महामहिम नरेन्द्र मोदी (नमो) ज्यूके सहस्र नमन् !

लोकसभा निर्वाचनमा बीजेपीले स्पष्ट बहुमत लुँड्याउने छनक देखिनासाथ चतुरेहरूले तपाईंको आसन्न ‘मायावी’ नेतृत्वको बखान गर्न थाल्दा म बकम्फुस भने विशुद्ध नेपाली पाराले ओठ लेब्राउँदै बसेको थिएँ । रिसानी माफ रहोस्, यसमा मेरो कौनो कसुर नाहि । खासमा, हामी नेपालीलाई नेतृत्व र ल्याकत भनेका दुई ध्रुवमा पाइने फरक–फरक जिनिस हुन् भनेर बुझाइएको थियो । अझ कसैले ‘चमत्कारिक’ भन्ने फुर्का पनि भिरेको छ भने त त्यो अझ् कान धुजा–धुजा परेको जोगी हो भनी बुझ्दथ्यौं। हजुरको नेपाल आगमनले भने हाम्रो यो गोज्याङ्ग्र्रोपनलाई स्यालको शीरमा सिङ झैं गायव बनाइदिएको छ ।

महामहिम नमो, आफ्नो मुखारविन्दबाट संसदमा बर्सिएको मधुरसले भिजेको हल्लुँड बेसुरमा बर्बरायो नभनिबक्सेला । यसमा म बबुरोको के कुरा, हाम्रा संसद्का ६०१ धुरन्धर समेत नेपाल सार्वभौम मुलुक रहेको, बुद्ध नेपालमै जन्मिएको, पानी र जवानी ओरालो लाग्छ लगायतका नवीनतम दिव्यज्ञान पाएर तकरिबन बेहोश नै हुन पुगे । नत्र, तिनले ताली पिट्न आमसभामा ओसारिएका मतदाता माफिक भएर टेबुल ठोकान गरेको हेर्ने अवसर कदापि नसिब हुने थिएन, हजुरलाई ।

‘विशिष्ट’ सम्बन्ध रहेको छिमेकका सर्वशक्तिमान कार्यकारी प्रमुखबाट यस्ता दिव्यवाणी सुनेर नेपालभर चलेको हर्षबढाइँ हाम्रो घुर्मैलो मित्रताको युग समाप्त भएको झकास प्रमाण हुन पुगेको छ– हजुरबाट ‘प्रेसक्राइब’ भएको ‘समग्र नेपालबारे सोच्ने’ क्याप्सुलको रिएक्सनले कोही मानिस फिलहाललाई कोमामा पुगे’नि । गामबेसी–कमबेसी समावेशी संविधान लेखिने सम्भावना त मौसम पनि उस्तै परेर होला, भालुबाँसको तामा झैं उर्ध्वगामी हुन पुगेको छ । हामी नेपालीहरूले शुभशङ्कै नगरेको कुरा सुन्न पायौं, यो हजुरको महामाया नै हो ! ओम नमोको प्यारभरा खप्की कति कारगर भएको छ भने, हाम्रा सभासद्हरू त्यही अपरान्हाबाट कसरी ‘ऋषिमन’ बनाउने भनेर यत्रतत्र टोलाएका टोलायै छन् ।

महामहिमको पादुका गुज्रने तय भएका कान्तिपुरी नगरीका सडक–चौराहाहरूको त कायाकल्प नै भयो । हिलाम्मे–धुलाम्मे सडकहरू रातबिरात टाइम्स स्क्वायरसँग सेखी गर्ने हैसियतमा पुगे । खण्डहर सिंहदरबारका भित्ताहरू संगमरमरमा रूपान्तरित भए– भष्म भएको खाण्डव वन माया दैत्यको मायावीबाट इन्द्रप्रस्थमा तब्दिल भए झैं ! कसले भन्छ हाम्रो सुको सरकार सुस्त र कर्मचारीतन्त्र अल्छी छ ? यिनले त बस् हजुर जस्तो मायावीको प्रतिछाया मात्र देख्नुपर्छ ! उता संविधानसभामा हाजिर हानेर कक्षा ‘बंक’ गर्न पल्केका पङ्कहरूका कारण कहिल्यै कोरम नपुग्ने गरेकोमा हजुरको माया शक्तिले कर्रा धार्नी पुर्यायो ।

नमो हजुरले बार–बार ‘नमन् करेंगे’ भनिदिंदा त सभासद्हरूले खल्तीको मोबाइल स्वाट्ट झिकेर ‘हवन करेंगे, हवन करेंगे’ बोलको गीता डान्स गरिदेलान् कि भनेर कस्तरी हाम्रो मन हुँडलिइरह्यो । र पनि, हजुरको सान्निध्यमा सभाभवन शिष्ट भइरह्यो । प्रम सुको स्वयंले शिष्टाचारको मेसो नपाएको बेला सभासद्हरूले शिष्टताको भेट्ना छोडेनन् । “तपाईंहरूसँग वाटर, बिजुली, सब्जी–मिर्ची के छैन ?” हजुरले डाँटिस्यो, “बिजुली पनि कसैले मुफ्तमा लिने चिज हो त, बेवकुफो !”

यो सुनेर मखलेल हाम्रा नेतागण टेबुलपर टुटपडे । दशकौंदेखि तन्द्रामा रहेकाहरूलाई झट्कासे ब्यूँझाउन सक्नुले पनि हजुर मायावी भएको ठोस प्रमाण पेश गर्छ । अब हाम्रा माननीयहरू संसदीय विकास कोषको रकम वृद्धि गर्ने अभियान छाडेर देश विकासबारे चिन्तनशील होलान् भन्ने आश पलाएको छ । हजुरसँग रुबरु हुन नपाउन्जेल के माग्नु उत्तम हुन्छ भन्ने विषयको मगजमारीमा व्यस्त हाम्रा घागडान मगन्ते दार्शनिकहरूको पनि सारा विभ्रम टुटेर आँतैदेखि विचार र स्वर फेरिइसकेको स्थिति हो ।

मायावी महामहिमसँग आखिरी बिन्ती छ– अब अर्बौं–खर्बौं रोगडासँगै आफ्नो एउटा प्रतिमूर्ति पनि पठाइदिने कृपा होस्, जसलाई हामी लुम्बिनी र जनकपुर बाहेकका गाउँ–शहर डुलाउने छौं । प्रतिमूर्तिको परिभ्रमण हुने मार्गहरूमा हाम्रो सरकार र कर्मचारीतन्त्रले विकासको मूल फुटाउनेछन् । अन्त्यमा हजुरको प्रतिमूर्तिलाई संविधानसभामा राख्नेछौं र हाम्रा नेतागण जिम्मेवार भएको हेर्नेछौं । तस्मै श्री मायावी नमो– नमो नमः !

साप्ताहिक खबरपत्रिका हिमालबाट