प्यारी बिजुलीमायाँ,
खै किन हो, आजभोलि भेट हुन कठिन भो । साँझ विहान अक्कल झुक्कल झुल्कने तिमी आजभोलि त भेट हुनै छाड्यो । दिउसो म घर नभएको बेला र राती निदाएको बेला झुलुक्क आउँछ्यौ अरे । उज्याली भएर कहिले कसो देखा पर्ने तिमी आजभोलि कस्ती भयौ ? ठुलो जिज्ञासाको विषय बनेको छ । तिमी आउने भनेको समय पनि मैले कुरेँ । तर, तिमी झुलुक्क झुलुक्क मात्र गर्याै । तिम्रा लागि छुट्टिएको समयमा पनि पुरै देख्न पाइन । कहिलो कसो भेट भइहाल्यो भने पनि पुलुक्क हेरेर फर्किन्छ्यौ । सायद तिमी आएको मौका छोपी तिमीलाई थुनेर राख्ने चोरहरूका कारण तिमी डराएकी होला ।

तिमी विना मेरो जीवन पुरै अन्धकारमय भएको छ । तिम्री बहिनी ग्याँस कुमारीले पनि छाडेर गएको पाँच महिना भयो । उनको त झन अनुहार समेत देख्न पाएको छैन । भेटन पाउँछु कि भनेर सडक सडकमा लाइन बसेको बस्यै छु । तिनले कहिल्यै अनुहार देखाइनन् । ग्याँस कुमारी आइन् रे भन्ने हाल्ला सुनेपछि भोक निन्द्रा नभनी कुदेँ तर, भेट भएको छैन ।

प्यारी विजुलीमायाँ, तिम्रा बाले एक वर्ष भित्रमा मसँग रहर पुग्ने गरी तिम्रो भेट गराइदिन्छु भनेको ४ महिना पुगेको छ । तिम्रा बाको कुरा आजभोलि सवैले पत्याउनै छाडिसके । मैले पो कसरी पत्याउनु । तिम्रा बाले तिम्री बहिनी ग्याँस कुमारीलाई मेरो घरको भान्छामा पाइपे हाइवेबाट ल्याई दिन्छु भनेका छन् । तारे हाइवेमा जोडिएकी तिमी त आउन छाड्यौ भने नयाँ पाइपे हाइवे बनाएर तिम्री बहिनी मेरो घर आइपुग्ने कहिले पो हो ?

तिमी विना मेरो जीवन अधुरो र अपुरो भएको छ । यो मेरो अपुरो अधुरो जीवनलाई ख्याल राखी बेला मौका सम्झदै गर्नू । तिम्रा बासँग त तिमीसँगै सधँै छ्यौ । बालाई धेरै अपत्यारिला कुरा नगर्न सम्झाईदिनू । अहिले अरु अपेक्षा केही छैन । तिम्रो अभावले पीडा भोगी रहेको मलाई तिम्रा बाका कुराले झन पीडा थपिएको छ ।

उही तिम्रो
बिजुली कुमार (राधेश्याम)

–राधेश्याम खतिवडा