उहाँ अर्थात् हेमन्तप्रसाद सुवेदी खरो मार्क्सवादी बुद्धिजीवी । उमेरले बाउन्न वसन्त पार गरिसकेका हेमन्त सर मार्क्सवादी दर्शनका कुशल व्याख्याता पनि हुनुहुन्छ । जिल्लामा पनि उहाँ स्थापित व्यक्तित्व, राजधानीतिरै हराएका वरिष्ठ नेताहरूसम्म उहाँको पहुँच राम्रै छ । आफू सम्बद्ध रहेको राजनीतिक दल सत्तामा पुगेका बेला राजनीतिक नियुक्ति पाएर पटकपटक विशिष्ट पदमा पुगिसक्नुभएको छ उहाँ । केन्द्रीय नेताहरूकै सिको गर्दै राजधानीमा उहाँले पनि सानोसानो महल उभ्याउनुभएको छ ।

अहिलेको लोकतन्त्र र अलि अगाडिको प्रजातन्त्र आउनुभन्दा अघि हेमन्तप्रसाद लामै समय भूमिगत राजनीतिमा सरिक हुनुहुन्थ्यो । भूमिगत काममा सक्रिय रहँदा क. मुक्ति, क. विज्ञान, क. विद्युत आदि नामले परिचित उहाँ एकजना कुशल राजनीतिक प्रशिक्षक । माक्र्सवादी दर्शन, राजनीति र फेर्नुपर्ने हाम्रा सांस्कृतिक आचारविचारबारे उहाँ घण्टौँ प्रवचन दिन सक्नुहुन्छ । धार्मिक मत–मान्यता र रुढिग्रस्त संस्कारका विपक्षमा विज्ञानसम्मत तर्कहरू दिँदै उहाँले दर्जनौँ प्रशिक्षण शिविरमार्फत हजारौँ कार्यकर्ताहरू प्रशिक्षित गरिसक्नुभएको छ । यता आएर त्यस किसिमका प्रशिक्षण शिविरहरू पातलिँदै गएकाले होला सामाजिक रुपान्तरणका लागि हाम्रो सांस्कृतिक चिन्तन फेरिनुपर्ने खरो विचार प्रस्तुत गर्दै हिजोआज उहाँ पत्रपत्रिकामा लेखहरू लेखिरहनुभएको छ ।

एकानब्बे वर्षको वयोवृद्ध वय पूरा गरी हेमन्त सरका पिताजीको भर्खरै देहान्त भयो । केही वर्षअघिदेखि नै पिताजी अलिक अस्वस्थ र अशक्त हुनुहुन्थ्यो । हेमन्त सरले पिताजीलाई काठमाडौँ ल्याएर महँगो नर्सिङहोममा राखी औषधि उपचार पनि गर्नुभएकै हो । तर अन्ततः उहाँ जानुभयो । गाउँमा पिताजी बितेको खबर पाएर हेमन्त सर घर पुग्नुभयो । उहाँ पुगेपछि मात्र शवयात्रा सुरु गरियो । शवयात्रा पूर्णतः परम्परागत हुने नै भयो । परम्पराअनुरुप नै वैदिक विधिअनुसार नजिकैको घाटमा दाहसंस्कार गरी मलामीहरू फर्किए ।

हेमन्त सरद्वारा प्रशिक्षित उहाँको एउटा चेलो रुपेश अहिले गाउँको हर्ताकर्ता र अगुवा भएको छ । हेमन्त सरबाट ग्रहण गरेको दार्शनिक शिक्षालाई व्यवहारमा ओराल्न ऊ निकै मेहनत पनि गरिरहेको छ । आफ्ना आदरणीय गुरुलाई हिजोआज त्यति बाक्लो भेट्न नपाए पनि अखबारमा निस्किएका उहाँका लेखहरू पढेर ऊ आफूलाई अझ परिमार्जित गर्ने बल गरिरहेको थियो । पिताजीको देहान्त भएको खबरपछि हेमन्त सर घरमा आउनुभएको थाहा पाएर रुपेश एकाविहानै त्यतै लाग्यो । उसले सोच्यो– गुरुप्रति समवेदना जाहेर गरिदिउँ र धर्मको आडमा चल्दैआएका ढोँगी संस्कार कसरी बदल्ने होला भन्ने व्यावहारिक विषयमा गुरुसँग छलफल पनि गरूँ ।

रुपेश हेमन्त सरको पुरानो घर पुग्दा ऊ आश्चर्यको भूमरीमा पर्यो । गुरुका पिता बित्नुभएको आज सातौँ दिन रहेछ । गोबरले सिनित्त लिपपोत गरिएको दलानमा बसेर गाउँका ज्ञवाली पण्डित गरुड पुराण वाचन गरिरहेका थिए । सेतो लगौँटी र सेतै छोपो ओढेर हेमन्त सरका चारैजना दाजुभाइ दलानको अर्को कुनामा चोखो राढीमाथि बसी पुराण सुन्नमा ध्यानमग्न थिए । कपालको नकोरेको झाँक्रोसँगै केही महिलाहरू उसै गरी बसिरहेका । सेतो फरिया बेरेकी हेमन्तकी आमा र अरु चाहिँ छोरी बुहारीहरू । पण्डितका अगाडि केही दुना–टपरी, फूल–अक्षता र घिउबाती असरट्ट । काजक्रियाको विधिविधानमा रौँ बराबर कुनै अन्तर परेको देखिन्नथ्यो । हेमन्त सर चाहिँ त्यो हूलमा देखिएका थिएनन् । रुपेशलाई लाग्यो हेमन्त सर फेरिए पनि उहाँले आफ्नो परिवारलाई भने त्यति फेर्न सक्नुभएको रहेनछ । रुपेश एउटा मुढा तानेर गाउँका अन्य पाका पुराना मानिसहरूसँगै सिकुवामा बस्यो ।

केहीबेरपछि नै अर्को एकजना मानिस हातमा पायसका तीनवटा डल्ला हालिएको टपरी हातमा लिएर भित्रको कोराबाट फुत्त बाहिर निस्कियो । खौरिएको कपालमा उस्तै सेतो छोपो, उस्तै सेतो लगौँटी, काँधमा सामान्यभन्दा निकै मोटो जनै, अरु सर्वाङ्ग नाङ्गो । त्यो मान्छे पिण्डको सर्दाम दलानको भित्तातिर जतनसँग राखेर राढीमा अरु क्रियापुत्रीसँगै बस्यो र पुराण सुन्नतिर ध्यान दिन थाल्यो । निकैबेरपछि मात्रै रुपेशले चिन्यो– त्यो मानिस त संस्कार मात्र हैन संसारै फेर्ने माक्र्सवादी दर्शनले आफूजस्ता हजारौँ कार्यकर्तालाई प्रशिक्षण दिने आफ्नै गुरु, कुशल प्रशिक्षक र एक समयका सक्रिय सङ्गठक क. विज्ञान अर्थात् हेमन्त सर नै हुनुहुँदो रहेछ । रुपेश अवाक बनेर एकोहोरो हेमन्त सरलाई टुलुटुलु हेरिरह्यो ।

कलङ्की, काठमाडाैं