नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारका मन्त्रीहरू बरालिएकाले तिनीहरूलाई सम्हाल्न प्रधानमन्त्रीलाई सचेत गराएको कुरा सुनेपछि मलाई आफ्नै केटाकेटी बेलाको सम्झना आयो । आमाले घाँस काट्न जा भनेर हँसिया थमाएर पठाउनुहुन्थ्यो, हामीचाहिँ पल्लो घरका सहपाठीसित गुच्चा खेल्दा खेल्दै साँझ पारेर लुसुक्क घर फर्किन्थ्यौँ । बुबाले साबुन किन्न बजार पठाउनुहुन्थ्यो, हामी सिनेमा हलतिर पसेर तीन घन्टा बरालिन्थ्यौँ । वर्षभरिलाई तेल र्पुयाउन राखेको तोरीको बोरै बनियाँलाई बुझाएर दार्जी्लिङतिर बरालिन पुग्थ्यौँ । आमालाई ज्वरो आएर सिटामोल किन्न गएको छोरो उतैउतै मामाघरतिर बरालिएर घर फर्किंदा आमा सिकिस्त भएर अस्पताल भर्ना गरिवरि निको भएर घर फर्काइसकिएको हुन्थ्यो । बरालिएकाहरूको के कुरा गर्नु गगनजी !

मन बरालिएपछि मस्तिष्कले मात्रै काम गर्न थाल्छ । आफ्नीभन्दा अर्कैकी श्रीमती, आफ् नोभन्दा अर्कैको श्रीमान् मन पर्न थाल्छ । घरको भन्दा दुस्मनका होटेलको भात मीठो लाग्छ । बाबुआमाको माया नक्कली लाग्छ, अंशमा मुद्दा लडिरहेका सौतेला काका प्यारो लाग्छ । शुभचिन्तकहरू शत्रु लाग्छन् । नातेदार वा मित्रहरूले दिएको सल्लाह श्राप लाग्छ । अग्रजले सम्झाउँदा गाली गरेजस्तो लाग्छ । बरालिएर हिँडेपछि संगत पनि गतिलो हुँदैन । जुवातास, जाँडरक्सी, गुन्डागर्दीको लत लाग्ने डर हुन्छ । पराइहरूले परिवारमा खेल्छन् । सम्पत्ति लुट्छन् । घरै विघटन हुन्छ । थातथलो नै समाप्त हुन सक्छ ।

देशको कुरा पनि त्यस्तै त हो । ओली घरमूली भएपछि घर सम्हाल्लान् भनेको घर झन्झन् जर्जर भइसक्यो । न दक्षिणको छिमेकीसँग राम्रो छ, न उत्तरकाबाटै सहयोग जुटाउन सकेका छन् । उनी माइकमा, मञ्चमा, माला वा खादामै लटपटिइरहेका छन् । घरको मूली नै बरालिएपछि अरुका कुरा के काट्नू ?

मन्त्रीहरू बरालिएर त्यस्तै । जता पायो त्यतै गएका छन्, जे पायो त्यही बोलेका छन् । छिमेकीसँग बिग्रेको सम्बन्ध सुधार गर्न सहयोग गर्लान् कि भन्यो झन् आगोमा घिऊ थप्छन् । मधेसी नेताहरू बोलाएर गला मिलाउनुपर्ने दिल्लीतिर सुषमा स्वराजसँग हात मिलाउन धाउँछन् । ग्यास, पेट्रोलहरू आएर रक्सौलमा अड्केको छ, मन्त्रीहरू रसुवागढीतिर बरालिइरहेका छन् ।

मधेसी नेताहरू बरालिएर त्यस्तै । उनीहरूलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री र नेताहरू पर्खिबस्छन्, उनीहरू भने लैनचौरमा छिमेकीका गोठतिर आगो तापेर बसिरहन्छन् । कार्यकर्ताका हातमा पेट्रोल, सलाई र टायर थमाएर काठमाडौँ पुगेर आउँछु भनेर हिँडेका नेताहरू दिल्ली पुग्छन् । त्यहाँबाट पनि उतै उतै युरोपतिर बरालिने कुरा पो सुनिँदैछ अझै । मन बरालिएपछि घरको भात मीठो हुँदैन भनेको त्यसै होइन, राजेन्द्र महतोहरू महिनौँदेखि खोलापारि छिमेकीको घरमा गएर भात खाइरहेका छन् । नेता नै बराला भएपछि कार्यकर्ता के कम ! आन्दोलनमा झन्डा बोक, नाकामा धर्ना बस भनेर पुलमा लगेर थेच्यायो, मोटरसाइकल लिएर पेट्रोल ओसार्दै हुन्छन् । एम्बुलेन्स, औषधि आदि बोक्ने गाडीलाई बन्दमा केही नगर भन्यो एम्बुलेन्स त के बाँकी राख्थे, बिरामीलाई नै आगो लगाउँदै हिँड्छन् ।

छिमेकीले आफ्नै घरमा आउने बाटो थुन्दा पनि काखी बजाएर नाच्ने ठूलठूला नामधारी बरालाहरू पनि थुप्रै भेटिए । यसरी घरका महत्त्वपूर्ण सदस्यहरू नै बरालिएपछि घर कसरी बलियो हुन्छ ? यस्ता बरालाहरूका घरमा दुस्मन नलागे के लाग्छ ? यस्तो घर जर्जर नभएर के हुन्छ ? मन्त्री मात्र होइन, नबरालिएको एउटा सदस्य देखाउनूस् त गगनजी हाम्रा घरमा ?

नेपाल, पुस ३, २०७२