सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

तावाबाट उफ्रिएको माछो भुङ्ग्रोमा

Nepal Telecom ad

‘बोल बोल मछली मुखभरि पानी’ भन्ने उखान धेरैको जनजिब्रोमा तुर्लुङ्ग झुण्डिएको पाइन्छ । बोल्न खोज्यो मुखभरी बुजो हुन्छ अनि कसरी बोल्ने । मुखभरि पानी हुन्थेन भने माछो कति बोल्थ्यो होला ? खोला, समुन्द्र, जलाशयमा कति हल्ला हुन्थ्यो होला ? पानी मुखभरि हुँदा मान्छे पटक्कै बोल्न सक्दैन । माछा र अन्य जलचर प्राणी पनि त्यस्तै त होला नि । उभयचर प्राणी थलमा आएर थला परुन्जेल कराए पनि जलचर प्राणी भने चूँ पनि गर्दैनन् कति अनुशासित कति सभ्य । नबोली नबोली खोली चहारी राखेका हुन्छन् । जलचर र थलचर प्राणीको भिन्नता भनेकै यही हो ।
अर्काको अप्ठ्यारोमा घरक्क दैलो उघारेर धरक्क रुँदै सेवा र मेवाको पछि लाग्ने मान्छेले बेदना अप्ठ्यारो र हार खायो भने पानीमा सिङ्गो शरीरलाई आहुती गर्दै पृथ्वीबाट विलय हुने ताउर माउर गरिहाल्छ । आत्महत्याको हकमा माछोलाई विवेकी मान्नु पर्छ । किनकि माछोले कहिल्यै पनि पाखामा गएर आत्महत्या गर्दै पानी मरुवापन देखाउँदैन । पानी मरुवा पन मान्छेले देखाउँछ जानी जानी पाखो छोडेर पोखरी रोज्छ र आत्महत्या गर्न खोज्छ । यसलाई मान्छेको विवेक शून्य मूख्र्याइँको लाजमर्दा स्थिति मान्न सकिन्छ भने हुतिहारापनको अन्तिम टुङ्गो र बुङ्गो भन्न सकिन्छ । यो नाङ्गो खेल जीवित मान्छेको लागि, गरि खाने मान्छेको हकमा शर्मनाक र दर्दनाक मान्नु पर्छ ।
माछाले आफ्नो वासस्थान आफ्नै कारणले कहिल्यै छोड्दैन । तर छोड्न बाध्य पारिन्छ । पासोमा पारिन्छ र मारिन्छ पनि । अन्याय गर्न थलचर प्राणी मान्छेले जाने जस्तै जलाशय यानिकी आफ्नो राज्यमा माछाले पनि मत्स्य न्याय गरेर आफू भन्दा साना माछालाई हैरान पार्छन्÷मार्छन् । मानव वस्तीमा जब हुन्छ पेटमा जलन तब सुरु हुन्छ ठूलाको चलन र ठूलाले नै तावा तताउन भुङ्ग्रो तयार पार्छ र सोझा सिधालाई मार्छ । बाठाहरू तावामा पस्दैनन् । त्यसैले फस्दैनन् । ज्ञानेनद्र सरकार जस्ता अति बाठाहरू तावामा पस्छन् । खिलराज रेग्मी प्रधान न्यायाधिश जस्ता तावामा पस्छन् तर भविष्यकै गर्भमा हुन्छ ति बाठाहरू तावामै बस्छन् कि भुङ्ग्रोमा खस्छन् ? राजनीति, धर्मनीति, कर्मनीति, अधर्मनीति, सबै मत्स्य न्यायकै अर्काे पाटा हुन् । चरम लोभी मान्छेले अङ्ग्रुर निकालेर आफू मात्रै अघाउन दुवै हात भुड्कोमा छिराएको हुन्छ । अब सबै अङ्गुर एकै चोटि निकाल्छु भन्दा भुड्को रहन्छ त ? सङ्क्रमण कालिन नेपालको राजनीतिको छिद्रान्वेषण गर्दा यस्तै तथ्य फेला पर्छ ।
आज नेपालको राजनीति र खाद्य नीतिको कारण युवा जमात परदेशको खुट्टो समात्को स्थितिमा घर छोड्न विवश छन् । नेपालका शीर्ष पार्टीका उच्च नेताले नै परदेशीको पाउ पर्न सिकाएका छन् । पराइको पाउ पर्ने, घर छोड्ने गरेपछि ज्यानको के भर हुन्छ र । एकाध भाग्यमानी माछालाई एक्वारियममा सजिने अवसर मिलेको पनि होला तर अधिकांश माछाहरू तलाउ छोडेपछि पुलाउ बन्न विवश हुन्छन् । मत्स्य न्याय माछामा मात्र होइन मान्छेमा पनि जीवित छ । त्यसैले तावाबाट उफ्रिएका युवा भुङ्ग्रोमा पर्नुलाई अस्वाभाविक मान्न सकिँदैन ।
अन्याय, अत्याचार, व्यभिचार, सामन्ती संस्कारहरू मानव वस्तीमा ज्यूँका त्यूँको प्रतिफल नै युवा पलायनको प्रमुख कारण मान्नु पर्छ । खोलामा हावा खाइराखेको माछोलाई तावामा हालियो भने उफ्रिएर ज्यान जोगाउन भुङ्ग्रोमा पर्ने गर्छ । तावा तातो कि भुङ्ग्रो तातो तावाले सातो लिए पछि उफ्रिएर भुङ्ग्रोमा पर्नु, मर्नु स्वभाविकै तर बाध्यता । विकट परिस्थितिमा मान्छे पनि ज्यान जोगाउन तावा छोडेर भुङ्ग्रोमा जान्छ । यसको ज्वलन्त उदाहरण परदेशीको पाउ पर्ने, घर छोड्ने नेपालका तिघ्रा र पाखुरी दरा भएका युवा युवतीलाई लिन सकिन्छ । नजिकको राम तिर्थलाई हेला गर्दै श्रीलङ्काको रावण तिर्थमा रमाइन्छ भने भावी सन्ततिको हकमा समेत शुभ सङ्केत मान्न सकिन्न ।
युवा जमातले लिटो खान छोडे पछि अर्थात् पाखुरा दरा भएपछि बरा विचराहरू अभिभावकको काख छोडेर, पँधेरे प्रेम तोडेर, हुँदा छँदाको उद्यम व्यवसायबाट मुख मोडेर भए पनि काम गर्न पाउँ, छिटो विदेश जाउँ भन्दै तिघ्रा र पाखुरा देखाउँदे पलायन हुन्छन् । के–के न पाउँछु जल्दी पैसा धेरै ल्याउँछु भन्ने जाँगर जोस र बलिष्ठ बाहुबलले ओतप्रोत भएका युवा जमात् तावामा पस्छन्, फस्छन्, भने जस्तो नहुँदा भुङ्ग्रोमा खस्छन् । कस्तो व्याडलक । के–के न सुख भोग गर्न पाइन्छ, मीठो मसिनु खाइन्छ भनेर देश÷आमाको काख छोडेर परदेश गयो माछाको ताल । न पर्छ मुखमा दाल, नबुझिन्छ परदेशीको चाल, भाषामा समस्या, पासामा समस्या, पाखामा समस्या, पराइको पिटाइ, मीठाई जे खाए पनि स्वदेशी सुगन्ध केहीमा पाइँदैन । न दालमा, न थालमा, नबालमा, न रालमा, न सालमा, न चाल ढालमा न त अवगालमा नै । फुस्रो, खस्रो बिजाउने कर्कश व्यवहार बाहेक केही पाइँदैन । नेपालीपन र पारा साराका सारा कहिँ कतै मिल्दैन । तै पनि युवा जमात स्वदेशी तलाउ छोडेर पुलाउ खान हावाको तालमा तावामा पस्छन् र भुङ्ग्रोमा खस्छन् । भरे पिल्सिन्छन् पिसिन्छन् घुन जस्तै । कठै विचराहरू बलिष्ठ बाहुसँगै दुर्गतीमा पर्छन् आँशुको घुड्को पिउँदै जीउँदै मर्छन् घरकालाई पनि मार्छन् । त्यस्ता पेलुवा पोलुवा तावामा किन लम्किने किन चम्किने । स्वदेशमै शिलामको भए पनि इलम गरे हुँदैन यार ! स्वदेशलाई नै गरे हुन्न प्यार !!
फूलबारी–११, पोखरा
फोन : ५३०१२२, ५३४७१३

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
म्वाई महात्म्य

म्वाई महात्म्य

शेषराज भट्टराई
थाङ्ने चिन्तन

थाङ्ने चिन्तन

शेषराज भट्टराई
साँढे स्वास्नी

साँढे स्वास्नी

शेषराज भट्टराई
किन चाउरिस् मरीच ? आफ्नै रागले !

किन चाउरिस् मरीच ?...

शेषराज भट्टराई
घाँटी 

घाँटी 

शेषराज भट्टराई