सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

छ इन्ची नाकाबन्दी

Nepal Telecom ad

भारतीय प्रधानमन्त्री श्रीयुत् नरेन्द्र मोदी असाध्यै कर्मठ खालका व्यक्ति हुन् । आफ्नो मुलुकको जुनसुकै काम पनि आफैं उत्साहका साथ गर्न अघि सर्छन् । यसमा एउटा समस्या चाहिंँ के छ भने उनी धेरैजसो मुलुक बाहिरै डुलडाल गरिरहन्छन् । यस्तोमा के गर्ने ? यही यामानको सवाल छिमेकी मुलुक नेपालमाथि नाकाबन्दी लगाउँदा पनि बेस्सरी उठेको थियो । यसको सरल समाधान प्रधानमन्त्री मोदीको बहुचर्चित ५६ इन्चीको छाती (उनकै भनाइ बमोजिम) लाई अघि लाएर गरियो ।

यता यसमा पनि समस्या उत्पन्न भएकोले नइदिल्लीको प्रधानमन्त्री निवासमा एउटा आकस्मिक बैठक डाकियो । बैठकमा भारतको ब्युरोक्रेसी, गुप्तचर विभाग र मोदी सरकारलाई आरम्भदेखि नै तन, मन र धनले सघाउँदै आएको धार्मिक संगठनको उपस्थिति थियो । यो अति नै गोप्य प्रकारको बैठक भए पनि केही दिनपछि सबै कुरा बाहिर आयो ।

‘यो बैठक किन बोलाइएको हो ?’ सरकारलाई सघाउने धार्मिक संगठनले सोध्यो ।
‘नेपालमाथि लगाइएको नाकाबन्दीमा समस्या आएको छ ।’ ब्युरोक्रेसीले जवाफ दियो ।
‘त्यस्तो के समस्या आयो ?’
‘वास्तवमा कुरो के हो भने नेपालमाथि नाकाबन्दी लगाउन उपयोग गरिएको प्रधानमन्त्रीज्यूको ५६ इन्चीको छाती स्वाट्टै घटेर ६ इन्ची भएको छ ।’ गुप्तचर विभागले भन्यो, ‘यतिले कसरी नाकाबन्दी हुनेछ ?’
‘६ इन्ची छाती !’ धार्मिक संगठनले घोर आश्चर्यमा भन्यो ।
‘हो, ६ इन्ची छाती ।’ ब्युरोक्रेसीले थप्यो, ‘यो अरू घट्न पनि सक्छ ।’
‘अरू घट्न सक्छ !’ धार्मिक संगठनको आश्चर्य जारी थियो ।

एकाएक बैठकमा एक प्रकारको भारी तनाव पैदा भएको थियो । किनभने कुरो सम्माननीय प्रधानमन्त्रीज्यूको छातीको थियो । सबै चिन्ताले घेरिएका थिए । केही बेरपछि कोठामा जम्मा भएको मौनतालाई तोडेर ब्युरोक्रेसीले सुझायो, ‘बाहिरबाट एक्स्ट्रा छाती ल्याएर जोड्न सकिँंदैन ?’

‘कहाँबाट ल्याउने ?’ गुप्तचर विभागले ब्युरोक्रेसीतिर हेरेर सोध्यो ।
‘मेरो विचारमा चोर बजारबाट किनेर मजैले ल्याउन सकिन्छ ।’ ब्युरोक्रेसीले एकछिन सोचेर जवाफ दियो, ‘त्यहाँ अलिक बढी पैसा दिए जति पनि एक्स्ट्रा छाती पाइन्छ ।’

‘यसरी चोर बजारबाट छाती ल्याएर प्रधानमन्त्रीज्यूको छातीमा लगाउनु नैतिकताले दिंँदैन ।’ धार्मिक संगठनले कडा आपत्ति जनायो, ‘हामीले यस निम्ति सद्मार्ग अपनाउनुपर्छ ।’
‘कस्तो सद्मार्ग ?’ गुप्तचर विभागले धार्मिक संगठनतिर टाउको घुमाएर सोध्यो ।
‘हो, कस्तो सद्मार्ग ?’ ब्युरोक्रेसीले पनि जोड दियो ।

‘केही समय अगाडि नेपाल भ्रमणताका हाम्रो प्रधानमन्त्रीज्यूले त्यहाँ ऋषिमनको उल्लेख गर्नुभएको थियो ।’ धार्मिक संगठनले गम्भीर भएर भन्यो, ‘त्यही ऋषिमनबाट काम चलाउनु उचित हुनेछ ।’

‘यो ऋषिमनलाई लिएर नेपालमा थरीथरीको जोक चलेको छ । कोही—कोही हाम्रो प्रधानमन्त्रीज्यूको ऋषिमनलाई त्यहाँका एक चल्तापुर्जा टाइपका पत्रकार ऋषि धमलाको मन भनेर पनि ख्यालठट्टा गर्ने गर्छन् ।’ गुप्तचर विभागले मुख बिगारेर भन्यो, ‘यस्तो ऋषिमनले कसरी काम चल्नेछ त ?’

‘कतै हाम्रो प्रधानमन्त्रीज्यूले ऋषिमन भनेर हाम्रै सिनेमाका हिरो ऋषि कपुरको मन त भन्नुभएको होइन ?’ तत्कालै गुप्तचर विभागले थप्यो ।

‘अहिले ऋषि कपुर हिरो भएर सिनेमामा खेल्ने गर्दैन । उसको हिरोगिरीको जमाना गइसकेको छ । त्यसैले प्रधानमन्त्रीज्यूले ऋषि कपुरको मन भन्नुभएको होइन ।’ धार्मिक संगठनलाई यो कुरा त्यति मनपरेको थिएन, ‘यो कुनै अर्कै ऋषिमन हुनुपर्छ ।’

‘यो ऋषिमन–सिसिमनतिर लाग्ने बेला नभएकोले हामीले प्रधानमन्त्रीज्यूको छातीलाई राम्ररी रिपेयर गरेर फेरि ५६ इन्चको बनाउनेतर्फ लाग्नुपर्छ ।’ ब्युरोक्रेसीले कडा स्वरमा भन्यो, ‘यही आखिरी उपाय हो ।’

यसपछि नेपालमाथिको नाकाबन्दीमा लागेको प्रधानमन्त्रीज्यूको ६ इन्चीको छातीलाई फेरि ५६ इन्चीमा फर्काउन कुनै विदेशी मल्टिनेसनल कम्पनीलाई ठेक्का दिने सर्वसम्मत निर्णय भयो । हाल प्रधानमन्त्री मोदी पनि विदेशमै रहेका र त्यताबाट हत्पत्ती नफर्कने भएकाले यही सजिलो हुने निष्कर्षका साथ बैठक सकियो ।

केही दिनपछि फेरि यस्तै एउटा अर्काे बैठक बस्नुपर्ने भयो । प्रधानमन्त्री निवासमा बसेको बैठकको कुरो खुला भएकोले एउटा अति गुप्ती ठाउँमा यस पटकको बैठक बसेको थियो । तैपनि यो बैठकको कुरा बाहिर आयो नै । अँ त, यो बैठकमा पुराना सहभागीहरू ब्युरोक्रेसी, गुप्तचर विभाग र मोदी सरकार समर्थक धार्मिक संगठनका साथै नयाँ सहभागीको रूपमा वर्तमान सरकारको प्रतिपक्षको पनि हाजिरी थियो ।

‘प्रधानमन्त्रीको छाती ५६ इन्ची बनाउने काममा विदेशीहरूको सहयोग लिनु के राष्ट्रवादी काम हो ?’ प्रतिपक्षले सुरुमै विरोध गरेर भन्यो, ‘आफूलाई प्रखर राष्ट्रवादी भन्न रुचाउने प्रधानमन्त्रीलाई यो सुहाउँदैन ।’

‘हामीले राष्ट्रिय प्रयास नगरेको होइन । यस सिलसिलामा हाम्रै वैज्ञानिकहरूसँग प्रधानमन्त्रीज्यूको छाती चौडा पार्न सहयोग मागिएको थियो । तर अहिले लेखक र कलाकार सँगसँगै वैज्ञानिकहरू पनि सरकारको असहिष्णु चरित्रको सवाल उठाएर धमाधम आफूले लिएका सरकारी सम्मानहरू फिर्ता गरिरहेकाले यो सम्भव भएन ।’ ब्युरोक्रेसीले एउटा लामो सास फेरेर भन्यो, ‘त्यसैले केही नलागेर हामीले विदेशी सहयोगको माग गर्नुपरेको हो ।’

‘तर विश्वभरिका झैझगडामा लाग्ने खतरनाक हतियार बनाउनमा नै पुरै व्यस्त भएकोले हामी छाती–साती बनाउने सानोतिनो काम गर्न सक्दैनौं भनी अमेरिकनहरूका जवाफ आएको छ ।’ एकछिनपछि ब्युरोक्रेसीले थप्यो ।

‘यस्तो हो भने हाम्रो मुलुकको पुरानो विश्वसनीय मित्र रूससँग किन सहयोग नलिइएको त ?’ प्रतिपक्षले उही कडा पारामा प्रश्न खडा गर्यो ।

‘हामी सिरिया र टर्कीमा अल्झिएकोले फुर्सद छैन भनी रूसले ठाडै जवाफ दियो ।’ ब्युरोक्रेसीले विस्तारै भन्यो, ‘त्यसैले प्रधानमन्त्रीज्यूको छाती अहिलेसम्म ६ इन्चीको ६ इन्ची नै छ ।’

‘त्यसो भए, सम्माननीय प्रधानमन्त्रीज्यूको छाती ६ इन्ची नै राखिराख्ने त ?’ सरकार समर्थक धार्मिक संगठनले चिन्ताले भरिएको आवाजमा भन्यो ।

‘यही कारणले नेपालमाथिको नाकाबन्दीमा कठिनाइ भइरहेको छ ।’ अघिदेखि चुपचाप रहेको गुप्तचर विभागले पनि चिन्ता प्रकट गर्यो ।

‘हामीले चीनसँग पनि कुराकानी गरेका छौं । चीनले हाम्रो प्रधानमन्त्रीज्यूको छातीको मर्मत कार्यमा सहयोग गर्न सकिने भनेको छ ।’ केही बेर रोकिएर ब्युरोक्रेसीले भन्यो, ‘तर अन्तिम जवाफ भने दिएको छैन ।’

यता कुनै गोप्य स्थानमा बैठक चलिरहेको थियो भने उता नेपाल र भारतको सिमानामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ५६ इन्चीबाट ६ इन्चीमा झरेको छाती नेपालमाथिको नाकाबन्दीमा सकिनसकी लागेको लाग्यै थियो ।

कान्तिपुर, मङ्सिर २६, २०७२

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
ज्वाइँबाबा

ज्वाइँबाबा

विमल निभा
छेपाराख्यान

छेपाराख्यान

विमल निभा
जुत्ता

जुत्ता

विमल निभा
दस दनक

दस दनक

रामकुमार पाँडे
यो घर हो

यो घर हो

लक्ष्मण गाम्नागे
अभिनन्दन पत्र

अभिनन्दन पत्र

चूडामणि वशिष्ठ
स्वतन्त्रता

स्वतन्त्रता

किशन पाैडेल
मूषक माहात्म्य

मूषक माहात्म्य

सुमी लोहनी