक हो यो । कुरा गरेपछि कुरैको सास्ती । कसैले बुझेर केही गरिदिन्छ भने त्यो उसको कुरा हो । म तोकेर केही भन्दिन । मरिगए पनि भन्दिनँ ।”

भन्नुहोस् यस्ता अघोषितहरूको अघोषित र अनाम अभियानमा घोषित र नामधारी कसले के गर्ने ?