सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

धत्तेरिका !

Nepal Telecom ad

तराई–मधेसमा मधेसी मोर्चाको आन्दोलन र तस्करहरूका तस्करी समान तवरले चलायमान रहेको छ । कहिलेकाहीं भने यसमा तलमाथि हुने गर्छ । उदाहरणका लागि केही दिन अघिसम्म तस्करीभन्दा आन्दोलन अगाडि थियो । अहिले आन्दोलनलाई तस्करीले मजैले जितेको छ ।

तर यस्तो धेरै समयसम्म नरहन पनि सक्छ । अर्थात मधेसी मोर्चाको आन्दोलनले फेरि उही गति नसमात्ला भन्ने छैन । किनभने आफ्नै मुलुकलाई छिमेकी भारतसँग मिलेर ठप्प पार्ने मधेसी मोर्चाका नेताजीहरू कुनै पनि तस्करभन्दा अलिकति पनि पछि छैनन् । त्यसकारण आन्दोलनको विस्तृत जानकारी लिन एक मधेसी मोर्चाका नाकाबन्दी छाप नेताजीसँग भेटेर मैले भनेँ, ‘जैरामजीकी !’

उसले भन्यो, ‘जैरामजीकी भैया ।’
मैले भनेँ, ‘के हालखबर छ ?’
उसले भन्यो, ‘बहुत बढिया छ ।’
मैले भनेँ, ‘बहुत बढिया नहुने कुरा पनि त छैन ।’
उसले भन्यो, ‘ठिक भन्नुभयो भैया ।’
मैले भनेँ, ‘तपाईंहरूका चल्तीको टाइम हो यो ।’
उसले भन्यो, ‘त्यस्तो चल्ती पनि के भन्ने ?’
मैले भनेँ, ‘होइन—होइन, चल्तीकै बेला हो ।’
उसले भन्यो, ‘अब यसलाई तपाईं जे भन्नोस् भैया ।’
‘मैले भनेँ, ‘मैले बेठिक भनेको छैन ।’

त्यसपछि उसले केही भन्ने जाँगर चलाएन, केवल मुख फट्याएर एकनासले हाँसिरह्यो । असाध्यै मिहिन हाँसो । केही सुनिएन । हो, उसको ठाडो जुंगा भने फिरफिर चलिरहेको देखियो ।
केही बेरपछि उसलाई मैले भनेँ, ‘तपाईंहरूका आन्दोलन कहाँसम्म पुग्यो ?’
उसले भन्यो, ‘कस्तो आन्दोलन ?’
मैले भनेँ, ‘आन्दोलनलाई कस्तो भन्ने अब ?’
उसले भन्यो, ‘होइन, तपाईं के आन्दोलन भनिरहनुभएको छ ?’
मैले भनेँ, ‘तपाईंहरूका आन्दोलन भनेको हुँ ।’
उसले भन्यो, ‘हाम्रो के आन्दोलन ?’
मैले भनेँ, ‘तपाईंहरूले आन्दोलन गरेको होइन ?’
उसले भन्यो, ‘त्यही त, के आन्दोलन गरेँ मैले ?’
मैले भनेँ, ‘तपाईं आन्दोलनकारी होइन ?’
उसले भन्यो, ‘तपाईंलाई कसले म आन्दोलनकारी हुँ भन्यो भैया ?’
मैले आश्चर्य मान्दै भनेँ, ‘अनि तपाईं को त ?’
उसले भन्यो, ‘म त यताको माल उता र उताको माल यता गर्नेवाला हुँ ।’
मैले भनेँ, ‘अर्थात तस्कर ?’
उसले हाँसेर भन्यो, ‘अब तपाई जे भन्नोस् भैया ।’
मैले भनेँ, ‘म त तपाईंलाई एक आन्दोलनकारी ठानिरहेको थिएँ ।’
उसले भन्यो, ‘अब म के भनुँ ?’
मैले भनेँ, ‘त्यसो भए तपाईं आन्दोलनकारी होइन ?’
उसले भन्यो, ‘विलकुलै होइन भैया ।’
धत्तेरिका ! मैले आन्दोलन गर्ने आन्दोलनकारी भनेर एक तस्करी गर्ने तस्करसँग पो भेटघाट गरेछु । यसको अर्थ के हो भने अहिले तस्करहरूकै जगजगी छ । त्यसैले तस्कर फेला पर्याे ।

हुन त मैले मधेसी मोर्चाको आन्दोलनकारीसँग बातचित गर्न खोजेको हुँ । कुन्नि, कसरी तस्करमा बदलियो ! अब आन्दोलनको साटो तस्करी र तस्करीकै हालचाल बुझ्न मैले उससँग कुराकानी बढाउन खोजेंँ, तर ऊ त मलाई चुपचाप पाएर हिँडिसकेको रहेछ । त्यसकारण एक अर्को तस्करसँग सम्पर्क गरेर मैले भनेँ, ‘राम–राम ।’
उसले भन्यो, ‘राम–राम ।’
मैले भनेँ, ‘के हालखबर छ ?’
उसले भन्यो, ‘ठिक छ बन्धु ।’

एउटा तस्करी गर्ने तस्करले मलाई बन्धु भनेकोले निकै ननिको लाग्यो । त्यसैले केही बेर चुपो लागेंँ । तर उससँग कुराकानी पनि गर्नुपरेकोले मैले भनेँ, ‘अरु सबै बेसै छ ?’
उसले भन्यो, ‘बहुतै बेस छ बन्धु ।’
मैले भनेँ, ‘तपाईंको कामकाज कस्तो चलिरहेको छ ?’
उसले भन्यो, ‘के कामकाज ?’
मैले भनेँ, ‘तपाईको धन्दा ।’
उसले भन्यो, ‘ए, मेरो धन्दा भन्नुभएको हो ?’
मैले भनेँ, ‘हो, तपाईंको धन्दा ।’
उसले भन्यो, ‘अब यसलाई धन्दा पनि के भन्ने बन्धु ?’
मैले भनेँ, ‘अनि के भन्ने त ?’
उसले भन्यो, ‘यसलाई धन्दा नै नभनिहालुँ ।’
मैले भनेँ, ‘त्यही त, अनि के भन्ने ?’
उसले भन्यो, ‘अब धन्दा भनिहाल्नुभयो भने चकाचक छ भन्नुपर्ला ।’
मैले भनेँ, ‘कस्तो चकाचक ?’
उसले भन्यो, ‘चकाचक मतलब धेरै राम्रो चलिरहेको छ भनेको हुँ बन्धु ।’
मैले भनेँ, ‘चकाचक त हुनैर्पयो ।’
उसले भन्यो, ‘ठिकै भन्नुभयो बन्धु ।’
मैले भनेँ, ‘अब यताको माल उता र उताको माल यता गर्नुलाई के बेठिक भन्ने त ?’
उसले भन्यो, ‘यो के भन्नुभएको हो ?’
मैले भनेँ, ‘तपाईं जे सुनिरहनुभएको छ, त्यही भनेको हुँ मैले ।’
उसले भन्यो, ‘मैले बुझिन बन्धु ।’
मैले भनेँ, ‘तस्करहरूको धन्दा राम्रो हुन्छ भनेको हुँ ।’
उसले भन्यो, ‘को तस्कर ?’
मैले भनेँ, ‘तपाई तस्कर होइन ?’
उसले जंगिएर भन्यो, ‘तपाई मलाई के तस्कर ठानिरहनुभएको छ ?’
मैले फेरि भनेँ, ‘तपाई तस्कर होइन ?’
उसले भन्यो, ‘तपाईलाई कसले भन्यो म तस्कर हुँ बन्धु ?’
मैले भनेँ, ‘कसैले भनेको होइन ।’
उसले भन्यो, ‘अनि किन तस्कर भन्नुभएको ?’
मैले भनेँ, ‘त्यसो भए, तपाई तस्कर होइन ?’
उसले भन्यो, ‘म तस्कर होइन ।’
मैले भनेँ, ‘अनि तपाई को त ?’
उसले भन्यो, ‘म त एक आन्दोलनकारी हुँ बन्धु ।’
मैले भनेँ, ‘आन्दोलनकारी ?’
उसले भन्यो, ‘हो, आन्दोलनकारी बन्धु ।’
मैले भनेँ, ‘यसको मतलव तपाई तस्कर हुँदै होइन !’
उसले भन्यो, ‘मैले भनेँ नि, म एक आन्दोलनकारी हुँ ।’
मैले भनेँ, ‘त्यसो भए तपाई तस्करी नगरेर आन्दोलन गिरिरहनुभएको छ ?’
उसले चर्काे स्वर गरेर भन्यो, ‘कतिचोटी भन्ने, म आन्दोलनकारी हुँ ।’

धत्तेरिका ! मिलाई फेरि धोका भएछ । म तस्कर भनेर एक मधेसी मोर्चाको आन्दोलनकारीसँग पो कुराकानी गरिरहेको रहेछु । यो के भइरहेको हो ?

वास्तवमा कुरो के हो भने अहिले यताको माल उता र उताको माल यता गर्ने तस्कर र मधेसी मोर्चाको नाकाबन्दीमार्का आन्दोलन गर्ने आन्दोलनकारीलाई छुट्याउनै गाह्रो भइरहेको छ । सबथोक गड्डमड्ड छ । एकआपसमा बलियोसित जोडिएको ।

पुरै गोलमालको स्थिति भन्नोस् । त्यसैले मसँग यस्तो भुल हुनगयो । अब म सावधानीपूर्वक कुनै एकसँग भेट्ने छु ।
कि तस्करी गर्ने तस्करसँग कि मधेसी मोर्चाको आन्दोलनकारीसँग ! अर्थात यस्तो विचारमा छु । माथिका दुई भेटपश्चात कसैसँग भेटिहालेको भने छैन । किनभने दुई–दुईपटक गल्ती भइसकेकोले अहिलेसम्म हिम्मत जुटाउनसकेको छैन । आगे प्रयास गर्नेछु ।

कान्तिपुर, पुस १८, २०७२

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
ज्वाइँबाबा

ज्वाइँबाबा

विमल निभा
छेपाराख्यान

छेपाराख्यान

विमल निभा
जुत्ता

जुत्ता

विमल निभा