‘उद्धेश्य के लिनु उडिछुनु चन्द्र एक’ उद्धेश्य मात्र लिएर हुदैन चन्द्रमा छुनलाई उड्नु पर्छ । कुरा चाहिँ ठूला गर्ने अनि प्रयत्न सून्य भएपछि के काम बन्छ र । प्रयत्न गरे असम्भव के छ र । काम कोही नगर्ने, अरुले यसो गर्नुप¥यो उसो गर्नुप¥यो भन्दा हाँसेर उडाएर त हुन्न नि । इन्धन आपूर्ति सहज हुन छाडेको महिनौ भइसक्यो तै पनि गाडी गुडेकै छन् । ग्याँस नपाइएको महिनौं वितिसक्यो तै पनि भात भान्सो चलेकै छ । आँट गरे के नहुँदोरहेछ र । सर्वसाधारणले खाना पकाउने समयमा विजुली आपूर्ति नकाट्ने भनिए पनि जब खाना पकाउने बेला हुन्छ बत्ती झ्याप्प निभ्छ । अब चाहिं सबैको खाना पाकी सक्यो है भन्ने लागेपछि विजुली झुलुक्क झुल्किन्छ । कदाचित राइसकुकर सकेटमानै जोडिएको अवस्था रहेछ भने फेरि झ्याप्प गइहाल्छ । जावो निर्जीव बिजुली त यत्ति धेरै जान्नेबुझ्ने भैसक्यो हामी मान्छे कहिल्यै केही जान्दैनौं, बुझ्दैनौं ।

एकवर्ष भित्र लोडसेडिङ्ग अन्त्य गर्ने, सबैका घरका चुलोमा ग्यासको पाइपलाईन पु¥याईदिने र जनताको दैनिकी सामान्य बनाउने उद्घोष गर्नु भनेको ठूलो कुरो हो । काम त गर्नु प¥यो नि सम्बन्धित स्वयम्ले । विजुली उत्पादनको काम अहिले जुन गतिमा हिँडेको छ त्यही गतिमा हिँडिरहने हो भने, भएका संरचनाहरू पनि गतिहीन हुने हो भने एकवर्षमा सबै बिजुली ठप्प हुन्छ अनि लोड भए पो सेडिङ गर्नु ! जब लोड नै नभएपछि के सेडिङ गर्नु अनि भएन त लोडसेडिङ्ग मुक्त ? त्यसका लागि त आफै चनाखो भएर सौर्य उर्जा जडान गर्नुप¥यो नि घरमा । करोडौंको घर बनाउन सक्ने जाबो दुई लाखको सौर्य उर्जा जडान गर्न नसक्ने ?

हावाबाट पनि त विजुली निकाल्ने उपाय छ त त्यतातिर किन नलाग्ने ? फेरि हाम्रो देशमा हावाको कमि पनि त छैन । जताततै हावैहावा चलेको छ । राजनैतिक हावा, सामाजिक हावा, सरकारी हावा, अन्तर्राष्ट्रिय हावा र प्राकृतिक हावाको समिश्रण गर्दा छ सय एक किलोमिटर प्रति घण्टाको रफ्तारमा आँधि नै चल्छ । हावा प्लाण्टको स्थापना ठाउँ ठाउँमा गर्ने योजना पनि त नभएको हैन नि । काम त धमाधम भै नै रहेको छ । सकारात्मक हुनु प¥यो नि । खाली नकारात्मक मात्र हुने हाम्रो बानीले काम कहिले होला ?

खानेपानीको पाइप सबैको घरघरसम्म पुगेकै छ । हप्ता दश दिनमा एकदिन पानी तुर्किन्छ, बाँकी दिन पाइप खाली हुन्छ । पानीको पाइप ढलको बाटो भएर आएकै छ । त्यही पाइपलाई टु इन वान बनाएर बाँकीको दिनमा ढलको ग्याँस पाइपमा पठाउने प्रविधिको विकास गर्ने हो भने चुलो त के त्यसको बाजे पनि बल्छ । खाली नेताले बोलेको कुरामा हल्ल्ल हाँसेर हुन्छ ? नेता भनेको त बाटो देखाउने मात्र न हुन काम त आफैले गर्नु प¥यो नि । काम भुत्लोभाङ्ग केही नगर्ने अनि हल्ला मात्रै गरेर केही हुन्न । ‘नाच्न नजान्ने अनि आँगन टेढो’ । नाच्न जान्नेलाई ठाउँ कुठाउँ कहींको दर्कार हुन्न । घिन्ताङ्ग घिन्ताङ्ग मादल बजायो छम्छम् नाच्यो । नाच्न नजान्नेलाई मादल जति राम्रो तालमा बजाए पनि केही लाग्दैन । तालमा चाल मार्न सक्नु छैन ताल मिलेन भन्यो सकियो । अझ उस्तै प¥यो भने आँगन मिलेन टेढो भो भनेर टार्ने गर्छन् । त्यसैले नाच्न जान्नु प¥यो आँगन सोझो टेढो जस्तो भए नि नाचिन्छ ।

काठमाडौं