पक्कै पनि नक्कली हुनुपर्छ
एउटा गाउँले गरीब किसान हातमा हनुमानजीको लंगौटी जस्तो लामो कागज लिएर, अँध्यारो अनुहार लगाएर कलैयाको भरतचोकमा भौतारिँदै थियो । धेरै बेरसम्म उसले आफ्नो गाउँतिरका अनेक भद्र भलादमी र केही पढेलेखेका वा नपढेको भए पनि वैधानिक किसिमले लुट्ने अधिकार लिएर बसेका नेताजीहरूलाई भेट्दै, लंगौटी खोलेर देखाउँदै गर्यो ।
भरतचोकमा भौतारिने भलाद्मीहरूले यो कुन चैं नयाँ मोडेलको पागल आइपुगेछ भन्ठाने ।
घुम्दै घुम्दै त्यो किसान हामी उभिएको ठाउँमा आइपुग्यो । उसले हामीलाई पनि लंगौटी फुकाएर देखाउँदै भन्यो, यो तारिख पर्चा सक्कली हो कि नक्कली हो हजूर ? राम्ररी हेरेर भनिदिनुपर्यो ।
सबै मित्रले पालै पालो गरी त्यो पर्चा हेर्यौँ । पाँच सय र हजारको नोट नक्कली भएको त पत्रपत्रीकामा पढेका थियौँ । यो जाबो तारिख, पर्चा किन नक्कली हुन्थ्यो भन्ठानेर किसानलाई सम्झायौँ, यो पर्चा त सोह्रै आना सक्कली जस्तो छ । कार्यालयको नाम र छाप पनि छ । तिमीले कति कारणले यसलाई नक्कली भन्ठान्यौ ?
आँखाभरि आँसु टलपल टलपल पार्दै किसानले आफ्नो शंका व्याक्त ग¥यो, हजुर मलाई शंका त्यसै कहाँ लागेको हो र ! हेर्नुस् हजुर म पचहत्तरी वर्षको बुढो भइसकेँ । अड्डा, अदालत धाउन थालेको पचास वर्षभन्दा माथि नै भयो होला । आजसम्म कसैले मलाई यसरी ठगेको थिएन ।
उसको फतफत सुनेर एउटा मित्रलाई झर्को लागेछ र उसले सोध्यो, तिमी कसरी ठगियौ त्यो त भन ।
किसानले भन्यो, मेरो जग्गा सम्बन्धी दश वर्षे पुरानो मुद्दाको यो नयाँ तारिख पर्चा हो हजुर । मेरो यति लामो अनुभवमा आजसम्म कुनै अड्डाले पनि पैसा नलिई कुनै काम गरेन । आज यो तारिख पर्चा एक पैसा पनि नलिई अड्डाले मलाई किन दियो ? त्यसैले शंका लाग्यो ।
मैले टिप्पणी गरें, भूलचूकले कुनै इमानदार कर्मचारी परे होलान् ।
मेरो टिप्पणी किसानले कुनै टिप्पणी नगरेरै भन्यो, खै खै त्यो पर्चा पाउँ त । यो पक्कै पनि नक्कली हुनुपर्छ । यति भनेर पर्चा खोसे झैँ गरी हातबाट थुतेर किसान एकातिर लाग्यो ।
जाँदाजाँदै उसले भनेको सुनियो, पैसा नलिकन दिएको पर्चा सक्कली हुनै सक्दैन ! म ज्यान गए पत्याउन्न ! तपाईँहरूले भनेर म पत्याउँछु र !
काठमाडौं