दुबैतिरका मोदीहरूको मिलिभगतमा आरम्भ भएको नेपालमाथिको भारतीय नाकाबन्दीले दुवैतिरका लखनट्टुहरूलाई अपूर्वको फाइदा उपलब्ध गराइ दिएको छ । यता पनि फाइदा उता पनि फाइदा । फाइदै फाइदाको यो काइदालाई रोक्न खोज्ने त पटमुर्ख हो । यस्तो मुख्र्याइँ कसैले नगरोस् । यो लखरठ्याकको कुपित विचारमा अहिले नाकाबन्दी खोल्न न्वारनदेखिको बल गरेर लाग्नेहरू त राष्ट्रघाती हुन् । अराष्ट्रिय तत्व हुन् । देशको प्रगति र उन्नतिलाई फुटेका आँखाले पनि देख्न नसक्नेहरू हुन् । नकाबन्दीका कारण राज्यमा निश्चित मनुवाहरूको जो रजाइँ चलिरहेको छ, नाकाबन्दी खुल्नु भनेको त्यो रजाइँ सकिनु हो । उनीहरूको रजाइँ निखार्न खोज्नेहरूलाई त राजकाज अपराध अन्तर्गत ठाडै गिरफ्तार गरी जेलको हावा खुवाउनु पर्छ ।

नाकाबन्दीले देशमा सधैँ भइरहनु पर्ने गोलमाल भइरहेको छ । यही गोलमालभित्र यस्तो मालामाल छ । नाकाबन्दी खोल्नुपर्यो भनेर झिनो मसिनो स्वर उराल्ने कुन कुन लोतीखरे हुन् ? खबरदार ! कुनै माइकालालले नाकाबन्दी खोल्ने प्रयत्न नगरोस् । यसमै उसको कल्याण छ ।

नाकाबन्दीका कारण बजारमा सबै कुराको अभाव छ, अभाव भएपछि मूल्य बढ्नु सामान्य हो । माग र आपूर्तिबिच सन्तुलन नमिलेपछि जहाँसुकै पनि जेसुकै कुराको मूल्यवृद्धि हुन्छ । यो त अर्थशास्त्रको लाटो विद्यार्थीलाई पनि थाहा भएको कुरा हो । अनि किन कालाबजारी भन्ने ? यो कालाबजारी होइन सफा सेतोबजारी हो । पैसा हुनेले जति पनि पैसा हाली किनेर लैजान्छ त के फरक पर्यो ? नेपाली धेरै धनी भइसकेका रहेछन् नत्र ५ सय रूपैयाँ लिटरको तेल हालेर सडक जाम हुने गरी महँगा मोटरसाइकल र कार कुदाउँथे ? कालाबजारीले पिरल्यो भनेर कसैले रोई कराई गर्नुको कुनै अर्थ छैन । अनि नाकाबन्दी हुनुभन्दा अघि कालाबजारी थिएन र ? महँगीले आकाश छोएको थिएन र ? भूकम्प पीडितका नाममा लटरपटर भइरहेको थिएन र ? त्यसैमा अलि अलि थपिएको त हो नि ! राजधानीका सडकमा नाकाबन्दी भन्दा अघिकै जस्तो सडक जाम छँदै छ । अनि केको नाकाबन्दी । यस्तो वाइयात कुरा गरेर हुन्छ ?

विश्व खाध्य संस्थाले भूकम्प पीडितलाइ बाँड्न ल्याएको चामल गाड्न थाल्यो रे ! अब खुरूक्क विज्ञप्ति निकाल्ला, नाकाबन्दीका कारण हामीले बितरण गर्न सकेनौँ भन्ला । करोडौं डलर घोटाला गरी कुहिएको चामल ल्याएको थियो र बाँड्न सकस परिरहेको थियो । सकसको निकास काइदासँग नाकाबन्दीले खोलिदिएको छ । समयमा बितरण गर्न नपाउँदा गोदाममै कुहिएको हो भन्नका लागि गजबको निहुँ अब पायो त के फरक प¥यो हँ ?

ठग, अल्छी र कामचोर कर्मचारीका निम्ति नाकाबन्दी गजबको निहुँ बनिदिएको छ । विकास, निकास, वार्ता गर्ने हर्ताकर्तामा नाकाबन्दीले हुनसम्मको नाफा गरिदिएको छ । चोक चोक र गल्ली गल्लीमा पेट्रोलियम पदार्थको डिलर खुलेका छन् । ससाना खुद्रे व्यापारीलाई समेत एकैपटक ठुल्ठूला उद्यमी बनाइ दिएको छ । यस्तो ऐश्वर्यको अवसर प्रदान गरिरहेको नाकाबन्दी खोल्नु पर्छ भन्ने स्वाँठहरूलाई अब लाठो लाएर लखेट्नु पर्छ ।

नाकाबन्दीको निहुँ बनाएर आयल निगमका महामनाहरूलाई कारवाहीको हल्ला गर्नेहरू पनि अर्काथरी स्वाँठ नै हुन् । नाकाबाट बल्लतल्ल छिरेका दुई चार तेलका ट्याङ्कर र ग्यासका बुलेट यस्सो लटरपटर पारेको न हो । टोपी हातमा लिएर दुइतिन पटक तिब्बत, बेजिङ र बङ्लादेश पुगेकै हुन् । ३० लाख जाबो त भत्तामै सकिएछ । त्यताबाट तेल आउने बाटो सोझ्याउन भन्दा बङ्ग्याउनमै आफ्नो ब्रम्हले फाइदाजनक देखेपछि त्यसै गरे त के फरक भो । अहिलेसम्म आफ्नै ट्याङ्कर र बुलेट चाहिन्छ भन्ने ब्रह्मज्ञान नखुलेका ज्ञानी महात्माहरूलाई कारवाही गर्ने कुरा सोच्नु पनि महापाप हो । उनीहरू मध्येकै जाबो एक जनामाथि भ्रष्टाचारको अभियोग लगाउने अख्तियार पनि भर्सेलै परोस् ।

हिजोसम्म भारतले नाकाबन्दी लाएकै छैन भन्ने नेपाली मोदीहरू आज आएर सरकारले नाकाबन्दी खोल्न कुनै तत्परता नदेखाएको भन्दै विरोधको बारुद पड्काउँदै छन् । यिनलाई पनि साँढे डामे झैं डामेर छाडि दिनु पर्ने । उनीहरूलाई भारतभक्त देख्नु पनि महाभूल हो । उता नाकामा चौकीदारी गर्नेहरूमाथि पनि रातबिरात हमला हुँदै छ भन्ने समाचार आइरहेका छन् । यस्तो शितलहर शुरू भएका बेला मितेरी पुलमा धर्नाकारीको सङ्ख्या स्वात्तै घटेको बताइँदै छ । के हो कसो हो कुन्नि ! भूकम्पपीडितलाई बाँड्न नभ्याएका न्याना कम्बल बरु त्यतै ओसारेर भए पनि धर्नाकारीलाई न्यानो प्रदान गरी नाकामा धर्ना जारी राख्नु पर्दछ । यो नाकाबन्दी खोल्ने, खुकुलो पार्ने होइन प्रभु ! हरेक दिन बिहानै धूपबाती बालेर नाकाबन्दीको आरती गाउन तयार छौँ हामी । कृपया अझै आठ दस महिना नाकाबन्दी त खुल्दै नखुलोस् प्रभु ! बरु अझै कसिलो बनोस् । झन कसिलो बनोस् । नाकाबन्दीले देश गोलमाल छ । यही गोलमालभित्र यस्तो मालामाल चलिरहेको छ । कृपया अझै आठ दस महिना नाकाबन्दी त खुल्दै नखुलोस् प्रभु !!

कलङ्की, काठमाडौं