हामी पर्यौँ विकट कष्टविषे सदैव ।
सम्झेर बस्नु नभए पनि पर्छ दैव !
क्या यो छ जीवन कठै पशुकै समान !
बोली फुटाल्न नमिली भइ थर्कमान ।।

छौँ च्यापिई सहज दास बनीरहेका ।
धारा सहस्र पसिना चुहि नै रहेका !
टाढा छ न्याय निमुखाहरूका निमित्त ।
त्यै भैदिएछ नजिकै धनिका निमित्त ।।

यस्तो छ हालत भएन सहेर सारा ।
वीते कति मनुज देख्न नपाइ तारा !
व्याप्तै छ देश अति शोषणका रसीमा
घोट्नु छ देशकन चेतनको कसीमा !!

अन्यान्य राष्ट्रहरुमा कति भो विकास !
हामीहरू बिच सधै छ कडा विवाद !!
त्यागेर स्वार्थ हित गर्नु छ रङ्कलाई !!!
जो गर्दछन् गदर जीवन धान्नलाई ।।

पुगे भनिन्छ शशिमा नर टेक्न पाउ ।
घुमे भनिन्छ नभका अनगिन्ति ठाउँ !
देखे भनिन्छ जिवका अति सूक्ष्म कोष ।
हिम्मत् झिकेर नगरेपछि के छ दोष ?

उडे पराइहरू वायु बनाई यान ।
गूडे पराइहरु नै चढि जीप भ्यान !!
देशोन्नती गर न ऊठ जगाउ ज्यान ।
खप्छौ कती सकस भो अब थूत म्यान ।।

पल्टाउ पर्वत पहाड पछार साथी !
जो गर्दछन् दमन शोषण आफूमाथि ।
छप्काउ छोप छलछाम गरी ठगेका ।
जो छन् कसिङ्गर सरी धनमै बगेका ।।

कालो कलङ्कविनु देश बनाउ साफ ।
चोट्टाहरुकन कदापि नदेउ माफ !!
भन्ने अनेक दिलदार उदार वाणी ।
वाचा दिएर जनमानसमा वखानी ।।

भोग्यौ सजायँ अति क्रूर र भिष्म धेरै ।
गोली लियौ सहज वक्ष खुलाइ धेरै !!
अर्प्यौ शरीरतक सक्षम पार्न देश !
चाक्डी र चाप्लुसिविना लिइ ध्येय वेश ।।

देख्यौ निरन्तर मिठा अनगिन्ति स्वप्ना ।
फ्याँक्यौ निरङ्कुश प्रथा दिइ ज्यान दान ।।
साकार हुन्छ सपना भनि आश गर्दै !
आयौँ अनेक सिँढि पार गरेर बढ्दै ।

खै आज ती सकल स्वप्न कता परेछन् ?!?
सानन्द आफु पदमा सब मस्त नै छन् !!
ओहो ! सहीद सपना त कता गएछ ?
साकार हैन सपना सपनै भएछ !!

(आजभन्दा २१ वर्ष अघिको शहीद दिवस पारेर लेखेको रहेँछु यो कविता । यतिका वर्ष वित्दा र यत्रो परिवर्तन हुँदा पनि खै त शहीदको सपना सपनैमा सीमित हुने त भो नि ! उनीहरूले प्राण दिएको के यस्तै अवस्था ल्याउनको लागि हो ? उनीहरूको रगतले नधिक्कार्दै सोँचे हुन्थ्यो हाम्रा राजनेता–जननेता र धननेताहरूले !!!!)

बम्घा गुल्मी