शारीरिक रुपले पनि अत्यन्त लुरे देखिने कमरेड दिपक कुनैबेला मामुली शिक्षक मात्रै हुनुहुन्थ्यो । पञ्चायती राजको जगजगी चलिरहेको बेलाको कुरो हो यो । शिक्षक राजनीतिमा सक्रिय भएका कारण सजाय स्वरुप उहाँ र उहाँका एक दर्जनजति दौँतरीलाई सरकारले दुर्गम क्षेत्रतिर सरुवा गरिदियो । सरुवाको प्रतिकारमा जिल्लामा शिक्षकहरूको ठूलै आन्दोलन उठ्यो तर उनीहरूको केही लागेन । सरुवामा परेका केही बबुराहरू खटाइएको ठाउँतिरै लागे, केहीले चाहिँ औपचारिक राजिनामा दिएर ससाना अन्य व्यवसाय समाते । तर दिपक कमरेड भने भूमिगत राजनीतिमा सक्रिय हुन थाल्नुभयो । सानो इलाका छाडेर उहाँ अब जिल्लाभरिको दौडाहामा जुट्नुभयो । भूमिगत बैठक, सङ्गठन निर्माण, भेला र प्रशिक्षणमा उहाँको सक्रियता बेजोडकै थियो । पञ्चायती कालमा उहाँको यो सक्रियता निकै खतर्नाक ठहरियो । फलस्वरुप पटकपटक गिरफ्तारी, यातना र जेलको बास अस्वाभाविक थिएन । पञ्चायती तन्त्रले अन्तिम सास फेरिरहेका बेला पनि उहाँ जिल्लास्तरीय नेताका रुपमा जेलमै हुनुहुन्थ्यो ।

पुरानो विवाहपद्धति एकदमै रुढिग्रस्त छ भन्दै कार्यकताहरूलाई नयाँ प्रगतिशील पद्धति विकास गर्न उहाँ उत्प्रेरित गर्नुहुन्थ्यो । परम्परागत विवाह बढी खर्चिलो र ढोँगढर्रापूर्ण भएको हुँदा पनि हामीले कम खर्चिलो पद्धति अपनाउन आवश्यक छ भनेर असाध्य जोड दिनुहुन्थ्यो उहाँ । उहाँका कुराबाट प्रेरित हुँदै पचास साठी रुपैयाँमा सकिने गरी आयोजना गरिएका प्रगतिशील विवाह समारोहमा अतिथिका रुपमा उपस्थित भएर घण्टौँ भाषण गर्नुहुन्थ्यो, त्यस्ता समारोहको अनुकरण गर्न सबैलाई उहाँ आव्हान गर्नुहुन्थ्यो ।

देशबाट पञ्चायत ढल्यो र प्रजातन्त्र आयो । प्रजातन्त्रसँगै चुनाव आयो । चुनावले दिपक कमरेडलाई जितायो । तर सरकार अर्कै दलको बन्यो । फेरि अर्को चुनाव आयो । फेरि पनि टिकट उहाँले नै पाउनुभयो । फेरि, फेरि र फेरि पनि उहाँ जित्दै जानुभयो । त्यतिञ्जेलसम्ममा त उहाँ केन्द्रीय स्तरको नेता र कमिसनको गाँठ राम्रै झर्ने मन्त्रालयको मन्त्रीसमेत भैसक्नुभएको थियो । अहिले राजधानीमा उहाँको एउटा हेर्न लायकको दरवार बनेको छ ।

दीपक कमरेडका समकालीन एकजना गाउँले कार्यकर्ता हुन् सञ्जय । सञ्जयका हातमा एक दिन बिहेको एउटा निमन्त्रणा कार्ड प¥यो । आँखै तिरिमिरी पार्ने त्यो कार्डमा लेखिएका वास्नादार अक्षरले मुसुक्क हाँस्दै भनिरहेका थिए– दिपक कमरेडका तीन भाइ छोरामध्ये एउटाको शुभविवाह हुँदैछ । आफ्ना पुराना कमरेडले आफ्नै छोराको बिहेमा आउन पठाएको निम्तोपत्र काखी च्यापेर सञ्जय जिल्लाबाट राजधानी पुगे । कमरेडको सिङ्गै दरवार झकिझकाउ थियो । बिहेका नाममा गरिएको जुन तामझाम सञ्जयले देखे त्यो उनका निम्ति अकल्पनातित थियो । तीन दिनसम्म एकछत्त चलेको बिहेभोज खान सहभागी हुनेहरू दश हजारभन्दा बढी नै रहेको अनुमान उनले गरे । साना ठूला सबै दलका राष्ट्रिय स्तरका सबै नेताहरू, विभिन्न संवैधानिक निकायका प्रमुखहरू, उपल्लो तहका धेरै कर्मचारी प्रमुखहरू, प्रहरी, सेनाका हाकिमहरू कोही छुटेका थिएनन् ।

पचास साठी रुपैयाँ खर्चेर गरिएको आफ्नो प्रगतिशील बिहेका मूख्य अतिथि कमरेड दिपकले त आफ्ना छोराको बिहेमा पचास साठी लाख पो उडाएछन्, हँ । यस्तो राजशी बिहेको आयोजना गर्न सक्ने कमरेडको कमाइ चैँ कति हुँदो होला त ? सञ्जय कमरेडको दिमागमा भने यही एउटा प्रश्नले नराम्रोसँग झड्का हानिरहेको छ ।

भदौ, २०६६
कलङ्की, काठमाडौँ