नयाँ नयाँ प्रविधिले मानिसलाई कति सजिलो बनाएको छ भनि साध्य छैन । कयौं महिनासम्म नहुने काम एकै मिनेटमा सम्पन्न हुने भएको छ । लाख कोसिस गर्दा पनि माखो नमरेको काम पनि एक कलबाट पूरा हुन सक्ने भएको छ । यस्ता प्रविधिको आविष्कार गर्ने आविष्कारकलाई हृदयदेखि नै धन्यवाद टक्र्याउन मन लाग्छ । अझ नयाँ नयाँ आविष्कारको खोजी गरेर विश्वलाई उथलपुथल पारिदिए पनि हुन्छ जस्तो लाग्छ ।

म पनि त नयाँ नयाँ प्रविधिबाट अलग्गिन सकिन । एउटा थोत्रो खालको मोबाइल बोकेर हिड्न थाले । कही कतैबाट फोनको घन्टी बज्नासाथ हतार हतार फोन उठाउछु । एक पटक नयाँ नम्बरबाट फोन आएकोले मैले फोन गर्ने पात्र पहिल्याउन सकिन । हेलो को बोल्नु भएको र कसलाई खोज्नु भएको भनेर मैले सामान्य औपचारिकता दर्शाए । “के चिनेर पनि नचिनेको जस्तो स्वाँगे अभिनय गर्नुहुन्छ” भनेर उल्टै प्रतिप्रश्न तेस्र्याइन् । म अवाक भए । तैपनि पहिचान गर्ने चेष्टा गरे । सकेसम्म सम्झने र चिन्ने प्रयास गरे,न्वारानदेखिको बल बुद्धि लगाए तर मेरो कुनै बुता चलेन । पुनः नम्र स्वरमा भनेँ “मैले हजुरलाई चिन्न मुस्किल प¥यो कृपया परिचय पाउन पाए गफको सिलसिला अगाडि बढाउन सजिलो हुने थियो कि ?” “अब त मानिस चिन्न पनि छोड्नु भएछ त । यसो के स्थानीय साप्ताहिक पत्रिकामा स्तम्भ चलाउन थाल्नु भएको छ अब त मान्छे चिन्न पनि छोड्नु भयो ?” मलाई पनि ज्यादै जङ चल्यो । “हजुरले गलत नम्बरमा फोन गर्नु भएको जस्तो छ । एक पटक राम्रोसँग नम्बर हेरेर फोन गर्नुहोला” भनेर फोन राखिदिएँ ।

एक छिन पछि पुन त्यहि नम्बरबाट फोन आयो । फोन उठाएँ– “हेलो तपाईले कसलाई खोज्नु भएको हो ?” “मैले हजुरलाई नै खोजेको हो । कृष्ण उफान भनेको तपार्इं होइन ? म तपाईंको लेखको फ्यान हूँ । मलाई तपाईंका लेखहरू असाध्यै मन पर्छन् । म दोहोर्याई दोहोर्याई पढ्छु । त्यतिले पनि चित्त नबुझेर पुन पढ्न विवश हुन्छु । असाध्यै चोटिला लेखहरू लेख्नुहुन्छ । तपाईलाई धेरै धन्यवाद” मात्र के भनेकी थिइन् मैले भनेँ– “हजुर मेरो लेखको फ्यान बन्नु भएकोका धेरै धेरै धन्यवाद” भनेर फोन राखिदिएँ । मलाई यस्तरी फुक्र्याएको सायद जीवनमा नै पहिलो पटक हो । त्यसैले गर्वले आफ्नो नाक त घिरौँला भन्दा पनि ठूलो भएछ कि क्या हो भनेर हतार हतार नाक छामेको त के को घिरौँला जत्रो हुनु नि । बदलिँदो मौसमको कारण रूखाखोकी र मर्कीले गर्दा नाक भरी लत्पतिएको नाके सुली पो हात भरी लागेर बेहालत बनायो ।

पुन मोबाइलमा घन्टी बज्न थाल्यो । मलाई हैरान नै बनाउने भइन् । करले फोन उठाएँ– “हेलो फेरि किन फोन गर्नु भएको” भनेर प्रश्न तेस्र्याएँ । “अरे किन रिसाउनु हुन्छ । मरी जाने चोलामा मरेर के लानु छ र ? किन मदेखि उतर्सिएर भाग्न लाग्नु भएको ? के फोनबाट गफ गर्न पनि लाज लाग्छ कि क्या हो ?” भनेर प्रश्नहरू पो बर्षाउन थालिन् । अब चाहिँ साँच्चै नै मज्जाले गफ गर्ने विचारले उनको परिचय सोध्न थालेँ । तर उनले मलाई आफ्नो वास्तविक परिचय दिन हिचकिचाइन् । ठिकै छ, मेरो लेखलाई ध्यान दिएर पढ्नु भएकोमा हार्दिक धन्यवाद । अव आइन्दा घरी घरी फोन गरेर मलाई हैरान नपार्नु भएमा धेरै भन्दा धेरै राम्रो हुने थियो कि ?” भन्दै फोन राखिदिएँ ।

म आफैले फोन नगर्नु होला भनेर सरकारले राष्ट्रपतिलाई आफ्नो मान मर्यादामा रहनुहोला भनेर दिएको झैं उनलाई चेतावनी दिएँ । पछि मनभरी उकुसमुकुस भएर खुल्दुलीले काइदासँग डेरा जमायो । मलाई घरी घरी फोन गरेर मिठा मिठा गफ गर्ने, कोइलीको झै सुरिलो आवाज भएकी त्यो नारी आवाज कसको होला भन्ने कुरा मेरो मथिङ्गलमा घुमिरह्यो । जति सम्झाउन खोजे पनि मनले अटेर गरेर तिनकै फोनको प्रतिक्षामा बसिरहेँ । भोलिपल्ट पनि उही समयमा त्यही नम्बरबाट फोन आयो । मेरो प्रतिक्षाको घडी समाप्त भयो । अघिल्लो दिनको भन्दा नम्र भएर मैले फोन उठाएँ– “हेलो आज फेरि किन फोन गर्नु भएको त ? मैले केही सेवा गर्र्नु पर्छ कि ?” लामो सुस्केरा हाल्दै– “हरे ! किन त्यस्तरी आत्तिनु भएको ? एक जना केटीले फोन गर्दैमा के के न भएको जस्तो गरी आत्तिनु हुन्छ भने तपाईंले जीवनमा के गर्न सक्नु होला र ? परेवाको भन्दा पनि सानो मुटु छ कि क्या हो ? नआत्तिनुहोस् न तपाईलाई म मेरो मनका कुराहरू मन खोलेर भन्न चाहन्छु । यदि मलाई अनुमति दिनुहुन्छ भने म मेरा मनमा गुम्सिएर बसेका, उकुसमुकुस भएर मडारिएका सबै कुराहरू ओकल्ने विचारमा छु । चाहना, आकाङ्क्षा र रहरहरू तपाई समक्ष पेश गर्ने इच्छा छ ।” म ज्यादै दोधारमा परेँ । बाबुराम नेतृत्वको सरकार जस्तो । सरकारमा टासिएर बसिरहूँ भने संविधान बनाउनको लागि दम छैन । निर्वाचनमा जाउँ भने प्रतिपक्ष सधैं विरोधमा उत्रिरहन्छ । सरकारबाट बाहिरिन खोज्यो भने दल भन्दा बाहिरको बहादुरलाई सरकार छोडेर जानुपर्ने स्थिति आउला जस्तो छ । अनुमति नदिउँ भने घरी घरी फोन गरेर हैरान पार्छिन् । अनुमति दिउँ भने कुन भड्खालोमा जाक्ने हो ?

मानिसमा कुनै न कुनै स्वार्थ नभइकन यसरी कुनै अपरिचित व्यक्तिसँग नजिकिन खोज्दै खोज्दैन । स्वार्थी दुनियामा कुन माइकेलाल होला र अरूको हितको लागि मात्र काम गर्ने ? न प्रेम प्रस्ताव राखेर मेरो जिन्दगीको सुन्दर बगैंचामा भाइरस बनेर छिर्ने प्रयास गर्ने हुन् ? मेरो एउटा छुट्टै सानो घर संसार छ । मसँग जे छन् त्यहिमा सन्तुष्टिका साथ रमाइरहेको छु । आँट नभएको छोरो र रूप नभएको छोरीको काम छैन भन्ने हुन् कि ? कतै यस्तो अल्झोमा पारेर “तीन वटा गोरु हल पक्का दुई वटी स्वास्नी घर पक्का” भनेर मलाई अथ्र्याउने पो हुन् कि ? यस्तै यस्तै कुराहरू मेरा मनभरि जेलिएका छन् । नेपाली राजनीतिमा जस्तो सहमतिको डोरी तन्काएर राख्न पनि मन छैन । अर्को कुरा उनलाई आश्वासनमा अल्झाएर नेताहरूको जस्तो झुटो बोल्न पनि आउँदैन । दुविधामा अल्झिएको मनले कहिले शान्ति पाउने हो ? नेपालीले आशा गरेको नयाँ नेपालको संविधान नपाए झै आशातीत आशामा अल्झेर बसिरहनु पर्ने त होइन ?

विज्ञ पाठक वृन्द ! प्रेममा भुक्तभोगी भएर प्रेम विश्वविद्यालयबाट पिएचडीको उपाधी पाइसक्नु भएको छ कि ? यदि प्रेममा विज्ञ हुनुहुन्छ भने मोबाइलमा अल्झिएको प्रेमबाट कसरी छुटकारा पाउने हो ? कुनै तौरतरिका भए मलाई सुटुक्क बताइदिनु हुन्छ कि ?

मन्थली– २, रामेछाप