सुतेपछि राति निदाउन भनेर
निद्रा नै लागेन भने पो फसाद पर्दो हो कसै(कसैलाई
त्यो रातको मुख्य काम पनि त भएन निद्रै नलागेपछि
निद्रा नलागेको रात  
रङ्ग(रङ्ग प्रवृत्तिका मान्छेहरू के गर्दा हुन् ?

चोर–डाकाहरू निदाएनन् भने ,
कि धेरै चोरी(डकैती गरेको धनमाल गनेर रात बिताउँदा हुन्
कि चोर्नै नपाएर सुक्खा लागेको
रित्तो रातलाई धारे हात लाउँदा हुन्
र, भावी चोरी–डकैतीका निम्ति फरक–फरक योजना बुन्दा हुन् !

लुटेरा(ठगहरूलाई निद्रा नलाग्दा,
भोलि कुन मुर्गालाई ठगेर थाङ्नामा सुताउने
अनि त्यही ठगीको पैसाले ट्वान्टी फोर आवर्स चल्ने
नाङ्गा डान्स बार, डिस्को थेक र क्याबिन रेस्टुरेन्टमा
टिप्स दिएर गराउने अम्मल लागिसकेको
हस्तमैथुन सम्झेर रोमान्चित हुँदा हुन् !

घुसखोर कर्मचारीलाई निद्रा लागेन भने,
कार्यालयमा आएका घुस नखुवाउने सेवाग्राहीहरूलाई सराप्दै
अब कुन उपायले श्रीमतीलाई
लेटेस्ट मोडेलको गहना किनिदिने
अनि कसरी बैना गरिसकेको
नयाँ घरजग्गा जोड्ने भनेर पिरोलिंदा हुन् !

भ्रष्टाचारी नेताहरू निदाउन सकेनन् भने,
चुनावमा भोट किन्दा लागेको खर्च उठाउने ध्याउन्नमा
देश कसरी डुबाउने,
जनतालाई कस्तो खालको सास्ती दिने
कुन काण्ड मच्चाउने भ्रष्टाचारको
र विदेशी बैंक भर्ने कल्पिंदा हुन् !

कुनै पेशेवर वेश्यालाई निद्रा आएन भने
कि ग्राहक नै नपाएर खडेरी लागेको मन रूँदो हो
कि अधिक ग्राहक थाम्न नसक्दाको पीडा दुख्दो हो !

निद्रा नलागेको रात धेरैले अनेकानेक सोच्दा हुन्
बिद्यार्थी, व्यापारी, किसान, मजदुर,
वकिल, पत्रकार, कलाकार, समाजसेवी, आदि–इत्यादि...
मान्छे मात्र होइन, पशुपन्छी र जीवजन्तुले पनि निद्रा नलाग्दा
के–के सोच्दै छट्पटाउँदा हुन् आ–आफ्नै कर्म, धर्म र पेशाअनुसार
तर, एउटा कविलाई निद्रा नलागेको रात
सारै पट्यारलाग्दो, लम्बेतान र बोझिल हुँदोरहेछ
केहि सोच्न, कल्पिन, गम्न, योजना बनाउन र गर्न नसक्दोरहेछ
सिर्फ एउटा अनिदो कविता फुराउनु बाहेक !

‘हिउँले आगो पगालेर’ बाट