सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

लोग्ने र स्वास्नी, जोई र पोइ ?

Nepal Telecom ad

हाम्रो गाउँमा गोथेका लोग्नेस्वास्नी सधैँ झगडा गर्छन् । यी दुई थरीको ङयार्र र ङुर्रले छरछिमेकका मान्छेहरू वाक्क भइसके । लोग्ने भनाउदो स्वास्नीलाई शङ्का गर्छ । स्वास्नी भनाउदी लोग्नेलाई विश्वास गर्दिन । यी लोग्ने स्वास्नीको ग्रह नमिल्नुमा मैले कारण खोज्न थालँे । यिनको चिना बनाउनुप¥यो भन्ने सुर चल्यो । नाम सोध्न गएँ । पहिले लोग्ने चाहिँलाई सोधेँ । गोथेको न्वारनको नाउँ अर्कै छ, तर उसैलाई थाहा छैन अरे ! उसकी स्वास्नी चाहिँलाई सोधेँ । औँसीले छोडेर पुर्ने लागिसकेको रहेछ क्यारे, मसक्क मस्किँदै भनी–“लोग्ने गोथे भएपछि स्वास्नीको नाउँ गौँथली भइगयो नि !” लोग्नेका नाउँबाट स्वास्नीको नाउँ जुराउनुपर्ने अर्को आपत् आइलाग्यो ।

यिनीहरूको न्वारन म आफैँले गरेँ । लोग्नेको नाउँ लोग्ने नै राखिदिएँ, स्वास्नीको नाउँ स्वास्नी भइहाल्यो । लोकलाई देखाउने प्रयोजनका लागि स्थापना गरिएको भएर लोकलाई देखाउने भन्दाभन्दै प्रयत्न लाघवका कारण ‘लोक्ने’ भयो । अनि घोषीकरण सन्धिअनुसार ‘क’को ठाउँमा ‘ग’ आयो । लोग्नेको अर्थ मेरो विचारमा यही ठिक लाग्यो । तर पचासौँ पाठकले पत्याएको भाषाविद् भएपछि मैले हचुवामा निष्कर्ष निकाल्ने कुरो आएन, शब्दकोश पल्टाएँ । त्यहाँ त लोग्ने शब्द संस्कृतको ‘लग्न’ बाट बनेको जनाउ दिइएको रहेछ । लग्न अर्थात् लगन हेरेर बनाइएको भाले पुरुषलाई ‘लग्ने’ भनिएछ अनि आदि अकार वर्णको ओकारीकरण गरेर त्यही ‘लग्ने’ लाई ‘लोग्ने’ भन्न थालिएछ । लोकलाई देखाउने भन्ने अर्थसँग यो अर्थ खासै बाझिएन । अब म स्वास्नीको अर्थ तिर लागेँ । सिस्नुपानीले पोल्छ । ट्याउँट्याउँ बोलिराख्ने अनि मनमा जहिले पनि पोलिराख्ने हुनाले सिस्नुपानी भनियो र तिनै सिस्नुपानी नानीलाई स्वास्नी भनियो होला । अथवा सानी नानीलाई ‘सान्नानी’ भनेझैँ ‘सिस्नी नानी’ भन्दाभन्दै ‘स्वास्नी’ भनिएको पनि हुन सक्छ । फेरि शब्दकोशकै शरण परेँ । अनेक थरी अत्तर घसेर सुवास अर्थात् मिठो बास्ना छर्ने हुँदा ‘सुवासिनी’ भनिएको पो रहेछ । तिनै ‘सुवासिनी’लाई उच्चारणको प्रयत्न लाघव अर्थात् छोटो प्रयासका आधारमा ‘स्वास्नी’ बनाइएछ । यहाँ पनि मेरो अनुमान खासै खेर गए जस्तो लागेन ।

कुनै केटी मान्छे अभिभावकको सल्लाहविना कुनै केटाको पछि लागेर गई भने त्यसलाई पोइल गएको भनिन्छ । यसै गरी कुनै केटो मान्छेले पत्नीलाई पाल्नुभन्दा पत्नीबाटै पालिनु उचित ठानेर पछ्याउँदै गयो भने त्यसलाई जोइल गएको भनिन्छ । जोई भन्नाले पोइको टुपी उखेलेर आफ्नो टाउकामा टाँस्न सक्ने क्षमता भएकी महिलालाई बुझ्नुपर्ने हुन्छ । लेखाइमा पनि जोईको इकारमाथि टुपी छ, पोइ बिचराको छैन । फेरि पल्टाउनुप¥यो, शब्दकोश । ‘पति’ संस्कृत शब्द हो । यसको अर्थ ‘लोग्ने वा पोइ’ भन्ने हुन्छ । ‘पत्यालय’ अर्थात् पतिकोे घर भन्ने तत्सम शब्दबाट ‘पोइल’ भन्ने तद्भव शब्द बनेको रहेछ । जाया’को अर्थ संस्कृतमा ‘स्वास्नी वा पत्नी’ भन्ने हुन्छ । ‘जायालय’को अर्थ जायाको घर हो । ‘जायालय’ भन्ने संस्कृत शब्दबाट ‘जोइल’ भन्ने नेपाली शब्द बनेको रहेछ । पतिकी पोथी त पत्नी हुनुपर्ने हो । तर ‘पोइल’ र ‘जोइल’ शब्द चाहिँ को कसको घरमा गयो अथवा को कसको भरमा बाँच्यो भन्ने अर्थमा प्रयोग गरिएका छन् । ‘जोई’को सम्मान र स्तर ‘जाया’को जति हुँदैन अनि ‘पोइ’को पौरख पनि ‘पति’को जस्तो हुँदैन । ‘जोई–पोइको झगडा, परालको आगो’ भन्ने उखानका आधारमा पनि यी दुई झगडिया हुन् । मान्छेको स्तरमा विकार आउनाले ‘लग्न र सुवासिनी’बाट लोग्ने–स्वास्नी अनि ‘जाया र पति’बाट जोई–पोइ भए ।

काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
म प्रज्ञापति !

म प्रज्ञापति !

गाउँले बलदेव