शहरमा एउटा घर छ
घरमा एउटा कार छ
हिराको पनि हार छ
पाखामा घडेरी हुने टार छ
तर के गर्ने भोलेश्वर
म त भिखारी नै रैछु
त्यसैले हजुरसँग अझै मागेको माग्यै छु ।

मैले हजुरसँग मागे जस्तै
अर्को भिखारिले पनि मसँग माग्छ
सुर चले दिन्छु नभए खाली हात भाग्छ
सोच्छु हजुरलाई पनि के त्यस्तै लाग्छ ?
हजुर मेरा मालिक
ऊ पनि मलाई मालिकै भन्छ
भन्नुस् त ख्वामित
एउटा भिखारी अर्को भिखारी
कसरी मालिक बन्छ ?

छोरो परार बिदेश गयो
छोरी यसपाली गई
बुढी पनि सुब्बा थी
यो पाली हाकिम भई
तर प्रभु गर्नु पर्ने कुरो अझै ताँती छ
लामो लिस्ट नै छ
माग्नु पर्ने धेरै बाँकी छ
के गर्ने डोलेश्वर
म त भिखारी नै रैछु
त्यसैले त हजुरको पछि लागेको लाग्यै छु ।

त्यो भिखारी पनि
मेरो पिछा लागेको लाग्यै छ
छैन भने पनि मसँग मागेको माग्यै छ
म लाख कमाउँदा
ऊ सय कमाउँछ
एक रुपैया पायो भने पनि
म भन्दा धेरै रमाउँछ ।

ऊ कचौरामा थाप्छ
म बक्सामा थाप्छु
ऊ मस्त र आनन्दित देखिन्छ
तर म यो भएन त्यो भन्दै खाली फलाक्छु ।
मागेको माग्यै छु प्रभु
हजुरको पिछा लागेको लाग्यै छु
लाग्छ अब त
त्यो भन्दा त ठुलो भिखारी म पो रैछु ।

दाङ, हाल : काठमाडौं