सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

म भन्दा नोटै ठूलो

Nepal Telecom ad

‘पैसा ए ऐसा’ भन्ने दिन बाकै पालामा चट भएकोले नोटको बोट खोजेर भौतारिने चटारोले म थला परिसकेको छु । मलाई मेरो हजुरबाले दिनुभएको आशिषसँग खेद लागिरहेको छ । कतै त्यसै आशिषको भेदले त होइन म आजसम्म नोटपीडित भएर बाँचेको छु । हजुरबाले दसैंको टीका लगाइदिँदा भन्नुभएको थियो, “लेखेर पढेर ठूलो मान्छे भएस्, दामको पछि नलागेस् नामको पछि लागेस्, इमानजमान नबेचेस्, बरु सम्पत्ति बेचेस्, नाम गए फेरि कमाउन सकिन्न, दाम गए” सकिन्छ । घण्टौं लगाएर दिएको आशिरबाद शिरमा थापें । कुरा बुझ्दै जाँदा पो थाहा लाग्यो बुढाले दिएका आशिरबाद त जिन्दगीको घाँडो पो रहेछ । सत्य कुरा त जहाँ नोट त्यहाँ ओट, जहाँ नोट छैन त्यहाँ रोट छैन पो रहेछ । जिन्दगीभरि नाम घोकेर हिँडदा जिन्दगी ठण्डारामकी जय भयो । आउनुहोस् म ठण्डारामको विनानोटमा ठण्डाराम कहानी सुनाउँछु ।
कलेज पढ्ने बेलामा अरूहरूले दुई पाङ्ग्रे भ्याटभ्याट बनाए, यो ठण्डारामले दुई जोर हात्ती छाप चप्पल प्याटप्याट बनाउन पनि हुपले गाँस्नुप¥यो । आँखा गडेका स्वप्ना सुन्दरीहरूलाई क्याण्टिनमा लगेर नोटप्रसादहरूले लाइन मार्दा ठण्डारामको पाकेटमा सिलबरको पैसोले पनि पाइन दिन सकेन । गुरुहरूलाई क्याण्टिनमा स्वागत नगरेकाले एसेसमेण्टको नम्बरले पनि सिलटिम्बुर खायो । हाइहाइ नोटले प्रथम श्रेणीको बोट समात्दा यो ठण्डारामले दोस्रो श्रेणीको जरामा झुण्डिएर बाँच्यो । नोटको चोटले कहाँ पढाइमामात्र धोका खाइयो र ? राजनीतिमा त यसले थलै बसायो । नोटको क्याटक्याट आवाज दिन नसकेर वडासदस्यको उम्मेदवार समेत बन्न पाइएन तर तस्करी र लुटखसोटको चार्ज लागेकाहरू प्रजातन्त्र आउनासाथ नोटको कटकटले पार्टीका इन्चार्ज हुन पुगे । राजनीति बाइबाइ भनेर जागिरको बाटो समातियो तर हजुर नोटको धोकाधडी जागिरमा त झनै चर्को पर्ने रहेछ । जागिर पाउन गाह्रो, पाएपछि जोगाउन गाह्रो । नोट लगेर हाकिमलाई कोट लगाइदिन नसक्नेले कहिले डोटी पुगेर सुस्ताउँछ त कहिले ताप्लेजुङ पुगेर अस्ताउँछ पत्तै हुँदो रहेनछ । जागिरमा नोट छैन भने त्यसको जति जीवनमा चोट कसैको छैन भनेर बुझे केही फरक पर्ने छैन भनेर म जहाँ पनि सहीछाप गरिदिन तयार । जागिरको कुरा गर्दै पनि गनायो । तपाइँ सुन्नेहरू र पढ्नेहरू मजस्तै ठण्डाराम हुनुहुन्छ भने अवश्यै नाक थुनिसक्नुभयो होला । आउनुहोस् केहीबेर साहित्यको कुरा गरौं ।
एकजना ठण्डाराम साहित्यकार छन् । उनी लेखेको लेख्यै छन्, तर उनको लेख सधै भूमिगत छ । उनले कविताको अर्थ सिकाएकाहरू अर्थ न बर्थको कविता लेखेर महान कवि भइसक्दा पनि उनको सार्वजनिक जन्म हुन सकेको छैन । कवि हुन सबैभन्दा पहिले नोट चाहिन्छ, नोट भएपछि शब्द तानतुन पार्ने जोश चाहिन्छ । शब्द तानतुन पारेर लेख्यो गजबका भूमिकाकारलाई भूमिका लेख्न दियो । कविताको पहिलो पृष्ठमा नोटको बोट राखेर दिएपछि कवितामा प्रशंसाको फूल फुल्छ, साहित्यकारको पगरी गुथ्ने मुल खुल्छ । सके पाँचतारेमा नसके तीनतारेमा त्यो पनि नसके ठूला हलमा राखेर विमोचन गराउनुपर्दछ, चाकडीको लकेट र मुख मीठा बनाउने प्याकेटको जो गरेपछि तपाइँको भव्य विमोचनले नाम पाउँछ, सञ्चारले ठाम पाउँछ । नोट राखेर लेख्ने कुरा भए तपाइँको कृति प्रकाशन हुनुपूर्व नै नाम चलेको पुरस्कारमा मनोनयन हुने पक्का, नोटले पारेन त छक्का ?
एउटा उखानको याद आयो, छन् कौडी सबै मेरा छैनन् कौडी सबै टेडा । थाहा त हाम्रा बाजेहरूलाई पनि रै’छ नि । नत्र यस्तो उखान किन बनाउँथे ? तपाइँको गोजीमा खोजी गर्नेहरूले रित्तो गोजी देखे भने तपाइँको आफ्नो भन्ने भित्तोबाहेक कोही हुँदैन । बोलीमा गोली चल्छ, हाँसोमा पाशो लाग्छ अनि हावभावले मात्र काम चलाउन पर्ने हुन सक्छ । त्यस्तै बेलामा चन्दाको धन्दामा लागेकाहरूको फन्दामा पर्नुभयो भने त निधारमा डण्डाको अण्डा लिएर हिँड्नुपर्ने बनाउन पनि कति बेर लाग्दैन । रित्तो गोजी लिएर घर जानु भयो भने मुसकान पानीको फोका भएर जाने छ र तपाइँलाई घरकै ढोकाले धोका दिने छ । भन्नुहोस् त दुनियाँमा नोट भन्दा ठूलो केही छ ? तपाइँ आफूलाई जहाँ राख्नुस् त्यो तपाइँको कुरा, म भन्दाचाहिँ नोटै ठूलो हो ।
धादिङ, हाल काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
खुइलिएको तालु

खुइलिएको तालु

होम सुवेदी
दौरासुरुवाल र टोपी आतङ्क

दौरासुरुवाल र टोपी आतङ्क

तिलकराज शर्मा पाैडेल
रहस्य खोइ बुझिस् !

रहस्य खोइ बुझिस् !

चूडामणि रेग्मी
लक्ष्मणरेखा

लक्ष्मणरेखा

श्रीप्रसाद पाेखरेल
दस दनक

दस दनक

रामकुमार पाँडे
यो घर हो

यो घर हो

लक्ष्मण गाम्नागे