सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अब्बै ! भ्रष्टहजार

Nepal Telecom ad

शीर्षक देख्ना साथ नजर तिर्मिराउन सक्छन् । मेरो नाम पनि भ्रष्टको लिष्टमा छरपस्ट त भएन भनेर उकुसमुकुस हुँदै ठुस्स पर्नुहोला नि ! तर नआत्तिनुस् महोदय, बरू अलिकति मनमा खुल्दुलीले लपक्क लिपिदिनुस् र नील नदीमा पौडी खेल्दा डुबुल्की मारेझैं नआत्तिएर दिमागको पखेट्टाहरू फट्फट्टाउँदै र घोत्लिदै खोतल्नुस् त के होला यसको अर्थ भनेर ? भो–भो त्यत्ति अस्पष्ट भएर बहुत कष्ट गर्नुपर्दैन, नोकरीको मालले के कतै माकुरी जालले बेह्रिएका फुसका छाप्रे आवासहरू बदलिएर गगनचुम्बी बैगले विल्डिङमा बडेमानको ध्वाँस देखाएका त छैनन् ? तपाईको मनको कुना कन्दरामा कन्चटै तात्तिने गरी झल्याँस्स ठोकिन पुग्छ यो शब्द ।

कुरो त बुझ्नु भयो नि होइन ? सदाचारको उल्टो अर्थात् भ्रष्टाचार ! भ्रष्टाचार अब चारमा मात्र सीमित भएन, यसरी तीव्रतर रूपमा बढ्यो भ्रष्ट पाँच, भ्रष्ट छ, भ्रष्ट दश, भ्रष्ट सय भने पनि कम हुने भो । दुगुना, तीन गुना, चौगुना भ्रष्टाचार भने पनि थोरै हुने भो । त्यसैले त्यसको सट्टा आरनेकहाँ गएर पिट्टपाट्ट पारी च्याट्ट नयाँ शब्द जन्माउन खोजेको क्या ! मतलब शब्द भण्डारको थुप्रोबाट खोतलखातल पारी वरको पर सारी स्वाट्ट झिकेको होइन । बरू जनजिब्रोबाट ट्याप्प टिपेर ल्याको कुनै अड्डेसो नलाएर । भ्रष्टाचार शब्द अब रद्दीको टोकरीमा कोचारिदिए हुन्छ । यस्तै गतिमा भ्रष्टाचारको विकास हुँदै जाने हो भने यो चार मात्र सीमित रहेन । हजारौं गुनाले भ्रष्टाचार बढिरहेको छ, त्यसैले अब भष्टहजार भने पनि फरक पर्दैन ।

किनकि हाम्रो समाज त्यस्तो समाज हो, जहाँ भ्रष्टाचारीको प्रशंसा हुन्छ, मान–सम्मान हुन्छ, घुस खानुमा रौनकता हुन्छ, भ्रष्टाचार गर्नुमा महानता हुन्छ । यो कुरा मलाई मात्र होइन, तपाईलाई पनि थाहा छ, तपाईलाई मात्र होइन, उसलाई पनि थाहा छ, उसलाई मात्र होइन तिनीहरूलाई पनि थाहा छ, तिनीहरूलाई मात्र होइन त, तिमी र हजुरहरूलाई पनि थाहा छ, अर्थात् होश हुनेहरूलाई पनि थाहा छ बेहोश हुनेहरूलाई पनि थाहा छ । तर तैं चुप मै चुप ! हामी वरिष्ठ मनुष्यहरू दिनरात चढाइरहेछौं । भ्रष्टहजारहरूलाई फूल, माला, अक्षता र धूप ! हामी हरेक भेटमा उसलाई फुर्काउँदै भन्छौं – ‘‘तैंले त मजासँग क्या कमाइस् यार ! बधाई छ । म त भए हरित्तन्नम् जख्खम् अर्थात् चिलिम च्वाँट !” हो त नि, एउटा भन्सारको भ्रष्ट तल्लो तहको कर्मचारीको घरमा पचास हजार पर्ने खेलौना गुहे बच्चाले खेलाइरहेको हुन्छ, जसका थाल र चम्चाहरू स्वर्ण लेपन गरिएका हुन्छन्, जसका बाल्टिन, गाग्रो र ताउलाहरू चाँदीका हुन्छन् । मार्बलैमार्बलले झल्किने उसको अत्याधुनिक मोडेलको बिल्डिङ र अत्याधुनिक कार ग्यारेजमा टलटल टल्किरहेको हुन्छ । श्रीमतीका शृङ्गार स्वर्णकारकै नाटकीय पसलजस्तो तर उसको मासिक तलब मुस्किलले पन्ध्र हजार ! ल भन्नुस्, आफै गम्नुस्, यो भ्रष्टाचार हो कि भ्रष्टहजार ? जसको तलबले एक सानो परिवारलाई हातमुख जोड्न धौ–धौ हुन्छ, उसको यस्तो रौनक ! अझ उपल्लो स्तरका भ्रष्ट तालु खुइलेहरूको कमाल कमाइ कति होला ?

त्यस्तै मालकुमारले भन्छ– ‘‘मालमा गए त मालामाल भइन्थ्यो, नापीमा गए झन कमाल हुन्थ्यो । भन्सारमा जान पाए त झन गाँठका बिटा त सिठाझैं थुप्रिन्थ्यो । कर अफिसमा त झन् एकै वर्षमा घर बनाइन्थ्यो, जो नखाने भन्छ भने त्यो त हो अकालको काल ।’’ यसरी छाती फुल्याई हिड््नेहरूको रवाफ देख्दा भ्रष्टाचारले तेब्बर जम्प हैन, पचबल जम्प हानिसकेको छ । त्यस्तै हन्तकुमारले भन्छ, ‘‘मान्छेले करोडौं खान्छन्; हजारांै लाखौं खाँदैमा के फरक पर्छ र ? जस्तो पर्ला त्यस्तै टर्ला आफूले त मजाले खाइन्छ ।’’ त्यस्तै अर्कोले भन्छ– ‘‘यो किन्दा कति खाइस् ?’’ अझ अर्कोले भन्छ– ‘‘त्यो किन्दा कति जिप्टाइस् ?’’ जतिखेर पनि खाने कुरै छ, जतिखेर पनि भ्रष्टाचार र दुरूपयोगकै कुरा छ ।

बहुदलको फलमा पल्केका यी धुर्त छुट्टु स्यालको ¥याल चुहिरहेछ, अविरल । नेतृत्वको धाकमा रम्नेहरूको चालले अघि बढेका यी पैसाका कालहरू गणतन्त्र कालमा झन कति फुल्लान्, कति फल्लान् ? जहाँ, जहाँ भ्रष्टाचारका केन्द्रहरू छन्, त्यहाँ त्यहाँ पैसा सुकाउने गोप्य मान्द्राहरू छन्, जहाँ धन्सार छ, जहाँ भन्सार छ त्यहाँ पैसाको संसार छ भन्दै भुस खाने, जुस खाने, घुस खानेदेखि मोटरगाडी र हवाइजहाज खाने हन्तकारीहरूको तछाडमछाड छ ।

साँच्चै ! मुख त नैतिकताका कुराले छ्याल्लब्याल्ल होला । कोठाभरि किताबको थुप्रो त होला, सर्टिफिकेटको चाङले बाकसको ढकनीलाई उचालेको त होला, आफूलाई विद्वान् र डिग्रीधारीको भव्य फुर्को हल्लाउँदै बडो सुर्कै ओगट्ने गरी गजधम्म बसेको होला, तर विचार टाउकोबाट होइन, खप्परबाट होइन, गिदीबाट होइन, छलफल तर्कवितर्कबाट होइन, चिन्तन मनन र गहन अध्ययनबाट होइन, विचार त यहाँ गजबले पलाइरहेछ, अवैध पैसाबाट । कामचोर, घुसखोर, भ्रष्टाचार, तस्कर, कालोबजारबाट । ब्ल्याक लेबल, रेड लेबल, भर्जिन र चेप्टेबाट । सपेट्टो, सुकुमारी र सुकुट्टीबाट । अझ भित्रभित्र खोतल्नुस् क्यासिनो विचारले बेला न कुबेला मन्त्रालयमै बिन्ती गर्दैछ, बाउन्न पत्तीको जन्तीबाट । कार्यालय, विद्यालय, विश्वविद्यालय सब भ्रष्टाचारको शिकार । के शिक्षाले यही सिकायो, भ्रष्टाचार ! चौतर्फी भ्रष्टाचार ! के यही हो हाम्रो संस्कृति र परम्परा ? के यही हो दूधमुखेहरूलाई दिने शिक्षा र सभ्यता ? परिवर्तन भनेर कच्चा चुँडिने डोरी समाएर सच्चा र पक्का हुनसक्छ र ? मतलब चाकडी, चाप्लुसी र खुसामदको मन्त्र साँधेर क्षणभरमै हामी चन्द्रलोकका नाइकेमा रूपान्तरित हुनसक्छौं ? कहिलेसम्म चिल्ला सर्टिफिकेटलाई भ्रष्टाचारले लेपन गरेर विदशी बोतलमा मुख चोप्दै करेन्ट लागेझैं झननऽऽऽऽ झन्किन्छौं ? कहिलेसम्म कालो पैसाको माला उनेर हवाइजहाजका पंखाझैं फन्किन्छौं ? कहिलेसम्म ¥याङको ठ्याङ त्यही ड्याङमा झोल्ट्याङ–झोल्ट्याङ गर्दै गुडल्किन्छौँ ? अनि हामी आफूलाई ठान्छौं भयङ्कर ठूला परिपक्व र शानदार ! आखिर ठूलो को ? खप्पर कि गिदी ? भुँडी कि लिदी ? सुन कि साहु ? छोरो कि बाउ ? शिक्षक कि विद्यार्थी ? जनता कि शासक ? खानेवाला कि बनाउनेवाला ? नोकर कि नोकरी ? रक्सीको भट्टी कि रक्सीबाजहरू ? टपरी कि भतेर ? स्पष्ट छ । कोही छैन ठूलो, भ्रष्टाचारी नै सबभन्दा स्वघोषित ठूला !

सायद त्यही ठूला भएर होला, चीनमा भ्रष्टाचारीहरूलाई सार्वजनिक स्थलमा पुत्लाझैं झुण्ड्याएर अभिनन्दन गरिन्छ, भारत र अमेरिकामा अचल अन्धकार गोलघरमा वर्षाैवर्षसम्म सजाएर भव्यरूपले मानसम्मान दिइन्छ भने नेपालमा त खेती न बारी नौ मुरी तोरी गराउने भ्रष्टाचारीभन्दा ठूला कोही रहेनन् । लौ हेर्नुस् न यहाँका भ्रष्टाचारीहरू ज्यूँको त्यूँ घिउ खाएर अझ बलिया, दुरुस्त र चिप्लाचाप्ला जिउ बनाएका छन् । अब नयाँ भ्रष्टाचारीहरू झन हाम्रै नजर वरिपरि फनफनी रिङिरहेछन् । नाता, कृपा, सोर्स, फोर्समा ससार टपेका यी चल्तापूर्जा भ्रष्टाचारीहरूलाई, सुनपानी छर्केर शुद्ध भएको स्वाङ रचेर टाङमुनि लुकाउन खोजियो भने कहाँनिर कति ठूलो भ्वाङ पर्नेछ ? त्यो त नयाँ नेपालमा चपाइने किसमिस, सुकमेल र ल्वाङले नै छर्लङ्ग पार्नेछ । अस्तु !

रोल्पा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad