साँझ–साझ् परेको बेला, सुनसान् बाटो र आफू एक्लो यात्री भएकाले अलि चनाखो भएर म जाँदै थिएँ त्यसै बेला मभन्दा करिब तिन सय मिटर जति पर अस्वाभाविक उज्यालो देखियो । त्यो नौलो दृश्यले मलाई आश्चर्यचकित बनायो साथसाथै पहिले त जिज्ञासु पनि । मेरा हिँड्दै गरेका पाइला टक्क अडिए जहाँको त्यहीँ । जतिजति त्यो अज्ञात प्रकाश पुञ्ज मेरा नजिक नजिक हुँदै आउँदै थियो उति उति मेरो शरीर चिसिँदै गै रहेको अनुभव गर्न थालेँ । मेरा बिपरित दिशाबाट मतिर आइरहेको उज्यालो पक्का पनि भूतप्रेत वा दोख हुनुपर्छ जो मलाई सलक्क निल्ने अभिलाषा राख्तछ भन्ने डर हाबी हुँदै जान थालेर ।

नठानोस् पनि किन र ! मैले आफूलाई जतिसुकै आधुनिक जमानाको निडर बनाउँन खोजे पनि आमा हजुरआमाका भूतप्रेत र तर्साउने मुर्कुटाहरूका कथाबाटै दिक्षित मन त छ नि मसँग पनि । लगभग मेरो एकप्राण गैसक्ता ऊ चिनिने ठाउँमा आइपुग्यो । जाज्वल्यमान आभाबाट घेरिएको उसको मुखाकृतिबाटै मैले उसलाई चिनेँ ऊ ईश्वर थियो ।

उसलाई चिन्नासाथ मेरा खुट्टाले भुइँ छोडौला झैं गर्न थाले तर मैले संयम अपनाएँ र योजना बनाउन थालें– “कम्तिमा पनि म रवीन्द्रनाथ ठाकुरको भिखारी जस्तो मूर्ख र कृपण हुनेछैन किन कि म नेपाली हुँ । नेपालीले बडो सुझबुझका साथ र आफूलाई खुबै दीन हीनका रुपमा प्रस्तुत गरेर माग्नु पर्छ भन्ने कुराको हेक्का हुनुपर्छ भन्ने प्रत्येक नेपालीमा कुट्कुट भरिएको हुन्छ तब न नेपाली !” भन्दै र आफू नेपाली भएकोमा गर्व गर्दै आफूलाइ पूर्णरूपले माग्न तयार पारें अनि मैले बगली छामे । मेरा दुवै बगली एक दुईका सिक्काले टन्न भरिएका थिए । मैले दुईटै बगलीलाइ हातैले जोखेर हेरें एक एक किलोका त थिए होला ।

अनि म दङ्ग परेर उसको प्रतीक्षा गर्न थालें घरमा भित्रिने दुई किलो सुन र भविश्यको मेरो रइसी जीवनको कल्पनामा रम्दै ।

गौरादह–१२, झापा