सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

यात्रा : धुलाबारीदेखि मुलाबारीसम्म

Nepal Telecom ad

यात्रा : धुलाबारीदेखि मुलाबारीसम्म
होम डेलिभरी सर्भिसमा

सम्झिँदै ल्याउँदा बासँग विछोड भएको पनि ठ्याक्कै चौध वर्ष पुगेर पन्ध्रौं वर्षमा पनि टेकिसकेछ । अर्थात् बाको पन्ध्रौं स्मृति दिन पनि आइसकेछ । यसो पिण्डपानी गर्नुपर्ने । जानुपर्ने मुलाबारी अर्थात् वाहुण्डागीको वडा नं ५ मा पर्ने खम्बुटार गाउँ जहाँ मजस्तै मुलाहरू उम्रेर, हुर्केर पनि बाहिर कतै जान नसकेर अथवा ठाउँ नपाएर त्यहीँ खाँदिँदै सिन्की बनिरहेका छन् । त्यसको अपवाद मै मात्र, त्यो पनि त्यहाँ गएपछि उतै खाँदिन मन लाग्ने, किन हो किन ।

अँ, मेरो ‘मुलाबारी’ जानुपर्ने धुलाबारीको बाटो भएर, जहाँका लागि एउटा बडेमाको याक्सा जस्तो बुढो बस पेटभरि सिन्की खाँदे जस्तै मानिसरूपी ‘मुलाहरू’ कोचेर बेलुकी चार बजेतिर महिना पुग्न लागेको ब्याउने बुढी बाख्री झैं ठस ठसी कन्दै सकी नसकी उत्तरतिर लाग्छ । यसको प्रस्थानविन्दु विर्तामोड र गन्तव्य मेरो मूल घर भएको ठाउँ मुलाहरूको बारी अर्थात् खम्बुटार ।

पहिले पहिले थाप्लाभरि नाम्लाको डाम पारेर धुलाबारीसम्म तीन घण्टाको चुइँ–चुइँ पैदल यात्रामा आफ्ना लागि सातुसामल र लुगाफाटाका गुन्टाहरू बोकेर खुइ काढ्दै हिँडिन्थ्यो अनि विद्यार्थी सहुलियत भाडा रु. ६ तिरेर धरान पुगिन्थ्यो क्याम्पस पढ्दा । सौभाग्यकै कुरा छ आज त्यस्तै अवस्थाको भए पनि बसमा चढेर आफ्नो घरसम्मै पुग्न सकिन्छ भाडा चाहिँ धरानै पुग्न सकिने गरी किन नलागोस् । त्यही पनि ‘वन उपभोक्ता समिति’ नामको जन्तुले जङ्गलका रुख बेचेर आफ्नो मङ्गल गरिसकेपछि (नगरेको पनि हुन सक्छ) उबारेको पैसाले खोलाका ढुङ्गा बालुवा भरेर यतिको बाटो बनाइदिएकाले यति मात्रै भए पनि सुविधा पाइएको छ । यसका लागि उक्त समितिलाई धन्यवाद दिनै पर्छ ।

बाको तिथिको लागि मूल घर पुग्नुपर्ने । पौने तीन वजेतिर विर्तामोडबाट ‘त्रिवेणी’ नामको त्यो ‘बुढी बाख्री’ भेट्नुपर्ने । एक खँुगी छोरीहरूमध्येबाट दुइटीलाई टिपेर बाहुनीलाई अघि लगाएर श्राद्धका लागि खुइल्याएको मुडुलो टाउकाभरि असरल्लै छरिएको टुप्पी हावामा हल्लाउँदै दिनको बाह्र बजेतिर बाटो लागियो ‘भद्रहरूको पुर’ भद्रपुरबाट । विर्तामोड पुगेर दुई घण्टा जति रुँगेपछि ठस् ठस् कन्दै एक खोर मान्छे लिएर त्रिवेणी नामको त्यो जन्तु त्यहाँ आइपुग्यो । बल्ल तल्ल बस चढियो सिटमै बस्न पनि भ्याइएकामा प्रभुलाई धन्यवाद पनि टक्रयाइयो ।

ड्राइभर साबले कति लात्ती हाने कुन्नि । केही गर्दा पार नलागेपछि ‘ठेल’ भन्ने आदेश आयो ड्राइभरको । सबै यात्रु ओर्लेर झन्नै आधा कि.मि. जति ठेलेर बस कुदाएपछि एक्कासी कुइरीमण्डल धुवाँ फाल्दै एक तमासले बस् हो कि प्रायः जसो उठेरै यात्रा सम्पन्न गर्नुपर्ने ‘उठ्’ चाहिँ हो एरियै थर्कने गरी करायो र मरीतरी आफैं दौडन थाल्यो । अनि लागियो ढुक्कले पूर्वतिर बाटाका दुवै तिर लगाइएका चियाका बुट्टाहरूले बनाएको हरियालीको अवलोकन गर्दै । अलि पर पुगेपछि कन्डक्टर साब भाडा उठाउँदै आए । एउटा गैंडा थमाएर बाँकी फिर्ता मागेको मात्र के थिएँ कन्डक्टर साबले त ‘जिरे खुर्सानी’ को मुन्दे्रले झैं कानका लोर्के मुन्द्रा हल्लाएर आँखा तर्दै मर्जी भो ‘सटप्’ । राता राता आँखा, कानमा मुन्द्रा, हेर्दै ज्याङ्गो देखिने कन्डक्टर सापको त्यो रौद्र रूप देख्दा त थर्रै काम छुट्यो । कन्डक्टरले त सिटबाट टिपेर बाहिरै पो फालिदिने हो कि झैं गरी ‘अन्त, यी मैयाहरूको चैं भाडा लाग्दैन ?’ भने पछि भने चित्त बुझाउनै प¥यो । आफ्नै पिरोले चाउरिएको मरिच झैं चाउरी परेर चुप लागियो । के गर्ने, अरू त उपाय पनि थिएन ।

धुलाबारी सिरान पुगेर बस रोकियो । केही ओर्ले, केही चढे । एक–आध घण्टापछि दुई जना यामानका भुसतिघ्रेहरू तिघ्रा ठटाउँदै बसभित्र छिरे । हेर्दै डरलाग्दा धम्मरधुस भीमसेन जस्तै उनीहरूले बसमा बसेका प्रत्येक यात्रुसँग टिकट देखाउने आदेश गरे । पैसा तिर्न आनेकाने गर्ने वा ‘बसमै भाडा दिन्छौं’ भन्नेहरूलाई धम्क्याउँदै तुरुन्तै पैसा झार्न थालेपछि केहीले त्यहीँ पैसा तिरे भने केही चाहिँ निस्केर लुरुलुरु बाटो लागे । निकै बेर गलफत्ती परेपछि बल्ल तल्ल बसले तयारीको संकेत दियो । यस पटक भने त्यति ठेल्नु नपरी बस गुड्न तयार भयो ।

बस अघिको जस्तो खचाखच थिएन । ठिकठिकैको भीड लिएर धुलाबारीबाट बस अगाडि लम्क्यो । कच्ची बाटो त्यसमा पनि गाडीको दैनिक हिँडाइबाट खाल्टा–खुल्टी परेको उबडखाबड बाटोमा मच्चिँदै पिङ खेल्दै गाडी आफ्नै गतिमा अगाडि बढदै गयो, त्यही तालमा टाउका ठोक्काउँदै हामी पनि सँगसँगै अघि बढ्यांै । झन्डै आधा कि.मि. जति अगाडि बढेपछि केही पर निकै मानिसको घुुँइचो देखियो । के भएछ ? भनेर उत्सुकता पोख्न नपाउँदै बस त्यही ठाउँमा पुगेर अडियो । बाफ रे ! त्यो भीड त त्यही बसमा चढने मान्छेको पो रहेछ । अघि बस बिसौनीमा टिकट काट्न भन्दा लुरुलुरु बाटो लागेका मान्छे् त त्यहाँ आएर पर्खिबसेका पो रहेछन् । त्यतिका मानिस बसमा चढेपछि त बस होइन मानिसको गोलो हिँड्दै छ जस्तो भयो । भित्र, बाहिर, छतमा जता पनि मान्छे नै मान्छे । यति हुँदा पनि मैले एउटा कुरो चाहिँ अझै बुझ्न सकेको थिइन, त्यो के भने यी यतिका मान्छे त यसै बसमा चढने रहेछन् तर अघि किन नचढेर लुरुलुरु बाटो लागेका होलान् । तर कुरो गजबकै रहेछ । टिकट नकाटिकन काउन्टरबाट चढ्न नदिने, ती मानिसहरू चाहिँ कोही पैसा नै नतिर्ने, कोही यसो दुई चार रुपियाँ दिएर जाने प्रायः कोही पनि पूरा भाडा नतिर्ने खालका मानिसहरू रहेछन् । पूरा भाडा तिरेर को हिँडोस् ? पूरा भाडा तिर्ने त हामी भैहाल्याैँ नि लठुवाहरू !

जसै तसै हल्लिँदै–हल्लिँदै बस अगाडि बढ्यो । बाटाभरि कतै गाई बस्तु पगाहा बाँधेका, कतै बिस्कुन सुकाएका, कतै नानीहरू गट्टा खेल्दै गरेका । बडो गजबकै रहेछ यात्रा त । गाडीको खलासीले बाटाका बीचमा बाँधिएका गाई सारिदिँदै, कतै बाटामा खेलिरहेका केटाकेटीलाई फकाइ–फुल्याई बाटाबाट हटाउँदै, कतै बाटाका बीचमा छोडिएका साइकलहरू पन्छाइदिँदै बिस्तार बिस्तार बस आफ्नो गन्तव्यतिर अगाडि लम्कँदै गयो । ती घटनाहरूमध्ये एउटा घटना चाहिँ रमाइलै लाग्यो । बाटाका बीचमा एउटा भटभटे मुन्टो परक्क एकातिर बटारेर राखिएको रहेछ । हटाइमाग्न ड्राइभरले १०/१५ मिनट जति हर्न बजाउँदा पनि भटभटे मालिकको पत्तो लागेन । त्यसपछि बसको खलासी भटभटेको मालिक खोज्न गाउँतिर पस्यो अरु १०/२० मिनट लगाएर खोजेपछि खलाँसी पनि हार भएर खुइ काढ्दै आइपुग्यो र आफैं ठेलेर पाखा लगाउन तम्स्यो । भटभटेका कान समातेर तान्न त थाल्यो तर मुन्टो बटारेको भटभटेले खलासीलाई के पत्याउँथ्यो ? भटभटे त त्यहीँ ओरिपरि पो घुमीबस्यो । यो तमासा हेरिरहेका गुरुजीले भित्रैबाट हप्काए केटालाई, ए लठुवा ! तेरो टाउको हेन्डल लक गरेको छ भन्ने था पाइनस् ? अनि पो बसै उचालिने गरी सबै हाँसे । केही उपाय नभए पछि खलासी र कन्डक्टर भएर भटभटे बोकेर पाखा लगाएपछि बल्ल बाटो खुल्यो अनि यात्रा पुनः प्रारम्भ भयो ।

यस पछि अब मानिसको ओर्लने क्रम प्रारम्भ भयो । मानिसलाई सकेसम्म घरमै पु¥याइदिनुपर्ने, नभए पनि घरकै छेउमा रोक्नुपर्ने । तल माथि वर पर कतै पर्यो भने भोलिपल्टदेखि त्यो बाटो नहिँडे भयो । अलि पर पुगेपछि एक हुल मैयाँहरू ओर्ले र त्यसै बाटो लाग्न खोजे । कन्डक्टरले भाडा माग्दा मैयाँहरूले उल्टै उल्ली बिल्ली पारेर पैसै नतिरी मैयाहरू बाटो लागे । कन्डक्टरसा’व हिस्स परेर फर्के ।

केही क्षणमा बस बडागाउँ भन्ने ठाउँमा पुग्यो । त्यहाँ पुगेपछि मलाई अघिल्लो एकपटकको यात्राको कुरा हेक्का आयो । यस ठाउँभन्दा करीब दुई किमि जति मास्तिर हिन्दुगढ भन्ने ठाउँबाट बस ओरालो धुलाबारीतिर आइरहेको थियो । निन्दा खोलाको बगरमा करीब एक किमी जति परबाट दुई जना महिलाहरू हात हल्लाएर गाडी रोक्ने इशारा गर्दै दौडन थाले । नभन्दै बस रोकियो । झन्डै १० मिनट जति पर्खेपछि उनीहरू आइपुगे र बसमा चढे । कन्डक्टरको मुख अमिलो अमिलो भयो । (विचराले दौडाइ हेर्दा मैयाहरू जस्तो लागेर बस रोकेका थिए क्यारे ! कहाँ मैयाहरू भनेको त आमैहरू पो रहेछन् ।) यही बडागाउँमा आइपुगेर त आमैहरू ओर्लने पो अरे ! जम्मै डेढ किमि बाटाका लागि त्यत्रो प्रतीक्षा अनि त्यत्रो दौडादौड, बाफ रे ! म आफैं भित्रभित्रै हाँसें । बस पनि केही मानिस त्यहीँ छोडिराखेर बाटो लाग्यो ।

यही बाटामा अर्को पनि उल्लेख्य सम्झना छ मेरो स्मृतिमा । हिन्दुगढकै भावना चौक भन्ने ठाउँमा हामी चढेको बस ओरालो धुलाबारी झर्दै थियो । बाटो किनाराकै एउटा घरमा एउटी आमै ज्यादै हतारमा अस्त व्यस्त अवस्थामा चौबन्दी चोलोका एकापट्टिका तुना बाँध्दै अर्कापट्टि चाहिँ ह्वार्लाङ्गै छाती देखाउँदै बाहिर निस्किन् र एकै छिन् है बाबु म छिट्टै चार गाँस टिपिहाल्छु भन्दै भान्सातिर पसिन् । आमै भने जस्तै गरी ४/५ मिनटमै बाहिर चुठ्न निस्किन् र पानीको लोटा आँगनमै राखेर दौडँदै आएर बसमा चढिन् । यो पनि सम्झन लायककै घटना छ मेरो लागि । यात्रुलाई कतै घरमै रोकेर चढाउनुपर्ने, घरघरै रोकिदिनुपर्ने, घरघरै पुर्याइदिनुपर्ने पूरै होम डेलिभरी सिस्टम, गजबकै अनुभव भयो यात्राको ,साह्रै सम्झन लायकको ।

यसरी कतै के बेहोर्दै कतै के सम्हाल्दै बस मुलाबारी पुछारको दानाबारी भन्ने ठाउँमा पुगेर घ्याच्चै रोकियो र मैले पनि यस्तै अनौठो, रमाइलो र सम्झन लायकको यो धुलाबारीदेखि मुलाबारी सम्मको मेरो यात्रा पूरा गरेर बेलुकी साँझपख टुप्लुक्क घरको पिँढीमा पाइला राखेँ । हेरौं अब अरु यात्रामा के कस्ता नयाँ अनुभवहरू सँगेटिने हुन् ।

(साहित्यिक संचेतनामा प्रकाशित)
२०६२ । १२ । २१

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हास्य र व्यङ्ग्यबीच पारस्परिक निर्भरता र अन्तर्सम्बन्ध

हास्य र व्यङ्ग्यबीच पारस्परिक...

डा. गंगाप्रसाद अधिकारी
भानुभक्त : नेपाली हास्य-व्यङ्ग्य साहित्यका पथनिर्माता

भानुभक्त : नेपाली हास्य-व्यङ्ग्य...

डा. गंगाप्रसाद अधिकारी
मेरो यात्रा : धुलाबारीदेखि मुलाबारीसम्म

मेरो यात्रा : धुलाबारीदेखि...

डा. गंगाप्रसाद अधिकारी
ज्येष्ठ नागरिक

ज्येष्ठ नागरिक

डा. गंगाप्रसाद अधिकारी
पुराण लगाऊ ओ सरकार !

पुराण लगाऊ ओ सरकार...

डा. गंगाप्रसाद अधिकारी
राष्ट्रिय सहमति

राष्ट्रिय सहमति

डा. टीकाराम पोखरेल
सतीको सराप

सतीको सराप

ह्यारी- ८०
भत्काउन सजिलो छ

भत्काउन सजिलो छ

अशोककुमार शिवा
नेपालको खेती

नेपालको खेती

चाेलेश्वर शर्मा
आँखाले नदेखे पो मुटुले सहन्छ !

आँखाले नदेखे पो मुटुले...

चिरञ्जीवी दाहाल