मैले त शान्ति पर्खेको थिएँ
भय, त्रास र कोलाहल हैन
मैले त सृजना खोजेको थिएँ
आतङ्क, हाहाकार र छटपटी हैन
मैले त भनेकै थिएँ
मेचीमा बार लाउनुपर्छ
महाकालीको धार सोझ्याउनुपर्छ
पराईलाई टेक्न दिनुहुँदैन
कसैको भिक्षा लिनुहुँदैन
सगरमाथा अझै चुल्याउनुपर्छ
मैदान पहेँलै तुल्याउनुपर्छ
मैले त भनेकै थिएँ ।
करोडौँ मलाई हँसाउनुपर्छ
रिसाएकाहरूलाई फकाउनुपर्छ
मैले त भनेकै थिएँ ।
मैले त पौरख चाहेको थिएँ
आलस्य, थकाइ र निन्द्रा हैन
मैले त कोदालो मागेको थिएँ
महल, पजेरो र सुन्दरी हैन
मैले त भनेकै थिएँ
घाइतेहरूलाई उठाउनुपर्छ
मलमपट्टी लगाउनुपर्छ
गोठमा ब्वाँसो हुल्नु हुँदैन
घरको भेद खोल्नु हुँदैन
शहीदको गीत गाउनुपर्छ
रगतको बदला चुकाउनुपर्छ
मैले त भनेकै थिएँ ।
तेन्जिङलाई यतै बोलाउनुपर्छ
टिस्टा र काँगडा फर्काउनुपर्छ
मैले त भनेकै थिएँ ।

(‘आस्था रोपेर मनका गराहरूमा’ कवितासङ्ग्र्रहबाट)