मानिसले जीवन निर्वाह गर्न अनेक इलम र व्यवसाय गर्दै आएको छ । कोही के गर्छन् कोही के गर्छन् । थरी थरीका मानिस र थरी थरीका व्यवसाय चालु छन् । नेपाल कृषिप्रधान देश हो, यहाँ धान फलाउने छन्, कोदो मकै र गहुँ फलाउने छन् । फलफुल र तरकारी फलाउने पनि प्रशस्तै छन् । केही अल्छीखालका मानिसहरू फलाउने भन्दा खेलाउनेतिर खप्पीस देखिन्छन् । भद्रभलाद्मी जुवाडेलाई आफ्नै घरमा आमन्त्रण गरेर तास वा जुवा खेलाउनमै मस्त भेटिन्छन् कोही । एक थरी मानिसको भने खेतीपातीनै अरूलाई उडाउनु बनेको छ । गाउँघरतिर भेटिने यस्तो प्रवृतिका मानिस आजकल दुई चार अक्षर पढेर शहर पसेका छन् । जो कसैलाई उडाउन यतातिर धेरै सजिलो छ । माध्यमहरू धेरै छन् र जसलाई पनि बेफ्वाँकमा उडाउन सहज छ । बुरूक्क उफ्रेर गाली गरे पनि ताली पड्काउनेहरूको केही कमी छैन यहाँ । घरमा श्रीमती हुँदाहुँदै साली च्यापेर हिँडे पनि समाजका माली नै ठहरिने ठाउँ हो यो । त्यसकारण उड्दै उड्दै आएका यी उडन्तेहरूको मूल व्यवसाय नै अरूलाई बेपर्वाहसँग खसी खुइल्याए झैं खुइल्याएर उडाउनु रहेको छ । खेतीपाती भनूँ वा पेसा व्यवसाय नै जो कसैलाई उडाउने भएपछि यसैमा उनीहरूको दिनचर्या बित्नु स्वाभाविक हो ।

यो लखरठ्याक पनि सुदूर गाउँमै खाइखेली हुर्केको लठुवा हो । गाउँमा आफूभन्दा निकै बढी उमेर भएका एकजना जवाँमर्द थिए– थर नभनी हालौँ, उनको नामै उडुवा थियो । निकै पछिसम्म उनको नाम उडुवा कसरी रह्यो भनेर मैले थाहा पाएको थिइनँ । सामाजिक जीवनका घटना परिघटना बुझ्नसक्ने भएपछि मात्रै मलाई थाहा भो उडुवाको बानी गजबकै रहेछ । उनको आफ्नै घरमा दुहुनु भैँसी थियो, आजकालको जस्तो दुध बेच्ने चलन पनि थिएन । दुध दही र घिउको छेलो भए पनि उडुवा भने छरछिमेकीको घरतिर लुसुक्क पसेर दही भेटे, दही दुध भेटे दुध र घिउ भेटे घिउनै उडाइ दिँदा रहेछन् । घर करेसातिर घरीमा पाकेको केरा वा बोटमा पाकेको मेवा पनि उडुवाको नजर परेपछि त्यो उड्यो । दाउ हेरेर कुन सड्को उडाउँथे कसैलाई पत्तो हुँदैनथ्यो । उनको यस किसिमको आनीबानीबाट आजित भएर उनलाई सबैले उडुवा नाम जुराइ दिए । उरन्ठेउलो उमेर नाघेर घर गृहस्थी गर्ने पाको भइसक्दा पनि उडुवाको उडाउने बानी कायम रहेको कुरा उनका छिमेकीहरू बताउँछन् । यस्ता उडुवाहरूको बिगबिगी अहिले गाउँघरतिर त्यति छैन । अधिकांश उडुवाहरू भुरूरू उडेर कोही मलेसिया पुग्छन् त कोही कोरिया । रहलपहल रहेकाहरू चाहिँ शहर पसेका छन् र मान्छे उडाउनमै व्यस्त छन् ।

उड्ने उडाउने एउटै व्यवसाय भए पनि यसमा लागेका उडन्ते र उडुवाहरूको प्रकृति एवम् उडाउने कार्यको क्षेत्र भने फरक देखिन्छ । कोही एक दुई वर्ष खाडी मुलुकतिर उडेर फर्केकाहरू छन् । उनीहरू राजधानीमै अखडा बनाउने र विदेशतिर मान्छे उडाउने गर्छन् । गाउँतिरका घरखेत र बारी बुकुरो सस्तैमा उडाउन लगाई दामजति आफैं कुम्ल्याई ठिटाहरूलाई नाङ्गो पारेर विदेश उडाउने र उनीहरूले तिरेको मोटो रकमले आफूचाहिँ महँगा महँगा पजेरो गुडाउने गर्छन् । कोरिया भनेर कतार र युएसए भनेर मलेसिया उडाउनु उनीहरूमा रहेको विशेष खुबी हो । कोही चाहिँ बालबालिका र कलिला युवतीलाई फस्ल्याङफुस्लुङ पारी विदेशका कोठीतिर उडाउनमै व्यस्त छन् ।

अर्काथरी उडुवा छन् अलि टाठाबाठा खालका । उनीहरू केही पढेलेखेका छन् । कुखुराको पोथीले फुल पारेझैं कुराको फुल पारी पारी कुरा लेख्न सिपालु छन् । लोकतन्त्र सँगै हलक्क हुर्केको पत्रकारितातिर छिरेर कालोलाई सेतो र सेतोलाई कालै हो भनेर फुलबुट्टा भरी मान्छे उडाउनु उनीहरूको व्यवसाय बनेको छ । राज्यको चौथो अङ्ग भनेर स्वीकारिएको पत्रकारितामा छिरेका यी उडन्तेहरूको दिनचर्या मान्छे उडाउनमै बित्छ । पालिस लाएर आफ्नो कुरोलाई टलक्क टल्काउन अभ्यस्त यिनका कुरा नपत्याई धरै पाइन्न । राष्ट्रिय स्तरका अखबारमा भँगेरा टाउके अक्षरमा यिनले लेखेपछि होइन कुरो पनि हो, हो नै ठहर्छ ।

उडाउनका लागि यी उडन्तेहरू पात्र छनोटमा विशेष ध्यान दिन्छन् । हरेकको तिनपुस्ते विवरण उनीहरूलाई कन्ठस्थ छ । कुन बेला कसलाई कसरी खुइल्याउने र कसलाई कसरी हावामा उडाउने भनेर उनीहरू बिरालोले मुसा ढुके झैं ढुकिरहेका हुन्छन् । उडाउनु पर्ने पात्रले कुन ठाउँमा, के अवसरमा, कता फर्केर के बोल्यो भन्ने सम्मको जानकारी उनीहरूको पहुँचमा हुन्छ । बस्, वक्ताको त्यही बोलीलाई अलिकति रड्काउने, अलिकति पड्काउने, अलिकति छिमल्ने छास्ने र थोरैतिन तास्ने गरेपछि बिचरो वक्ता त बेलुन बनिहाल्छ । अनि अक्षर, शब्द र वाक्यमा थोरै चास्नी घोलेर मिडियामा घचेटेपछि मान्छे उड्न थालिहाल्छ । वा ! कति सजिलो मान्छे उडाउन ! न रकेट चाहियो न हवाइजहाज । पखेटा विहीन मानिसलाई काइदासँग आस्मानमा उडाउन सक्ने यी कलकारहरूको खुबी देखेर यो लखरठ्याक दङ्ग परेको छ ।

मुलुक अहिले अकल्पनीय सङ्कटमा छ । सङ्कटबाट पार लगाउनु सबै नागरिकको दायित्व हो । दायित्वबोध गर्दै कोही न कोही अघि सर्नै पर्छ । तर उडुवाहरूको लागि यो कुनै सङ्कट र समस्या नै होइन । दायित्वबोधले पिरोलिँदै कोही अघि स¥यो भने उसलाई साहस र ढाडस दिनु त कता हो कता उडुवाहरू उसलाई उडाउनमै मस्त छन् । कुरा कथुरेर फुलबुट्टा भर्दै उडन्तेहरू मान्छे उडाउनमै व्यस्त छन् । बस् उनीहरूको खेतीपाती भनूँ वा इलम व्यवसाय यसरी नै चलिरहेको छ । राष्ट्र, राष्ट्रियता र स्वाभिमान भन्ने कुराको हेक्का नराख्ने यी उडुवाहरूको दानापानी चाहिँ कसरी चलिरहेको छ कुन्नि ! वर्षमा एक पटक दसैँतिहारमा हात लाग्ने चिल्लो खामले मात्र त पक्कै धान्दैन होला । कि भारतीय दूतावासबाट मासिक स्यालरी उडाउने गरेका छन् हँ ? यो कुरो जान्न भने लखरठ्याकलाई औधी सकसक लागिरहेको छ ।

कलङ्की, काठमाडौं