(असरफ फयादमा समर्पित)

कसैले मार्नु पर्दैन हाम्रो यो देशमा कवि
आफै खान नपाएर भोकै मर्छ यहाँ कवि ।।

कसैलाई काँध थापी माथि माथि पुर्याउँछ
भरे उसैले कविको गाड्ने खाल्टो खनाउँछ ।।

निन्दा गर्छ दुरात्माको ऊ हाँसी मात्र सुन्दछ
गैंडाकोझैं कडा छाला कवि व्यर्थ कन्याउँछ ।।

वाह भन्ने निकै हुन्छन् हरे भन्ने कहाँ हुनु
जोताउने त धेरै छन् भलो गर्ने कहाँ हुनु ।।

साइनाइड पाएमा खान्थें भन्छ यहाँ कवि
त्यो समेत कुनै दिन्नन् गल्दै मर्छ स्वयं कवि ।।

कविले यो बुझेको छ छोड्न सक्तैन लेखन
ऊ आफ्ना लागि माग्दैन अरूको लेख्छ वेदना ।।

भोक लाग्दा चन्द्र हेरी रोटीको कल्पना गरी
तारा सितनका साथ कवि बस्छ भुँडी भरी ।।

कवि मारेर मर्दैन अजरामर हुन्छ यो
कवि हो सिर्जना भन्नु देह ता गेह मात्र हो ।।

जहाँसम्म छ यो भाषा विचार जबसम्म छ
कविको सिर्जना बाँच्छ काव्यमा लटरम्म छ ।।

कविले यो बुझेको छ ऊ हाँसीकन बाँच्तछ
आउने सन्तानलाई आस्थाको ज्योति साँच्तछ ।।

काठमाडौं