दिनभरि आन्दोलनमा गरेको दौडधुपले लखतरान भएको रामरतन झा घरमा पस्नासाथ खुइय्य गर्यो अनि गएर थ्याच्छ खटियामा बस्यो बाबु रामाआषिस झाका छेउमा ।

छोराको थकित अवस्था थाहा पाएको बाबु रामाशिषले मयालु स्वर बनाउँनुको सट्टामा अलि रुखो स्वरमा सोध्या– “रे ! बुआ, आज त खुब थाकेर आइस् जस्तो छ नि ।”

“आजले के थकाउँथ्यो र बापु, मलाई त कल (भोलि) ले पो थकायो त ?”
“हँ ! के भन्छ यो ? सबलाई आजले थकाउँछ अनि तँलाइ चैं कसरी कल (भोलि) ले थकायो नि ?”
“कहिले टुङ्गिएला यो आन्दोलन भनेर नि बापु ? आन्दोलन थालेको पनि यतिका दिन भै सक्यो न पहाडिया खस शासकले टेर्ने छाँट देखाए, न सोचे जसरी छिमेकीको साथनै पाउँने भैयो अनि हुँइदैन त थकित ?“– रामरतनले दुखेसो पोख्यो बाबुसँग ।

“गलत कामको परिणाम पनि गलतै हुन्छ बबुआ र अहिले हुन लागेको पनि त्यही हो ।” बुढाले छोराका कार्यमा बिमती जनाए र एकहरफे कविता भने– “रीठ्ठाको बोट रोपेर कहाँ फल्छ र कागती ।”

“तपाईं पनि मधेसी आन्दोलन बिरोधी बापु !” –छोराले आश्चर्य मान्दै सोध्यो ।

“मधेसी आन्दोलनको हैन बबुआ हिजडालाई नेता बनाएर गरेको विदेशी आन्दोलनको चैं बिरोधी ।” –बुढाले कडा शब्दमा उत्तर दिए ।

“हँ ! बापु आज कस्तो कस्तो कुरा गर्नुहुन्छ ? कसरी हाम्रो नेता हिजडा अनि कहाँको हिजडालाइ नेता बनाएका छौं र ! हामीले ?“– छोराले ताज्जुब मानेर प्रश्नको वर्षा गर्यो बाबुलाई ।

“दिल्लीको“– बुढाले सहज तरिकाले उत्तर दिए र थपे– “मान्छेले आफूमा भएको एउटा कम्जोरी लुकाउनु पर्यो भनें अर्को कुनै काम देखाएर ढाकछोप गर्ने कोसिस गर्छ” भन्छ्न मनोवैज्ञानिकहरू । त्यस्तै बिहे गर्ने बितिकै स्वास्नी छोड्ने दिल्लीको यौटा हिजडाले मर्र्दािङनी देखाउन नेपालमा नाकाबन्दी लगाएको र तिमीहरूलाई हामीले गरेको भनेर भन्न लगाएको घाम जत्तिकै छर्लङ्ग छैन र ?”– बुढाले प्रश्नको उत्तरमा प्रश्नै थपे ।

“बाबुको आक्रोश देखेर रामरतन अलि सकपकायो अनि कुटिलतापूर्वक बाबुको मन चोर्ने उद्देश्यले फेरि सल्लाह मागेझैं गरेर सोध्यो– “उसोभए कसरी यो आन्दोलनलाइ उपलब्धिमूलक तरिकाले छिटो टुङ्ग्याउन सकिन्छ त बापु ?”

“सबैभन्दा पहिले मधेसी र विदेशीको कित्ता छुट्ट्या अनि आफैं नेता बनेर मधेसीलाई चाहिएका कुराको माग राख चारदिनमै तेरो माग पनि पूरा हुन्छ र आन्दोलन पनि पूरा हुन्छ ।” –बुढाले सम्झाए छोरालाई र भुत्भुताए– “घरका भेदी लङ्का धाए ।”

गौरादह–१२, झापा