हामी हिँड्ने बाटोमा
‘होला कि ले बुलाकी’ प्रजातन्त्री बनियो
त्यसले पनि भएन क्रान्तिकारी भनियो
‘गणतन्त्र आए त’ स्वर्गै जान्छौं भनेर
मर्दै मार्दै बाँचेका द्यौतै हुन्छौं भनेर ।
त्यतै लाग्यौं हुरीझैं, हुरी ट्याक्कै रोकियो
हाम्रै जीवन ढालेर आँसु मात्रै पोखियो
उसलाई ठूलो भनियो उसलाई सम्मान गरियो
उसको आशा गरियो, त्यसको पाइन हेरियो ।
उसले पनि गरेन, त्यसले पनि भएन
आशा गर्ने बानीचैं हाम्रो जाँदै गएन
सुखशान्ति अरुकै झन् झन् भयो उन्नति
मौका पर्यो कमाए पुस्तौं पुग्ने सम्पत्ति ।
कुरै मात्र दिएर फाइदै मात्र लिएर
सधैं भोज भतेर हाँस्छन् खाए पिएर
सरापेको हौ रै’छ यो देशलाई सतीले
माथि उठ्न गाह्रो छ हाम्रो यस्तो गतिले ।
समस्याको पहाड समाधान नै हरायो
सपना र बिपना करोडौं मन डरायो
समय नै रोकियो यो नेपाली माटोमा
पापी मात्रै हिंड्या’ छन् हामी हिंड्ने बाटोमा ।