नेपालको एक नम्बरको सत्तारुढ दल नेकपा एमालेको साविक बमोजिमको नम्बर बिग्रिएको छ । यसको पार्टीगत अगुवाहरूका हालको नम्बरमा अलिकति ध्यान दिनोस् । दुई नम्बरकी उपाध्यक्ष कमरेड विद्यादेवी भण्डारी राष्ट्रपति भएर मुलुकको एक नम्बरमा आरामका साथ पुगेकी छन् भने पार्टीका नम्बर एकका नेता अध्यक्ष कमरेड खड्गप्रसाद शर्मा ओली प्रधानमन्त्रीका रूपमा दुई नम्बर हुनपुगेका छन् ।

अझ दुई नम्बर भन्न पनि त्यति मिल्दैन । किनभने सत्ताको पदेन परिदृश्यमा मौजुदा उपराष्ट्रपति क्रमागत हिसाबले दुई नम्बरका हुन् । हो, यहाँनेर प्रधानमन्त्री कमरेड ओलीलाई थोरै भए पनि सन्तोषको कुरो के हो भने उपराष्ट्रपति कमरेड नन्दकिशोर पुन ‘पासाङ’ नेकपा एमालेका नभएर एनेकपा माओवादीतर्फका हुन् ।

यही महामहिम राष्ट्रपति कमरेड विद्यादेवी भण्डारी तथा उपराष्ट्रपति कमरेड नन्दकिशोर पुन ‘पासाङ’पछि आफू स्वत तीन नम्बरमा पुगेको (दुई नम्बरसम्म पनि हुन नपाएर) उत्पातको झोंकमा प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओलीले आफ्नो सरकारी कुर्सी वरिपरि दुई नम्बरको सानोतिनो झुन्ड नै खडा गरेका हुन् कि ? अहिले उनले आफ्ना उपहरू अर्थात सरकारको दुई नम्बरमा एकमुष्ट तवरले बढोत्तरी गरेका छन् ।

यसलाई अझ प्रस्टसँग भन्ने हो भने प्रधानमन्त्री पश्चातका उपप्रधानमन्त्रीहरू गोटा ६ सम्म पुगिसकेका छन् । यसको स्वाभाविक परिणामस्वरुप सरकारमा पनि एक प्रकारको नम्बरीय गोलमाल प्रारम्भ भएको छ । अब कमरेड प्रधानमन्त्रीज्यू पछिको दुई नम्बरमा कुनचाहिँ उपप्रधानमन्त्री (सम्माननीय विजयकुमार गच्छेदारदेखि लिएर कमरेड सीपी मैनालीसम्म) हुने भए भन्ने सवालमा साफसँग अन्योल देखिएको छ ।

यसरी नै एकताका पुराना प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाका दुई उपप्रधानमन्त्रीहरू कमरेड खड्गप्रसाद शर्मा ओली र कमरेड अमिक शेरचनबीच दुई नम्बरी हुन कम्ता रडाको मच्चिएको थिएन ! यस समय त वर्तमान प्रधानमन्त्री कमरेड ओलीसँग दुई नभएर ६–६ वटा उपप्रधानमन्त्रीहरू रहेका छन् । यस्तोमा एउटा अर्को अर्थात् झन्डै सात नम्बरका उपप्रधानमन्त्री हुँदाहुँदै रहेकासँग मेरो नयाँ सडकको, भूगोलपार्कमा साक्षात्कार भयो ।

‘हेर्नोस्, मलाई उपप्रधानमन्त्री बनाइएन ।’ उनी बहुतै रोषमा थिए ।
‘मलाई उपप्रधानमन्त्री बनाउने वाचा दिएर पनि बनाउन चाहिँ बनाइएन ।’ लगत्तै उही तात्तातो लयमा थपे उनले ।
‘मलाई उपप्रधानमन्त्री बनाइएन ।’
‘किन, के भयो कमरेड ?’ उनी तेस्रोपटक पनि उसरी नै अभिव्यक्त भएपछि मैले सोधेँ ।
हुन त मसँग धेरै समयपछि भेट भएका मेरा परिचित नेता अहिले कमरेडको कित्तामा छैनन् । तर कुनै बेलाका एक बहुचर्चित कमरेड नै भएकाले मैले ‘कमरेड’ भनी सम्बोधन गर्न पुगेको हुँ । के गर्ने, पुरानो बानी हत्पत्ति जाँदैन क्यारे !
‘मलाई के कारणले उपप्रधानमन्त्री बनाउँछु भन्दाभन्दै नबनाइएको हो ?’ उनी एक समानको आफ्नो रटाइमा अडिग थिए ।
‘होइन, कुरो प्रस्टाप्रस्टीसँग भन्नोस् कमरेड ।’
मैले भनेँ ।
‘हेर्नोस्, मलाई उपप्रधानमन्त्री बनाउने आश्वासन दिनुभएको थियो ।’ उनको स्वरग्रन्थिमा उदासी देखियो, ‘तर बनाउने बेलामा अर्कैलाई उपप्रधानमन्त्री बनाइयो ।’
‘स्वयम् प्रधानमन्त्रीज्यूले तपाईलाई उपप्रधानमन्त्री बनाउने भन्नुभएको थियो ?’
‘अरु कसले भन्छ त ?’ मेरो प्रश्न सुनेर उनको क्रोध ममाथि नै सोझियो ।
‘होइन, मेरो मतलव अरु कसैले भनेका हुन् कि कमरेड ।’ म हडबडाएँ ।

एकाएक नयाँसडक, भूगोलपार्कको एउटा चिसो बेन्चीमा भइरहेको हाम्रो अनौपचारिक टाइपको वार्तामा अप्ठ्यारो स्थिति पैदा भएको थियो । म असहजताको मुद्रामा चुपचाप थिएँ । वस्तुत मलाई ‘के भनुँ के भनुँ’ भइरहेको थियो । मतिर एक सुस्त नजर दिएर उनले केही लरबराएको आवाजमा भने, ‘खुद... प्रधानमन्त्रीज्यूले मलाई... उपप्रधानमन्त्री बनाउँछु.... भन्नुभएको थियो... ।’
‘प्रधानमन्त्रीज्यूले नै ?’
‘हो, उहाँले नै मलाई बालुवाटारमा बोलाएर उपप्रधानमन्त्री बनाउँछु भन्नुभएको थियो ।’ अब भने उनी पर्याप्त मात्रामा दुखी भएका थिए, ‘तर अहिले अर्कैलाई उपप्रधानमन्त्री बनाउनुभयो ।’
‘त्यसो भए, यसलाई राम्रो भएको भन्न मिल्दैन कमरेड ।’ मैले विस्तारै भनेँ, ‘यो ठीक भएन ।’

मेरो सहानुभूतिपूर्ण वचन सुनेर उनले दुखले निहुरेको गर्दन यसो माथि लगे । उनको दुवै आँखाका नानीमा केही खुसीका झिल्काहरू देखिए । तत्पश्चात उनको शिर तल भयो । केही भनेनन् । मैले गम्भीर स्वरमा भनेँ, ‘तपाईलाई उपप्रधानमन्त्री नबनाएर प्रधानमन्त्रीज्यूले गलत गर्नुभयो कमरेड ।’
‘त्यही त, यो के गर्नुभएको हो प्रधानमन्त्रीज्यूले ?’ उनले टाउको उचाले ।
‘तर के ठेगान, प्रधानमन्त्रीज्यूले आफ्नो गल्ती सुधार गर्नु हुनेछ कि ?’ केही समयको निशब्दतापछि मैले सहानुभूतिको लबजमा बोलें, ‘उहाँले अब पनि तपाईलाई उपप्रधानमन्त्री बनाउन सक्नु हुनेछ कमरेड ।’ तुरुन्तै थपेँ मैले, ‘यस सम्बन्धमा प्रधानमन्त्रीज्यूले गम्भीरतापूर्वक सोचिरहनुभएको पनि हुनसक्छ ।’
केही बेर अड्किएर फेरि भनें, ‘केही समय त प्रतीक्षा गर्नोस् कमरेड ।’ र अन्त्यमा जोड दिएर भनेँ मैले, ‘मलाई त तपाई उपप्रधानमन्त्री जरुर हुनुहुनेछ भन्ने लागिरहेछ कमरेड ।’ मेरो लामो प्रवचन पाराको भनाइको प्रत्युत्तरमा उनको झुकेको गर्दन माथि भयो । उनको मुखमण्डलमा अत्यधिक प्रसन्नताको भाव थियो । उनी यही गदगदावस्थामा मलाई हेर्न थाले ।

वास्तवमा मैले मेरो परिचित नेता अर्थात् भूतपूर्व कमरेडलाई ‘उनी उपप्रधानमन्त्री हुनसक्ने’ भनी त्यसै भनेको थिइन । (होइन नै) । यो अकारण हुँदै होइन । यसको ठोस प्रमाणको रूपमा हाम्रो प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओलीको अहिलेको राजकीय हावभावलाई लिनोस् ।

मलाई के लाग्छ भने उनको यसदेखि बाहेक याने अरु उपप्रधानमन्त्री बनाउने चाहना मरिसकेको छैन । चाहे समाननीय उपप्रधानमन्त्रीहरूका संख्या आधा दर्जन भइसकेको किन नहोस् ! प्रधानमन्त्री कमरेड ओलीको अन्तरमनमा सातौं नम्बरको उपप्रधानमन्त्री बनाउने उत्कट इच्छा रहेको छ ।

त्यसउसले उनी कुनै रहस्यमयी कारणले सरकारबाट च्युत भएको नेपाली कांग्रेस पार्टीलाई सरकारसँग जोडिन बारम्बार आह्वान गरिरहन्छन् । यो जोडदार आह्वानमा एकाध थान उपप्रधानमन्त्रीका लोभलाग्दो कुर्सी नत्थी गरिएको हुन्छ ।

अब कुनै परिबन्द–सरिबन्दले बलजफ्ती प्रतिपक्षी हुनुपरेका (नेपाली कांग्रेस पार्टीका सभापति सुशील कोइरालाका भनाइ बमोजिम) हाम्रा कांग्रेसी भाइ–बन्धुहरूका जस्तो चञ्चल अतीत एवं चारित्रिक हैसियत रहेको छ, त्यसले यो घटित हुनु त्यति असम्भव पनि छैन । यही प्रधानमन्त्रीज्यू र नेपाली कांग्रेस पार्टी बीचको उपप्रधानमन्त्रीय गणितचाहिँ राम्ररी मिल्नुपर्छ । यस्तो हो भने सम्माननीय प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओलीका उपप्रधानमन्त्रीहरूका नम्बरले एक दर्जनको अंकलाई स्पर्श गरे पनि आश्चर्य मान्नु पर्दैन ।

कान्तिपुर, मङ्सिर ५, २०७२