सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

साईकल चढ्ने नेता

Nepal Telecom ad

भ्यात्ल्याक्क भुँडी फर्काएर, जुल्फी लर्काएर बेला जनता थर्काएर हिंड्ने यौटा नेताको छवि देखेर आजकल मेरो फिल्मको जोक्करको तिर्सना मेटिन्छ । हुन त यिनी कुनै बेला यौटी नायिकासँग नाचेपछि देशका नायक त त्यस्तै हुन् फिल्म सम्म थर्काएर नायक बन्न सक्छन् भन्ने लागेकै थियो तर यो नाकाबन्दीको बेला कता कति खलनायक शैलीको देख्दा चाहिँ उदेक लाग्छ ।

अघोषित नाकाबन्दी शुरु भएकै बेला तिनै महान् पार्टीका गौरवशाली नेताले भनेका थिए– अब साईकल चढिन्छ र बिस्तारवाद बिरुद्घ आन्दोलन छेडिन्छ … । वाह ! म जस्ता हजारौं सर्वसाधारण मख्ख थिए उनको राष्ट्रप्रेम देखेर । सुमार्गीलाई दरबार बनाउन लगाएर लाजिम्पाटमा अड्डा जमाएका उनी त्यतिबेला निकै जुँगामा ताउ लाउँदै हाउभाउका साथ बोलेका थिए । हुन पनि उनको जोशिलो भाषणमा दम थियो झैं लागेको थियो ।

बजारमा केही हजारदेखि लाखौंका साईकल पाइने रहेछन् । उनकै भनाइलाई शिरोपर गर्दै म पनि साईकल किन्न जान के टोपलेको थिएँ तिनै नेताको भाषा अनुसार त्यही विस्तारबादी देशको साईकल देखेर किनँु कि नकिनुम् बनाई हाल्यो । बरु खालि खुट्टा हिँड्नु परे पनि हिँडिन्छ तर झुकिन्न म यस्तै सोच्थें । खै यस्तो सोचलाई तपार्इंले मेरो अन्ध राष्ट्रियता भन्नुस् या तिनै जुल्फी हल्लाउने नेताको पिछलग्गु भन्नुस् तपाईंलाई नै यो जिम्मा छाडिदिएँ ।

एक दिन पैदल हिँड्दै गर्दा लाजिम्पाट महलको वरिपरि त्यै पनि सुमार्गी भेट भए । अलिकति स्विस बैंकमा राखेको डलर झारझुर पारेर दिइनै हाल्छन् कि भनेर हिँडेको थिएँ । छोरो मोरो म पनि जान्छु बा भनेर पछि लागि हाल्यो । लौ त नि हिँड राष्ट्रका महान् क्रान्तिकारी देख्न पाउँछस्, धन्य हुन्छस् भनेर छोरोलाई पनि अघि लगाएँ लाजिम्पाट जान । बाटोमा छोरोले तिनै नेताले भनेको साईकल चढ्ने प्रसङ्ग कोट्याउँदा छोराको पनि राष्ट्रप्रेम देखेर म निकै पुलकित भएँ ।

तर जब म लाजिम्पाट पुगेको थिएँ मात्रै, त्यो लाजिम्पाटले मेरो सोचाईमा सन्निपात गरिदियो अनि छोराले पनि भन्न थाल्यो विश्वासघात । जब हामी त्यहाँ पुगेका थियौं मात्र एकै छिन्मा अगाडि पछाडि आउरे बाउरेको गाडीको लस्कर लगाएर चिल्लो कार हाम्रै अगाडि भएर लाजिम्पाट महल अगाडि गएर रोकियो । जुँगामा ताउ लाउँदै ती नेता कारबाट फुत्रुक्क निस्किए । मेरो सानो आठ दश बर्षे छोरोले कानमा मलाई खुसुक्क सोध्यो– बा ! एक हप्ता अगाडि गाडी हैन हामी साईकल चढ्नु पर्छ अनि बिस्तारबाद र नाकाबन्दी बिरुद्घ लड्नु पर्छ भन्ने नेता यिनै हैनन् र ? यी नेता त यो धुँवा फाल्ने गाडीमा हिंड्या छन् नि त बा, कि यी अर्कै नेता हुन् ?… मलाई पो लाज लाग्न थाल्यो ।

मैले छोरालाई भनें– बाबु यो चार पाङ्ग्रे साईकल हो, आजकल यस्तै साईकल आएको छ, अझ आजकलको साईकल धुँवा फाल्ने आएका छन् । प्राय गरी यस्तो साईकल यो लाजिम्पाटको सुमार्गी भवनमा देख्न पाइन्छ । छोराले यसपछि प्रश्न ग¥यो– अनि नि बा, यो साईकल कस्ताले चढ्न मिल्छ ? मैले असमन्जसमा पर्दै भने– जसले ढाँट्दैन नि त्यस्ताले यस्तो धुँवा फाल्ने चारपाङ्ग्रे साईकल चढ्न पाइन्छ । त्यसपछि छोराले भन्यो– त्यसो भए त म पनि यी नेता जस्तै बन्छु बा, साईकल चढ्न पाइने भो । म निकै सकसका साथ ती नेताकोे घरमा ठडिएको पार्टीको झण्डा र पर क्षितिजको देशको चन्द्रसूर्य अङ्कित झण्डाको भिन्नता मनमनै केलाई रहेको थिएँ । तपाई चाहिँ के सोचिरहनु भएको नि ? जदौ !

बेशीसहर न.पा.– ७, लमजुङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad