साँझमा रेल यात्रा
१. ओरालो झरिसकेको घाम
टाउको उठाएर हेर्दैछ पहाडलाई
सोच्दै होला
भोलि बिहानसम्म यी बस्तीहरू
कसरी बाँच्लान् अँध्यारोमा ?
तर किरणहरू पालेर बसिरहेछ आकास
मानौँ आकास किसानको भकारी हो
मिलसम्म लान
केही उज्यालो अझैँ बाँकि छ भकारीमा ।
(रात झर्नुअघि सधैँ यसरी नै
उज्यालोको अनिराल टार्छ आकासले ।)
धरतीले घाम छेके पनि
साँझमा
आकासले उज्यालो राख्छ धरतीलाई ।
२. ताल परेका खेतहरूमा
सायद दिनभरी पौडिए होला घाम
र थाकेर मस्त
यसरी धानका गाँजहरूमा सुतिरहे होला !
अँध्यारो फन्फनी घुमिरेछ रेलको पाङ्ग्र्रामा
सम्मुखमा छ कवि निमेष निखिल
सोच्छु–
कवि निमेष पनि त एउटा घाम हो
जो जीवनको गाँजमा पौडिदै अल्झिएर
वा अल्झिँदै पौडिएर
उमेरको नदी बगिरहन्छ ।
३. झ्यालबाट हेर्छु
आकास कपासै कपासको फाँटजस्तो देख्छु
बादलका हलगोरू जुवामा बाँधेर
बादलको बाउसोले छेउकुना खनेर
सायद चराहरूले कपास फलाए ।
दुर्भाग्य !
तल धरतीमा किसानहरू
हिउँदभरि
न्यानो नपाएर छट्पटाइरहनेछन् ।
४. दिनभरिको गर्मीले बाफिएको छ धरती ।
यो साँझमा चराहरू
चुच्चोमा तातो हावा भरेर
गुँड फर्किएका छन् ।
र सपनाको बिउ छरेर खेतमा
लखतरान
गोरु खेद्दै घर फर्किएका छन् किसानहरू ।
नवलपरासी