यसै पनि वीरगन्ज सहरको नाम चलेकै हो, अझ विगत चार महिनादेखिको बन्द हडतालले त्यसमा ‘चार चाँद’ थपेको छ भन्छन् स्थानीय । टायरको धूलोले त्यसमा अरू कति चाँद थप्न सक्थ्यो त्यो पनि थपेकै छ । हाम्रो खाजा खाने होटलको गति वीरगन्जको गतिभन्दा कम गतिलो छैन । ढल जमेको गहिरो दह छ । दहमा प्लास्टिकका झोला, बोतल, चियाका कप तैरिरहेका छन् । त्यही दहमाथि बाँसहरू तेस्र्याएर डेस्क बेन्च राखेर बस्ने ठाउँ बनाइएको छ । खानेकुराहरू खुला छन् । झिँगाको साम्राज्य छ । म भन्छु, ‘यस्तो गनाउने ठाउँमा बसेर कसरी खानू ?’

‘कहाँ गनाएको छ ?’ होटलवाला साहू नाक स्याँक–स्याँक तान्दै भन्छ, ‘खोइ एकथोपै गनाएको छैन । तपाईंलाई गनाउँछ भने नाक थुनेर खानूस् । परेको म बेहोर्ने छु ।’ परेको उसले बेहोर्ने भएपछि केको डर, ढुक्कले त्यहीँ खाजा बजाइन्छ । नाकाबन्दीले मुलुक महिनौँदेखि अस्तव्यस्त छ । सरकार पनि जनतालाई आपत्विपत्बाट जोगाउने अनेक उपाय गर्न व्यस्त छ । एउटा उपाय अहिले व्याप्त छ । केही र्पयो भने सरकारलाई फोन गर्ने, परेको सरकारले बेहोर्छ ।

सिँचाइमन्त्रीले ‘हेलो सिँचाइमन्त्री’ भन्ने कार्यक्रम सुरु गरेर जनतालाई आफ्नो मोबाइल नम्बर नै बाँडेका छन् । आकासबाट पानी परेन, छिमेकीले कुलो फर्काइदियो, खेतमा सिँचाइ गर्नुपर्यो, तुरुन्त फोन गर्नूस्, मन्त्रीले समस्या टिप्नेछन् र परेको बेहोर्ने छन् ।

मुलुकमा औषधिहरूको अभाव भएको कुरा थाहा पाएर स्वास्थ्य मन्त्रालयले भर्खरै एउटा सूचना जारी गरेको छ, औषधि पाइएन भने मन्त्रालयमा फोन गर्नूस्, निस्शुल्क । बिरामीले, स्वास्थ्य कार्यकर्ताले, डाक्टरले, सर्वसाधारण जसले गरे पनि हुन्छ फोन । दुर्घटनामा पर्नुभयो, अचानक बेहोस हुनुभयो, हर्ट एट्याकै भयो भने पनि फोन घुमाइहाल्नूस् । देशमा औषधि छैन, सरकारले कहाँबाट ल्याएर दिन्छ भनेर चिन्ता गर्ने काम तपाईंको होइन । सरकारलाई त्यति कमजोर नठान्नूस् । चीन, बंगलादेश, अमेरिका जहाँबाट भए पनि ल्याउँछ । अथवा भारतलाई झुकाएर नाका खोलाएर भए पनि ल्याउला कुनै दिन । बस्, सरकारलाई फोनचाहिँ जानुर्पयो । फोन नै गएन भने सरकारलाई के थाहा, देशमा औषधि चाहिन्छ भनेर ।

अब हामीले यस्ता बन्दी वा नाकाबन्दीसँग डराउनु पर्दैन । भात पकाउने दाउरा पाउनुभएन, ऊर्जा मन्त्रालयमा फोन गर्नूस् । नाकामा लुटिनुभयो, बलात्कारमा पर्नुभयो, ठगिनुभयो, अपहरणमा पर्नुभयो, गृह मन्त्रालयमा फोन गर्नूस् । एम्बुलेन्सका चालक र बिरामीहरूलाई आन्दोलनकारीले ढुंगा हाने अथवा अक्सिजन थुतेर फालिदिए अथवा आगो लगाइदिए अथवा मारे भने पनि हत्तपत्त सरकारलाई फोन गर्नूस् । परेको सरकारले बेहोर्छ ।

सवारी चालकहरू हेलमेट लगाएर सवारी चलाउनूस् । यात्रुहरू सिटमुनि छिरेर जोगिनूस् । तपाईंको रक्षा गर्न प्रहरीले वर्षाउने गोलीका पर्राहरूबाट पनि सकेसम्म जोगिनूस् । मरिहाले पनि के हुन्छ ? आन्दोलनको आगोलाई घिऊ हुन्छ । पुण्य कमाइन्छ ।

अझै धैर्य गर्नूस्, मन्त्रीहरूको फोन उठेन भने प्रधानमन्त्रीलाई फोन गर्न पाइने उपाय आउँदैछ । प्रधानमन्त्रीले फोन उठाएनन् भने राष्ट्रपतिको फोन नम्बर पनि सर्वसाधारणलाई बाँडिनेछ । राष्ट्रपतिबाट पनि पार नलागे पशुपतिलाई सुनाउन पाइनेछ । त्यति गर्दा पनि भएन भने पनि नआत्तिनूस् । बन्दुक बोक्न त तपाईंको आँट छैन क्यारे, आत्महत्या गर्नूस् अथवा बहुलाउनूस् । कुनै एउटा विकल्प छान्नूस् । परेको सरकारले बेहोर्छ ।

नेपाल, मङ्सिर १७, २०७२