नेपालमा ख्यातनाम कमाएको एउटा उपसरकारी निकाय छ आयल निगम । यसको नाम जुराउने पण्डितप्रति सर्वप्रथम यो लखरठ्याक नमन गर्दछ । मूलतः तेलको व्यापार गर्ने आयल निगम दशकौँ वर्षदेखि भारतबाट पेट्रोलियम पदार्थ आयल अर्थात आयात गर्छ र कुस्त मुनाफा राखेर आफ्ना क्रेता अनेकन डिपो एवम् पम्प मार्फत् उपभोक्ताहरूलाई बिक्री वितरण गर्दै आएको छ । क्रयमूल्य भन्दा झण्डै दोब्बर विक्रयमूल्यमा उपभोक्तासँग नगदा नगदी बिक्री गरे पनि चुन्दाम नाफा कहिल्यै नहुने अपारको व्यापार गर्ने निकाय हो आयल निगम । हरेक दिन करोडौँको कारोबार गर्ने आयल निगमको काम नै आयल अर्थात तेल आयात गर्ने र कुस्त मुनाफा राखेर उपभोक्तालाई निगम अर्थात् प्रदान गर्ने हो । नाम अनुसार काम दुरूस्त । यही काम दशकौँ वर्षदेखि उसले गर्दै आएको छ । त्यो पनि एकलौटी रूपमा । अरू कसैलाई ढिम्किन दिएन ।

वर्षमा अरबौँ अरबको कारोबार भए पनि नाफा कहिल्यै हुँदैन, सधैं घाटाको घाटा । यो अर्को गज्जबको पहेली बनेको छ आयल निगमको । अनि जतिसुकै घाटा भए पनि बेला बेला यसका उपल्लो तहदेखि तल्लो तहसम्मका हाकिमदेखि कारिन्दासम्मलाई बोनस बाँड्ने गरेको छ । जतिसुकै करोड घाटा भए पनि उनीहरूलाई वर्षैपिच्छे भत्ता सुविधा थप्दै जानु, सेवा सुविधाका नाममा करोडौँ रूपया खर्चदै जानु निगमको मौलिक विशेषता नै हो । सुन्ने गरिएको छ– हिसाब मिलानको निम्ति भारतीय तेल निगमसम्मको यात्रा प्रायः महिनै पिच्छे हुने गरेको छ । हरेक पटक त्यता एउटा सानोतिनो डफ्फै जाने गरेको छ र डफालाई भारूमै भत्ता भर्ने मात्र होइन, पटकै पिच्छे महँगा सुट र सुटकेस खर्चसमेत प्रदान गर्ने परम्परा पुरानै हो । मिसावट र चुहावट बापतको मुनाफा निगमका कारिन्दालाई महिनैपिच्छे लाख लाख वर्षन्छ भनिन्छ । यस सम्बन्धी यावत कैरन जानिफकारहरूकै जानकारीमा होला । यो त हेर्दा देखिने प्रत्यक्ष कुरो भयो ।

अप्रत्यक्ष कमिसन रसाउने दुला कहाँ कहाँ के कति छन् यो लखरठ्याकले ठम्याउने हैसियत राख्दैन । यता दशगजामा मधेसी मोर्चाको आन्दोलन उर्फ अघोषित भारतीय नाकाबन्दीले आयल निगमलाई हायलकायल पारेर खायल निगम र गयल निगममा परिणत गरिदिएको यथार्थ भने ठिक साँचो हो । पेट्रोलियम पदार्थको हाहाकार जति जति बढ्दै गयो हाम्रो आयल निगम बुढी भैसी थचक्क बसे झैं बस्नु स्वभाविकै थियो । त्यसलाई फेरि उठाएर गयल हुनबाट जोगाउन जति प्रयत्न सरकारले गरे पनि सब बेकार साबित भइरहेको छ । निगम उठ्नु भनेको यसका हर्ताकर्ता र धर्ताहरूको निजी नाफा सुत्नु हो भन्ने निक्र्यौल निकालियो र निगमलाई सुताइरहने अभ्यासतिरै जोडबल लगाउन थालियो । जोडबल गज्जबकै देख्यो यो लखरठ्याकले पनि ।

एकातिर भारतले नाकाबन्दी गरेको छैन भन्ने देखाउन थोरैतिन ट्याङ्कर नाकाबन्दी छलेरै भए पनि नेपालतिर छिराउँदै रह्यो । अर्कातिर ठोरी जस्ता अप्रचलित नाकाबाट खुद्रे व्यापारीले हरेक दिन हजारौँ लिटर ड्रम र ग्यालिन मार्फत पैठारी गर्दै रहे । यसरी पैठारी गरिएको पेट्रोलियमबाट प्रतिदिन लाखौँ राजस्व गुमे पनि कालो व्यापार मौलाउँदै जानु स्वाभाविक थियो । यस्तो अकुत नाफा देखेर निगमका हर्ताकर्ताको मुख नरसाए कहिले रसाउने । लिटरको पाँच सय रूपैयाँसम्म सोहर्न पाइने मौका आउँछ पर्खदैन । बस् अब खुलेआम शुरू भो ट्याङ्कर ट्याङ्करै ब्ल्याकमा । लोतिखरे उपभोक्ता भोकभोकै हप्तौँ लाइनमा बसेका छन्, पम्पबाट थोपो तेल झर्दैन, उता एकै ट्याङ्करमा बाह्र पन्ध्रला लाख झरेको झ¥यै । यो पो हो त कमाल ! मन्त्री र संसदीय समितिका सांसदहरू उत्तरी नाका खोल्न र आपूर्तिको वैकल्पिक व्यवस्था गर्न स्वाँस्वाँ र फ्वाँफ्वा गर्दै नाका नाका दौडिएका छन् । यता मौकामा हिरा फोर्नु पर्छ भन्दै करोड करोडका बिटा सुम्पिएर पेट्रोलियम आपूर्तिका निम्ति अपारदर्शी ठेक्कापट्टा, ठेक्कामै कमिसनको मिसनतिरै भ्याइ नभ्याई । किन उठ्नु प¥यो थला परेको बूढी भैँसी विचरा आयल निगम ! यो रमित लाग्दो खेल बिचरो लखरठ्याक हेरेको हे¥यै ।

आपत टार्न चिनले सित्तैँमा दिएको पेट्रोलको मूल्य गयल निगमले सुनायो प्रति लिटर १७२÷– हैन सित्तैँमा पाएको पेट्रोल केरूङ नाकाबाट थानकोट डिपोसम्म आई पुग्दा यसको प्रति लिटर १७२ भयो कसरी ? लखरठ्याकको मथिङ्गलले केही गरे पनि बुझ्न सकेन । केरुङबाट थानकोट आउन्जेलमै हरेक ट्याङ्करबाट पेट्रोलको निश्चित मात्रा चुहावट भएको अपुष्ट समाचार पनि चुहिएको थियो । आखिर रक्सोलबाट आउने पेट्रोल पर्याप्त मात्रामा चुहिने गरेको सबैलाई थाहा छ । तिनै चुहिने ट्याङ्कर केरूङ पुगेका हुन् । बस् पेट्रोल चुहिनु र समाचार चुहिनु कागताली वा संयोग मात्रै हो भन्न किमार्थ सकिन्न । अनि चुहिएको पेट्रोलको मूल्य बाँकी रहेको पेट्रोलको मात्रामा थपिँदा धन्न १७२÷– मात्र पुगेछ, प्रति लिटर २००÷– नै नाघेको भए पनि आश्चर्य नमान्न लखरठ्याक सबै उपभोक्ताहरूलाई जम्लाहात गरी हार्दिक अनुरोध गर्दछ ।

नाकाबन्दीको पुनित अवसरमा आयल निगमलाई हायल, कायल, घायल पारेर निरन्तर खायल र गयल बनाउन सक्ने बरदहस्तहरूलाई बाह्र हातको टाँगोले पनि छुन नसक्ने आपूर्ति मन्त्रालय, मन्त्री एवम् प्रधानमन्त्री स्वयम्ले गरेको आम नेपाली जनताको चुलो बालेरै छाड्ने प्रतिबद्धतालाई कहिलेसम्म र कसरी पूरा गर्ने हुन् कुन्नि ! यो लखरठ्याक भने भुसेचुलोमा पकाएको अधकल्चो भान्सा ज्युनार गर्दै अदपसाथ प्रतिक्षा गरिरहेको छ ।

कलङ्की, काठमाडौं